१६ चैत्र २०८० शुक्रबार
समाज

विद्युत आपूर्ति समस्या हल गर्न अस्पतालमा ट्रान्सफर्मर

जिल्ला अस्पतालमा जडान गरिएको नयाँ ट्रान्सफर्मर। तस्बिरः दमन राई/नागरिक

खोटाङ – जिल्ला अस्पताल खोटाङमा विद्युत आपूर्तिको समस्या हल गर्नका लागि ट्रान्सफर्मर जडान गरिएको छ। विद्युतको भोल्टेज कम हुँदा एक्स–रे, भिडियो एक्स–रे, अक्सिजन कन्सन्टेटर लगायतका उपकरण सञ्चालनमा समस्या झेल्दै आएको जिल्ला अस्पतालमा नयाँ ट्रान्सफर्मर जडान गरिएको हो।

विद्युतको समस्या हल गर्नका लागि विनियोजन गरिएको ८ लाख बजेटबाट नेपाल विद्युत प्राधिकरणमार्फत एक सय केभीए क्षमताको छुट्टै ट्रान्सफर्मर जडान गरिएको जिल्ला अस्पतालका प्रमुख डा. रामबहादुर केसीले बताए।

२०४४ सालमा स्थापना भएको १५ शैयाको अस्पतालमा विद्युतको समस्या हल गर्नका लागि पहल थालेको लामो समयपछि मात्र छुट्टै ट्रान्सफर्मर राख्ने काम सफल भएको हो। छुट्टै ट्रान्सफर्मर अभावमा डिम पावर आउँदा अस्पतालको विद्युतीय उपकरण सञ्चालनमा समस्या हुँदै आएको थियो।

दिनमा विद्युतको भोल्टेज नपुग्दा कतिपय बिरामी ‘रात साँझ पारेर एक्स–रे गराउने वा अन्यत्र जानुपर्ने’ बाध्यता झेल्दै आएका थिए। अस्पताल र पुरानो ट्रान्सफर्मरबीचको दूरी टाढा भएका कारण विद्युतको भोल्टेजले अस्पतालको उपकरण लगायतलाई धान्न सकेको थिएन।

एउटै ट्रान्सफर्मरबाट अस्पतालसहित केही वडामा विद्युत पुर्याइएकाले अस्पतालमा भोल्टेज नपुग्ने समस्या सिर्जाना भएको जनाइएको छ। नयाँ ट्रान्सफर्मर जडान लगत्तै ओपिडी, इन्डोर, इमरजेन्सी, क्वाटर लगायतमा विद्युत विस्तार गरिएको डा. केसीले बताए।

प्रकाशित: २८ चैत्र २०७४ ०६:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App