२३ श्रावण २०७७ शुक्रबार
समाज

वार्षिक सम्झनामा खुम्चियो सलहेस सर्किट

लहान- प्रतापी राजा सलहेस गाथासंग जोडिएका धार्मिकस्थलहरु वार्षिक सम्झनामा सिमित छन्। वर्षमा एक पटक लाग्ने मेलामा ओर्लिने जनउभारमा सबै रमाउँछन्। मेला सम्पन्न भएपछि यस क्षेत्रको रौनक हराउँछ।

सलेहसलाई राष्ट्रिय बिभूती घोषणा गराउन अभियान चलाएका अभियन्ता राजकुमार महतो प्रदेश २ को समृद्धिको आधार कृषि र पर्यटन भएको बताउँछन्। जानकी मन्दिर, गढीमाई, छिन्नमस्ता भगवती(सखडा)सँगै सलहेसलाई जोडेर यस प्रदेशमा पर्यटन सर्किट बनाउन सके प्रदेशको आर्थिक विकासमा टेवा पुग्ने महतोको भनाई छ।

सलहेस दुसाद जातीको कुल देवता भए पनि हरेक जातजाती र सम्प्रदायमा भगवानको पदबी पाएका छन्। राजा सलहेसले एकता र सम्पदा सदभावको सन्देश दिएको छ । ५ हजार वर्षको उज्वल ईतिहास बोकेको राजा सलहेसका वैभव र विरताका गाथाहरु अझै ओझेलमा छन्।

सलहेसको गहबर

सलहेस फूलवारीमा बैशाख १ गतेका दिन बर्षेनी मेला लाग्ने विषय मिथिलावासिका लागि नौलौ होईन। लोकगाथामा भनिए अनुसार फूलवारीमा सलहेस फूल टिप्न आउँथे । यही पकरियागढकी राजकुमारी चन्द्रा पनि फूल टिप्न फूलवारी आई रहन्थिन। फूलवारीमा सलहेसलाई देखेपछि उनले सलहेश समक्ष पे्रम प्रस्ताव राखिन । तर सलहेसले अस्वीकार गरिदिए । त्यपछि राजकुमारीले आफ्नो पिता राजा कुलेश्वरलाई फूलवारीमा चोर आएको र उसले आफूले माथि हातपात गर्न खोजेको चुक्ली लागाईन्। राजाको आज्ञाले सलहेस समातिएर जेलमा बन्द गरिए । त्यसै क्रममा उनीमाथि राजकुमारीको चन्द्रहार चोरेको अभियोग लाग्यो जसको सजाय मृत्युदण्ड थियो। यस अवस्थामा सलहेसकी पे्रयसी दौनामालिनले आफ्नो रुपको जादु र विवेकले उनको मृत्युदण्ड सजाई माफ गराईन। त्यपछि दुबैबीच (सलहेस र दौना मालिनी) को प्रेम गाढा भएर गएको किम्दन्ती छ।

दौना मालिनी र सलहेसबिचको प्रेम  सम्झनाको रुपमा यस फूलवारिमा रहेको हारमको रुखमा प्रत्येक वर्ष माला आकृत फूल फुल्ने गरेको लोकभनाई छ । फूलवारमा विभिन्न प्रजातिका रुखहरु छन । तर मालाआकृत फूल मालिनी मन्दिरको दक्षिण टासिंएको हारमको रुखमा मात्र फुल्छ ।

मालिनि मन्दिर भन्दा लक्षिण राजा सलहेसको मन्दिर छ।  २०२६–२७ सालतिर राजमार्ग निर्माणको क्रममा ठेक्केदारले फूलवारी भित्र सलहेसको गहबर बनाइ दिएका हुन्। गहबर (मन्दिर) मा हात्तीमा सवार सलहेसको भव्य मूर्ती छ। सलहेस मूर्तीको दाहिने तिर घोडामा चढेको सलहेसका भाइ मोतीरामको मूर्ती छ। देबे्र तिर उनका भान्जा घोडामा सवार कारीकान्तको मूर्ती। सलहेस मुर्तीको छेउमा उनकी पे्रमीकाहरु दौना र कुसमा मालिनको सुन्दर मूर्ती। पूजारी परिवारकै व्यक्तिहरुद्वारा त्यस्ता आकर्षक मूर्तिहरु बनाइन्छ। मेलाको अबसरमा रङगरोगन गरिएको मन्दिरमा श्रधालुहरु भाकल अनुसार प्रसाद चढाउँछन् । पहिला  जुत्ताचपल फूलवारी वाहिरै निकालीन्थ्यो अहिले श्रधालुको चापले अनुसासन बिथोलिन थालेको पाईन्छ।

