२३ श्रावण २०७७ शुक्रबार
समाज

मेलम्ची सुरुङमा ‘ब्रेक थ्रु’, साउनमै उपत्यकामा पानी

मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र अम्बाथान सुरुङ । तत्काललाई यहीँबाट ‘कफर ड्याम’ बनाएर पानी सुरुङ प्रवेश गराइने छ। तस्बिर: ध्रुव

सिन्धुपाल्चोक-अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग मंगलबार ‘ब्रेक थ्रु’ भएको छ।

मुहानस्थल हेलम्बु अम्बाथानदेखि सुन्दरीजल जोड्ने साढे २७ किलोमिटर सुरुङमार्ग दिउँसो २ बजेर २५ मिनेटमा अम्बाथान- सुन्दरीजल जोडिएको हो। आयोजनाका उपकार्यकारी निर्देशक भोजविक्रम थापाले प्राविधिक रुपले मेलम्ची सुरुङ सुन्दरीजलमा जोडिएको बताए। ‘अम्बाथान–सुन्दरीजल सुरुङमार्गले जोडियो,’ उनले नागरिकसँग भने, ‘साउन सुरुमा मेलम्ची पानी सुन्दरीजल खसाल्छौँ।’

आयोजनाले औपचारिक रुपमा सुरुङ ब्रेक थ्रु भएको घोषणा भने बिहीबार गर्दै छ। यसका निम्ति आयोजनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेलम्ची बोलाएको छ। ७.७ किमि लामो सिन्धु–अम्बाथान खण्ड ब्रेक थ्रु भएपछि अम्बाथान–सुन्दरीजल सुरुङमार्गले छिचोलिएको हो। सुरुङका तीनमध्ये दुई खण्ड यसअघि नै ब्रेक थ्रु भइसकेका थिए।     

चार वर्षमा सक्ने गरी निर्माण थालिएको सुरुङ सात वर्षमा छेडिएको हो । उपकार्यकारी निर्देशक थापाले  ब्रेक थु्र भएको सुरुङ ढलान गर्ने, फाइलन फिनिसिङ गर्ने र हाइड्रो मेकानिकल (अडिटमार्ग) थुन्ने काममा केन्द्रीकृत हुने बताए। ‘तीन महिना (असार) भित्र यी काम सक्छौँ,’ उनले भने, ‘असार अन्तिम या साउन पहिलो साता सुन्दरीजलमा पानी झार्ने लक्ष्य छ।’

यसअघि ब्रेक थ्रु भएका खण्डमा ढलान र फाइलन फिनिसिङ गर्ने काम भइरहेको छ । अम्बाथानबाट ग्याल्थुमतिर र सिन्धुबाट सुन्दरीजलतिर साढे तीन किमि सुरुङ ढलान र फाइलन फिनिसिङ भइसकेको आयोजनाले जनाएको छ। 

मुहानस्थल अम्बाथान (इन्टेक) मा स्थायी च्यानल (ड्राइभर्सन) बनाउन समय लाग्ने भएकाले तत्काललाई अस्थायी प्रकृतिको ‘कफर्ड डयाम’ बनाएर पानी सुरुङमा प्रवेश गराउने उपकार्यकारी निर्देशक थापाले जानकारी दिए। यसका लागि आयोजनाले ६० मिटर लामो डिआइ पाइप मुहानस्थलमा पुर्याइ सकेको छ।   

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी उपत्याका आपूर्ति गर्ने उद्देश्यले सन् २००७ मा सम्पन्न गर्ने गरी सन् २००१ बाट आयोजनाको काम थालिएको थियो । सात वर्षमा सक्ने लक्ष्य लिइएको आयोजना १८ वर्षमा पूरा हुन लागेको हो ।

      

 

प्रकाशित: २७ चैत्र २०७४ १९:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App