२५ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

विकासमा बेथिति : दुई पटक उद्घाटन र १० पटक निर्णय हुँदा पनि सञ्चालन भएन फिदिम बसपार्क

फिदिम नगरपालिकाले १५ मंसिरभित्र बसपार्क पल्लोटार पुराउने निर्णय गर्यो । यो अन्तिम निर्र्णय भएको उसको दाबी कायमै छ। पछिल्लो पटक गत वर्ष गरिएको निर्णय पनि अन्तिम भनिएको थियो । 

अघिल्लो साता नगर क्षेत्रका सरोकारवाला र जिल्लास्थित सुरक्षा निकायलाई नगरपालिकामा भेला गरेर बसपार्क सञ्चालनको यो निर्णय अन्तिम भएको सुनायो । सहयोगको अपेक्षा गरिएको छ । हुनुपर्ने आवस्यक निर्णय यसअघि नै भईसकेका छन् । नगर प्रमुख मित्रप्रसाद काफ्लेले भने, 'करोडौँका संरचना बनेका छन् । तिनको सदुपयोगका लागि पनि बसपार्क चलाउने यो अन्तिम पटक हो । फेरिफेरि यस्ता निर्णय गरिरहन जरुरी नहोस् ।'  

बसपार्क रहेको वडाका अध्यक्ष दिननाथ अधिकारीले नगरपालिकाले निर्णय कार्यान्वयनमा उदाशिन बन्दा दुःख पाएको स्वीकार गरे । यो १० औं पटकको निर्णय हो । उनले भने, 'कार्यान्वयन कहिले हुन्छ ?'

नगरपालिकाले नीतिगत तवरमा बसपार्क सञ्चालनको सबै प्रकृया पूरा गरेको भए पनि कार्यान्वयन फितलो रहेको फिदिम २ का कमलराज नेम्बाङले बताए । यातायात व्यवसायीले पनि यस्मा सहयोग गर्नु पर्ने उनको भनाई छ ।  

बजार र हाल बसपार्क बनाइएको क्षेत्रका नागरिक बीच बेलाबेलामा विवाद भइरहन्छ । बजार क्षेत्रमा सवारी चाप रहेको भन्दै फिदिम बसपार्क पल्लोटारमा सारियो । करोडौँका संरचना युक्त बसपार्क अहिले सञ्चालनमा छैन । बसपार्क क्षेत्रका नागरिक बजारबासीलाई त्यसोको दोस देखाउँछन । बजार क्षेत्रमा रहेका नागरिक भने यो विषयमा अस्वभाविक मौन देखिन्छन ।  

कहिले कहिले भयो उद्घाटन ?  

२०७१ साल वैशाख १ गते पहिलो पटक उद्घाटन गरिएको बसपार्क सञ्चालनमा आउन नसके पछि २०७५ भदौमा पुनः उद्घाटन गरियो । दुई पटक उद्घाटन हुँदा पनि नयाँ सहर आयोजना सहितका सरकारी निकायले गरेको लगानी र करोडौँ मुल्य बराबरको जग्गा प्रयोगविहीन बनेको छ ।  

तात्कालिन प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले उद्घाटन गरेको बसपार्कलाई करिव ४ वर्षपछि फिदिम नगरपालिकाका मेयरले फेरि उद्घाटन गरे । तर पनि सञ्चालनमा आएन । दोस्रो पटक उद्घाटन गरेको पनि ४ वर्ष बितिसक्यो ।  

बसपार्क सञ्चालनमा आउने भनिएपछि स्थानीय १३ जनाले सामुहिक जग्गा दान गरेका हुन् । लाखौ मुल्य बराबरको जग्गा सरकारलाई निशुल्क दिँदा पनि भनिएको समयमा काम हुन नसकेको प्रति दाताको गुनासो छ ।  

लगानी खेर जाँदै  

नयाँ सहर आयोजना कार्यालयले मात्रै फिदिम बसपार्कका लागि १ करोड ८७ लाख ८६ हजार रुपैयाँ खर्च गरेको छ । काउण्टर राख्न मिल्ने कोठासहित प्रहरी बिटका लागि चाहिने संरचनासम्मका लागि आयोजनाले रकम बिनियोजन गर्यो । तर अहिले काउण्टर राखिएको ठाउँमा फोहोर थुपारिएको छ । १२ वटा कोठा अहिले प्रयोगविहीन अवस्थामा छन् । उद्घाटनको समयमा यातायात व्यवसायी काउण्टरसहित बसपार्क पुगेका थिए, तर अहिले उनीहरुले पनि काउण्टर हटाएका छन् । अहिले चहलपहल छैन । सुरुमा राखिएका काउण्टर पुनः बजार क्षेत्रबाटै सञ्चालन हुन थालेका छन् ।  

बसपार्क कार्यान्वयनका लागि नगरपालिकाले चासो दिन नसकेको स्थानीयको आरोप छ । हाल अस्थाइ बसपार्क रहेको बजार क्षेत्रका केही ब्यक्तीको प्रलोभनमा पर्दा नगरपालिका यो बिषयमा काम नलाग्ने देखिएको स्थानीयले बताए ।  

स्थानीयले भनेको जसरी नै आफूहरु प्रभावमा भने नपरेको नगरपालिकाको भनाई छ । लामो मेहनत गरेर संरचना बनाइएको भए पनि तत्काल सञ्चालनमा नआउँदा स्थानीयमा त्यस्तो भ्रम देखिएको नगरपालिकाको दाबी छ । बसपार्कको सुरु २०५४ सालमै भएको हो । अहिलेको मुल्यमा करिव १० करोडको जग्गा स्थानीयले निःशुल्क दिँदा समेत बसपार्क सञ्चालनमा नआउनुलाई ठुलै चलखेर रहेको जग्गा दाताको भनाई छ ।  

संरचना बनाउने नै अन्योलमा  

फिदिममा १ लाख नगरिक रहन सक्ने सहर बनाउने भन्दै नयाँ सहर आयोजनाको काम सुरु भएको हो । सोही योजना अनुरुप आयोजनाले बसपार्क बनायो तर चलेन । सडक बाहेकका संरचना अहिलेलाई पूर्ण प्रयोग नभएपनि भविष्यमा काम लाग्ने कार्यालयको भनाई छ ।

प्रकाशित: १४ मंसिर २०८१ १६:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App