१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पुननिर्माणमा सेनालाई २ अर्ब ६७ करोड अपुग

काठमाडौं – नेपाली सेनाले भूकम्पले क्षति पु-याएका भौतिक पूर्वाधार पुनर्निर्माणका लागि रकम अभाव भएको जनाएको छ।

सेनाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई बुझाएको प्रतिवेदनमा पुनर्निर्माणका लागि २ अर्ब ६७ करोड रकम कम भएको जनाएको हो। आर्थिक वर्ष २०७४/०७५ मा पुनर्निर्माणका लागि सेनालाई ३ अर्ब ८७ करोड रकम आवश्यक रहेकोमा हालसम्म १ अर्ब २० करोड रुपैयाँ विनियोजन भएको सेनाको प्रतिवेदनमा उल्लेख गरिएको छ।

२०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प तथा त्यसपछि गएका पराकम्पनका कारण सेनाका १ हजार १ सय ९ भौतिक संरचनामा क्षति पुगेको थियो। त्यसमध्ये ४ सय १२ भौतिक संरचनामा पूर्ण क्षति पुगेको थियो। त्यस्तै, ६ सय ९७ भौतिक संरचनामा मर्मत तथा रेट्रोफिटिङ गरी प्रयोग गर्न मिल्ने गरी आंशिक क्षति पुगेको थियो।

भूकम्पले सबैभन्दा धेरै उपत्यका पृत्तनामा क्षति पुगेको थियो । उपत्यका पृत्तनामा कुल ५ सय ५६ संरचनामा क्षति पुगेको थियो। त्यस्तै पूर्वी पृत्तनामा १ सय ९८, मध्य पृत्तनामा दुई सय १९, पश्चिम पृत्तनामा १ सय २२ तथा मध्यपश्चिम पृत्तनाअन्तर्गत १४ संरचनामा क्षति पुगेको थियो।

नेपाली सेनाले भौतिक संरचना पुनर्निर्माणका लागि पञ्चवर्षीय योजना तयार पारेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पिडिआरएफ (पोस्ट डिजास्टर रिकभरी फ्रेमवर्क)मा समावेश गरेको थियो। पिडिआरएफअन्तर्गत सेनालाई ८ अर्ब ४९ करोड ८६ लाख रुपैयाँ आवश्यक देखिएकोमा हालसम्म ४ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन भएको सेनाले जनाएको छ।

सेनाले पिडिआरएफमा समावेस भई विनियोजन नभएको २ अर्ब ६७ करोड तथा आर्थिक वर्ष २०७५/०७६ मा पिडिआरएफमा समावेश भएको १ अर्ब ५१ करोड गरी आगामी आर्थिक वर्षका लागि ४ अर्ब १८ करोड रुपैयाँ बजेट पुनः निर्माण प्राधिकरणसँग माग गरेको छ।

पुनर्निर्माण प्राधिकरणले भने सेनालाई अपुग रकम आगामी आर्थिक वर्षमा विनियोजन गरिने जनाएको छ। चालू आर्थिक वर्षमा अपुग बजेटमध्ये १ अर्ब ६० करोड रुपैयाँ नेपाल सरकारबाट र बाँकी रकम वैदेशिक सहायताअन्तगर्त भएको र वैदेशिक सहायताअन्तर्गतको रकम सम्झौता भइसकेको प्राधिकरणका सहप्रवक्ता भीष्मकुमार भुसालले जानकारी दिए। ‘वैदेशिक सहायताअन्तर्गतको रकम सम्झौता भइसकेको छ,  नेपाल सरकारको बजेटबाट छुट्याइने रकम आगामी आर्थिक वर्षमा विनियोजना हुन्छ,’ भुसालले भने।

सेनाको पुनर्निर्माणका लागि केही संरचनाको बहुवार्षिक खरिद सम्झौताअनुसार निर्माण गरिरहेको छ। त्यसमध्ये सैनिक मुख्यालय पुनर्निर्माणका लागि ४ अर्ब ५० करोड ९५ लाख रुपैयाँ आवश्यक रहेको जनाइएको छ। सैन्य मुख्यालय निर्माणका लागि हालसम्म २ अर्ब ९४ करोड रुपैयाँ विनियोजन भइसकेको र १ अर्ब ५६ करोड ९१ लाख रुपैयाँ थप आवश्यक रहेको सेनाले जनाएको छ। त्यस्तै, लक्ष्मी निवासका लागि ५४ करोड ४० लाख आवश्यकता रहेकोमा हालसम्म १६ करोड ८५ लाख ७५ हजार रुपैयाँ विनियोजन भइसकेको छ भने ३७ करोड, ५५ लाख रुपैयाँ थप आवश्यक रहेको जनाइएको छ।

त्यस्तै, सेनाले वीरेन्द्र सैनिक अस्पताल, सैनिक प्रहरी गण र गणेश दल गणसमेत बहुवार्षिक खरिद सम्झौता गरी पुनर्निर्माण गर्दैछ। बहुवार्षिक खरिद सम्झौता भएका आयोजनाका लागि ५ अर्ब ९७ करोड रकम आवश्यक रहेको जनाइएको छ। त्यसमध्ये ३ अर्ब ५८ करोड विनियोजन भइसकेको छ भने २ अर्ब ३९ करोड थप आवश्यक रहेको जनाइएको छ। पिडिआरएफमा समावेश गरी निर्माण सुरु भएका संरचना मध्ये केही संरचना निर्माण सम्पन्न भइसकेको र केही निर्माणाधीन अवस्थामा रहेको सेनाले जनाएको छ।

प्रकाशित: २ वैशाख २०७५ ०३:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App