८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

एक महिनामै ६१ हजारले गरे पाथीभरा दर्शन

.

पाथीभरा मन्दिरमा कात्तिक महिनामा आउने तीर्थालुहरुको संख्या असोजको तुलनामा दश गुणाले बढेको पाथीभरा क्षेत्र विकास समितिको तथ्यांकले देखाएको छ।

समितिका सूचना प्रविधि संयोजक सन्तोष पुर्कुटीका अनुसार कात्तिकमा ६१ हजार २७३ जना दर्शनार्थी पाथीभरा मन्दिर पुगेका थिए। असोज महिनामा भने जम्मा ५ हजार ९४९ जना दर्शनार्थीले पाथीभराको दर्शन गरेका थिए।

चालू आर्थिक वर्षकै कात्तिक महिनामा दर्शनार्थीको यो संख्या सबैभन्दा धेरै रहेको समितिले जनाएको छ।

असोजमा बाढी र पहिरोका कारण मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध हुँदा दर्शनार्थीको संख्यामा कमी आएको थियो। असोज १२ गतेको अविरल वर्षाले मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली, पाँचथरको रमिते क्षेत्र र ताप्लेजुङ–पाँचथर जोड्ने हेंवाखोलाको बेलिब्रिज बगाउँदा सिधा यातायात सेवा अवरुद्ध भएको थियो। जसले गर्दा असोज महिनामा तीर्थालुको चहलपहल अत्यन्त न्यून रह्यो।

यातायात सुचारु भएसँगै कात्तिक महिनामा दर्शनार्थीको संख्या तीव्र गतिमा बढेको समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले बताए। चालू आव २०८०/८१ को कात्तिकमा पाथीभरामा ६१ हजारभन्दा बढी तीर्थालु पुगेका छन्। यो संख्या अघिल्लो आवको कात्तिक महिनाको तुलनामा समेत धेरै हो। अघिल्लो आव २०७९/८० को कात्तिकमा ४९ हजार १६३ जनाले मन्दिरको दर्शन गरेका थिए।

यातायात सुचारु हुनुका साथै मौसम सफा हुँदा कात्तिकमा दर्शनार्थीको संख्या बढेको हो। पाथीभरा क्षेत्र विकास समितिका अनुसार पछिल्लो समय तीर्थालुको संख्यामा निरन्तर वृद्धि भइरहेको छ।

३,७९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिर पुग्न धरान–माझीटार हुँदै तमोर करिडोर वा झापाको बिर्तामोडबाट इलाम–पाँचथर हुँदै मेची राजमार्ग प्रयोग गर्न सकिन्छ। मेची राजमार्ग अन्तर्गत सुकेटारसम्म पक्की सडक छ भने त्यसपछिको काफ्लेपाटीसम्म कच्ची सडक छ। काफ्लेपाटीदेखि पाथीभरा पुग्न पाँच किलोमिटर पैदल यात्रा गर्नुपर्छ।

हाल पैदल मार्गलाई थप व्यवस्थित बनाउन विभिन्न स्थानमा पानी र हिउँबाट बच्ने फाइबर छाना राखिएका छन्। यद्यपि काफ्लेपाटीसम्म फाइबर छाना ओढाउने योजना भने पूरा भएको छैन।

प्रकाशित: १ मंसिर २०८१ १४:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App