१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

सोनियाले खाजा खर्च र दक्षिणा जोगाएर १४ लाख रुपैयाँ बराबरको सहयोग शरणार्थीलाई बाडिन्

अमेरिकाको ओहायो राज्यको कोलम्बसमा बस्दै आएकी सोनिया अधिकारीले झापाको बेलडाँगी र मोरङको पथरीमा रहेको भुटानी शरणार्थी शिविरमा बस्ने जेष्ठ नागरिक र विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेकी छन्।

बुबाआमाले दिएको खाजा खर्च, दसैँ तिहारमा पाएको दक्षिणा र जन्मदिनमा पाएको उपहार रकम जम्मा गरेर दुवै शिविरमा बस्ने बृद्धबृद्धा र असक्तलाई चार सय थान कम्बल र विद्यार्थीलाई एक हजार सात सय थान शैक्षिक सामग्री र केही थान कपडा एकल महिलालाई वितरण गरेको अधिकारीले बताइन्। उनले १४ लाख रुपैयाँ बराबरका कम्बल र शैक्षिक सामाग्री बितरण गरेको बताइन्।  

कक्षा १२ अध्ययनरत अधिकारीको इच्छा १८औँ जन्मदिनको अवसरमा वितरण गर्ने थियो । त्यही इच्छा पूरा गर्न यसपटक नेपाल आएर न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको उनले सुनाइन्। उनले नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेकी हुन्।  

“मलाई यहाँ आएर सहयोग गर्न मन थियो । त्यो पनि आफैंले जम्मा गरेको रकमले, त्यो सपना पूरा भएको छ”, अधिकारीले भनिन्, “मैले केही वर्षदेखि नै खाजा खर्च, दसैँ, तिहार, जन्मदिन र अरु अवसरमा आफूले पाएको रकम जम्मा गरेर राखेकी थिए । त्यो रकम मलाई अन्यत्रभन्दा शरणार्थी शिविरमा सहयोग गर्न मन लागेर नेपाल आएकी हुँ । सहयोग गर्न पाउँदा खुसी लागेको छ ।”  

सोनिया अधिकारी पनि झापाको टिमाई शरणार्थी शिविरमै जन्मिएकी हुन्। डिल्ली अधिकारी र गोमा अघिकारीकी छोरी सोनिया चार वर्षको हुँदा आमाबुबासँगै अमेरिका पुगेकी थिइन्।  

डिल्लीले  शरणार्थी शिविरमा बस्ने बृद्धबृद्धा र असक्तहरुलाई मासिक पाँच हजार रुपैयाँ वितरण गरिरहेको बताए। रासस

प्रकाशित: १४ मंसिर २०८१ १०:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App