युनिभर्सल पिस फेडेरेसन (युपीएफ) द्वारा प्रदान गरिने लिभिङ फर अदर अवार्ड समाजसेवी तथा ग्लोबल गस्पेल मिनिस्ट्रीका संस्थापक अध्यक्ष केदार रायमाझी ‘जीवन’ लाई प्रदान गरिएको छ। शनिबार साँझ रायमाझीलाई अवार्ड प्रदान गरिएको हो।
अष्ट्रेलियाको जर्ज स्ट्रीट चिपेनडलमा आयोजित विशेष समारोहकाबीच समाजसेवी रायमाझीसहितलाई सम्मान गरिएको हो । सो क्रममा समाजमा योगदान पुर्याउने ८ जनालाई अवार्ड प्रदान गरिएको थियो। अला महादी, अयनालेम डिजेफु, डा. भारती रेडी, ब्रुस वङ, डाफन लोवी केली, केदार रायमाझी, लिडिया मे सेडिक फराग र रेवा शाहले उक्त अवार्ड पाएका थिए।
कार्यक्रममा युनिभर्सल पिस फेडेरेसनका अध्यक्ष जोन एडमेडेसले नेपालीहरूमा रहेको सेवाभावको खुलेर प्रशंसा गरे । कार्यक्रममा न्यू साउथ वेल्सस्थित नेपालका अवैतनिक महावाणिज्य दूत सञ्जीव कुमार शर्माले सम्मान प्रदान गरेका थिए।
कार्यक्रम संयोजक रहेका सन्तोष न्यौपानेले यस प्रकारको कार्यक्रमले समाजमा भाइचारा र सहयोग आदानप्रदानको वातावरण अझ बलियो हुने बताए।
रायमाझीलाई प्रदान गरिएको यस सम्मानले नेपाली समुदायभित्र समाजसेवाको महत्त्व र त्यसप्रतिको प्रतिबद्धतालाई थप ऊर्जा दिने विश्वास गरिएको छ। 'अरूका लागि बाँच्ने' विचारधाराले समाजलाई नैतिक उत्तरदायित्वप्रति सचेत बनाउँदै सेवा भावलाई प्रोत्साहन गर्ने अपेक्षा आफुले राखेको रायमाझीले बताए।
युनिभर्सल पिस फेडेरेसनका एक प्रतिनिधिले भने,'केदार रायमाझीले अरूका लागि बाँच्ने संस्कृतिलाई नयाँ उचाइमा पुर्याएका छन्। उनको योगदानले समाजमा सकारात्मक प्रभाव पारेको छ। उनीजस्ता समर्पित व्यक्तिलाई सम्मान गर्न पाउनु हाम्रो लागि गर्वको विषय हो।'
नेपालदेखि अष्ट्रेलियासम्म रायमाझीको यात्रा निस्वार्थ सेवाको उदाहरण बनेको छ। २०१८ मा अष्ट्रेलिया आएपछि पनि उनले नेपाली समुदाय र अन्य समुदायहरूबिच सहानुभूतिको पुल निर्माण गर्न सफल भएका छन्। ग्लोबल गस्पेल मिनिस्ट्रीको नेतृत्वमा उनले परामर्श, राहत, र विभिन्न सामाजिक सेवाहरू सञ्चालन गर्दै समाजमा प्रेरणादायी प्रभाव पुर्याएका छन्।
रायमाझी बचन न्यूजका सम्पादक तथा प्रकाशकको भूमिकामा रहेर नेपाली पत्रकारितामा योगदान दिँदै आएका छन्। साथै, सिड्नीको गस्पेल नेपाली चर्च का प्रमुख पाष्टरका रूपमा उनले धार्मिक सेवामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
कार्यक्रममा विविध धर्म र संस्कृतिसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाका प्रतिनिधीहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा युपीएफ ब्याण्डले लाइभ प्रस्तुति दिएको थियो।
प्रकाशित: १६ मंसिर २०८१ १६:२३ आइतबार