८ वैशाख २०८१ शनिबार
समाज

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, नौ घाइते

रत्ननगर – चितवनमा दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। अन्य नौ जना घाइते भएका छन्। 

पूर्वी चितवनको राप्ती नगरपालिका–२ गडौलीस्थित राजमार्गमा नवलपुरबाट हेटौँडा जाँदै गरेको ना १ ज ३६०९ नम्बरको सुमो गाडी अनियन्त्रित भई सडक छेउमा पल्टिँदा एक जनाको मृत्यु भएको छ। सो दुर्घटनामा नौ जना घाइते भएका छन्। 

शनिबार साँझ भएको उक्त दुर्घटनामा परी मकवानपुर जिल्ला बसामाडीका २१ वर्षीया गोमा बल्लभको मृत्यु भएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए। 

उनका अनुसार सो दुर्घटनामा परी गाडी चालक मकवानपुर हेटाैँडाका रवीन्द्र स्याङतान, मकवानपुर भीमफेदीका १९ वर्षीय विजय गोले सोही ठाउँका ११ वर्षीय इमास स्याङ्तान र २५ वर्षीया दिविकामाया थिङ घाइते भएका छन्। 

यस्तै अन्य घाइतेमा मकवानपुर भीमफेदीकै २१ वर्षीया पदमा गोले, मकवानपुर बसामाडीकी २४ वर्षीया बीना लामा, मकवानपुर थाहा नगरपालिका–४ की २२ वर्षीया शोभा लामा, मकवानपुर भीमफेदीकी २० वर्षीया सिर्जना गोले र सोही ठाउँकी २० वर्षीया प्रमिला गोले रहेको प्रहरीले जनाएको छ। 

घाइतेको अहिले कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरमा उपचार भैरहेको छ। 

यता चितवनको भरतपुर महानगरपालिका–१० स्थित पुजा फनपार्कमा रहेको पौडी पोखरीमा पौडी खेल्ने क्रममा डुबेर शनिबार एक जनाको मृत्यु भएको छ। 

भरतपुर वडा नम्बर १७ का २० वर्षीय कालु गुरुङको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शवलाई परीक्षणका लागि अहिले भरतपुर अस्पतालमा राखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: २ वैशाख २०७५ ०४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App