उपनिर्वाचन उत्साहजनक र शान्तिपूर्ण वातावरणमा भइरहेको छ। बिहान ७:०० बजे निर्धारित समयमै सुरु भएको मतदान दिउँसो ३:०० बजेसम्म ६० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ।
जिल्ला निर्वाचन अधिकारी दीपक दाहालका अनुसार त्रियुगा नगरपालिका-१२ मा कुल ३,८३६ मतदातामध्ये ३,४४० जनाले मतदान गरिसकेका छन्, जसको मत प्रतिशत ६३.३४ रहेको छ।
त्यस्तै, बेलका नगरपालिका-९ मा कुल ३,१३६ मतदातामध्ये १,३५९ जनाले मतदान गरेका छन्, जसको मत प्रतिशत ५७.६४ हुन्छ।
दुवै केन्द्रमा मतदान प्रक्रिया बिहान ७:०० बजे सुरु भई व्यवधानरहित रूपमा जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
विशेषगरी त्रियुगा-१२ मा अघिल्लो वर्षको स्थानीय तह निर्वाचनको विवादलाई ध्यानमा राखी यसपटक कडा सुरक्षा सतर्कता अपनाइएको छ। २०७९ मा मतदानका क्रममा विवाद उत्पन्न हुँदा आधा मतदाताले मतदान गर्न नपाएको इतिहास दोहोरिन नदिन विशेष उपायहरू लागू गरिएको छ।
त्रियुगा-१२ मा कांग्रेसका सञ्जीव काफ्ले, एमालेका लक्ष्मीनारायण चौधरी, माओवादीका नवीन वान्तवा राईसहित ९ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। यस्तै, बेलका-९ मा कांग्रेसका नवराज बस्नेत, एमालेका मोहन खड्का, र माओवादीका भरत घिमिरेसहित ७ जनाबीच चुनावी भिडन्त भइरहेको छ।
२०७९ को स्थानीय तह निर्वाचनमा विजयी भएका त्रियुगा-१२ का वडाध्यक्ष चुडाराज काफ्ले र बेलका-९ का पदम खड्काको सवारी दुर्घटनामा निधन भएपछि रिक्त पदपूर्तिका लागि उपनिर्वाचन गरिएको हो। दुवै वडाध्यक्ष कांग्रेसबाट निर्वाचित भएका थिए।
प्रकाशित: १६ मंसिर २०८१ १५:५३ आइतबार