coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

संघीय राजधानीसँग जोडियो कर्णाली

आइतबारदेखि नियमित उडान सुरु गरेको नेपाल एयरलायन्सका सिनियर को–पाइलट सृजना रावतलाई स्वागत गर्दै सुर्खेत उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष धनबहादुर रावतलगायत। तस्बिरः नगेन्द्र उपाध्याय/नागरिक

सुर्खेत – हवाई मार्गबाट कर्णाली प्रदेश संघीय राजधानी काठमाडौंसँग जोडिएको छ। राष्ट्रिय ध्वजवाहक नेपाल एयरलायन्सले आइबारदेखि औपचारिक रुपमा संघीय राजधानीदेखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनरमा औपचारिक उडान सुरु गरेको हो।

निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले पनि वैशाख एक गतेदेखि काठमाडौं–सुर्खेत औपचारिक उडान सुरु गर्दैछ।

सुर्खेत विमानस्थलका प्रमुख विनोददेव पन्तले नेपाल एयरलायन्सले आइतबारदेखि औपचारिक उडान सुरु गरेको जानकारी दिए। ‘वर्षौपछि सुर्खेत काठमाडौंसँग सिधा उडान सुरु भएको छ’ उनले भने, ‘यो समग्र कर्णालीबासीका लागि गौरवको कुरा हो।’

आइतबार नेपाल एयरलायन्सको नाइनएन–एकेएस कल साइनको १९ सिटे जहाजले उडान भरेको उनले जानकारी दिए। पाइलट नरेन्द्र भट्टराई, सिनियर को–पाइलट सृजना रावत र राकेशकुमार काफ्लेले काठमाडौंदेखि सुर्खेत र सुर्खेतदेखि काठमाडौं औपचारिक उडान सुरु गरेका थिए।

हरेक हप्ताको आइतबार उडान गर्ने गरी नेपाल एयरलायन्सले हवाई सेवा सञ्चालन गरेको हो। गत शुक्रबार मात्रै विमानस्थलमा परीक्षण उडान गरेको एयरलायन्सले आइतबारदेखि साताको एकपटक उडान गर्ने जनाएको छ। नेपाल एयरलायन्सका सुर्खेत स्टेशन प्रमुख चेतन तिमिल्सेनाले हरेक साताको आइतबार बिहान सवा ७ बजे काठमाडौं–सुर्खेत र बिहान नौ बजे सुर्खेत–काठमाडौं उडान गरिने बताए।

उनले कर्णाली प्रदेश सरकारले कर्णाली–रारा पर्यटन वर्ष–२०७५ का लागि आउने पर्यटकको संख्याका आधारमा उडान थप गरिने बताए। ‘तत्कालका लागि सातामा एक दिन नियमित उडान गछौं’ उनले भने, ‘यात्रुको संख्याका आधारमा उडान तालिका थप्दै जाने लक्ष्य हामीले लिएका छौं।’

हाललाई सुर्खेत–काठमाडौं ७ हजार ४ सय भाडा दर कायम गरिएको छ भने काठमाडौं–सुर्खेतका लागि ७ हजार ५ सय रुपियाँ तोकिएको छ। यहाँका यात्रुहरूलाई नेपाल एयरलायन्सले डवल इन्जिनको ‘वाई १२ ई’ नामक १९ सिटे जहाजले सेवा दिने छ। यहाँका नागरिकहरूलाई संघीय राजधानी काठमाडौं जानका लागि सुर्खेतबाट नेपालगञ्ज पुगेर जहाज चढ्नुपर्ने बाध्यता थियो।

प्रकाशित: २६ चैत्र २०७४ ०६:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App