सलेहस फूलबारीदेखि अलि पश्चिम–उत्तर कुनामा चटान छ  जसलाई सिलहट अखाडा भनिन्छ । सलहेस आफ्नो भाई मोतीराम सहित सातसय पहलमानको साथ यहाँ कुश्ती खेल्न आउँने किम्बतन्ती छ । अहिले अखाडा भएको स्थानमा दुईवटा मन्दिर निर्माण गरिएको छ।

मालिनी मन्दिर

सलहेस फूलवारीमा गहबरसंग टासिएकै उत्तरतिर मालिन मन्दिर छ। उक्त मन्दिरमा दौना, कुसमा, र रेसमा नाउगरेकी मालिनहरुको आकर्षक मूर्तीहरु छ । माटोका यी मूर्तीहरु पूजारी परिवारकै व्यक्तिद्वारा बनाइएको छ । फूलवारीमै रातो माटो पाइन्छ । यस्तै चूना जस्तै सेतो माटो पनि छ । यी मूर्तीहरु बनाउँदा दुइटै माटोको उपयोग गरिएको छ। सलहेस गाथामा चारवटी मालिनीहरुको विशेष चर्चा छ । ती मालिनीहरु तरेगना प्रगन्नाका राजा महेश्वर भंडारीका छोरी थिए। ती चारवटै नाम थियो हिरा, रेसमा, दीना दोना( अपभ्रन्स) र कुसमा । उनीहरु मध्ये कुसमा निकै सुन्दर दिइन् । उनी सलहेसलाई प्रेम गर्थीन। जबकि सलहेसलाई उनको पे्रम स्वीकार्य थिएन।

सलहेस फूलवारीमा पहिला सलहेसको पूजा गरिन्छ । त्यसपछि भक्तजनहरु खासगरी महिलाहरु मालिन मन्दिरमा फूल अक्षता मिष्टान्न चढाई धुपवत्ती चढाउछन् । निःसन्तान महिला दर्शनार्थीहरु सन्तान पाउने उदेश्यले मालिन मन्दिर पुगी पूजा गरी भाकल गर्छन।

पकडिया गढ

वैशाख २ गत्ते मेला लाग्ने यो ऐतिहासिक स्थान लहान देखि १० किलोमिटर उत्तर चुरेको काँखमा अवस्थित छ । यो स्थल राजा कुलेश्वरको दरबार थियो । यस स्थानको उत्खन्न भए राजाको गढी भेटीन सक्ने जानकारहरु बताउँछन्। गढको बरिपरि इँटाले बनेको पर्खालको भग्नावशेष दखिन्छ। केही वर्ष अगाडि यस क्षेत्रमा १० ईन्च लामो र दुई इन्च मोटाई भएको केही इँटा भेटिएको गाउँलेहरु सनाउँछन् । यही मन्दिरमा राजा सलहेसको पनि मन्दिर र घोडा चढेको मूर्ती छ। पकडिया गढमा राजा कुलेश्वरको पूजा हुन्छ।

महिसौथा गढ

सिरहा जिल्लाको अर्को पुरातात्विक स्थल महिसौथागढी हो। यो ठाउँ सिरहा नगरपालीका –७ मा छ । यो ठाउँ सलहेस लोकगाथासँग सम्बन्धित छ। महिसौथा वस्तीको उत्तरपूर्व तर्फ ५ सय फीटको गोलाईमा फैलिएको एउटा ढिस्को छ । यसै ढिस्कोसँग एउटा ठूलो तलाउ पनि छ । करीब २ विघा ९ कठ्ठाको उक्त पोखरी क्षेत्र दशकौ पुरानो हो । गढकै बाकी भागमा एउटा मन्दिर छ । यस मन्दिरको अस्तितव ५/७ सय वर्ष पुरानो भएको मानिन्छ। मन्दिरभित्र करीब १० फीट अग्लो हातीमाथि सलहेसको मूर्ती छ। छेउमा मोतीराम तथा बुधेश्वर घोडामा सवार छन्। हातीको एकातिर दौना मालिनी फूलको डाली लिई उभिएकी छिन्। महिसोथागढि राजा सलहेसले स्थापना गरेको लोकविश्वास छ। सलहेसले आफ्नो वैभवले र पौरखले यो इलाकामाथि विजय प्राप्त गरि राजा भएपछि यस स्थानमा आफ्नो राजधानी बनाए। यो स्थान हेर्दा पुरातात्विक दृष्टिले महत्वपूर्ण छ।

प्रकाशित: १ वैशाख २०७५ १७:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App