१६ चैत्र २०८० शुक्रबार
समाज

जर्मन दम्पतीकाे जंको

भक्तपुरमा आइतबार भीमरथारोहणमा सहभागी जर्मन नागरिक पिटर र उनकी पत्नी एमिली । भीमरथारोहणपछि नेवारी बालबालिकाबाट सगुनका रुपमा अण्डा र माछा लिँदै पिटर र उनकी पत्नी एमिली । तस्बिर – उपेन्द्र / नागरिक

भक्तपुर – विदेशी पर्यटक नेपाल आएर फागु खेलेको, जात्रामा रमाएको, भाइटीका लगाएको अधिकांश नेपालीले देख्दै आएका हुन् । आइतबार भने पहिलोपटक भक्तपुरबासीले नेवार समुदायको मौलिक पर्व भीमरथारोहण (जंको) मा सहभागी भएर विदेशी पर्यटक रमाएको देख्न पाएका छन्।

जर्मनीको ब्रेमन सहरबाट २२ आफन्तसहित भक्तपुर आएका ७७ वर्षीय पिटर हेस परम्परागत नेवारी पहिरनमा सजिएर पत्नी एमेलीसँगै भीमरथारोहणमा सहभागी भएका हुन् । नेवारी संस्कारमा ७७ वर्ष उमेर पार गरेपछि वृद्धवृद्धालाई रथमा राखेर गाउँ–टोल परिक्रमा गराउने परम्परा छ । यस्तो संस्कारलाई जंको अर्थात् भीमरथारोहण भनिन्छ । नेवारी संस्कृतिअनुसार जंको गर्ने व्यक्ति पुरुष भए उनकी पत्नीको स्वतः जंको हुन्छ । त्यही नियमअनुसार हेसकी पत्नी एमेली भीमरथारोहणमा सहभागी भएकी हुन्।

  दौरासुरुवाल, इस्टकोट र ढाका टोपीमा सजिएका पिटर र चौबन्दी चोलो, नौगेडी र शिरफूलमा सजिएकी एमेलीलाई परम्परागत पहिरनमा सजिएका नेवार बालबालिकाले रथमा राखेर तानेका थिए । धिमेबाजा र बाँसुरीको धुनमा नगर परिक्रमा गराउँदा एमेली दुलहीझैं देखिन्थिन् । ‘हाम्रो देशमा उमेर बढेपछि हर्षित हुने चलन छैन,’ पिटरले भने, ‘यहाँ भने बूढो भएपछि उत्सव मनाउने चलन रहेछ ।’ यस्ता उत्सवले बुढेसकाल रमाइलो बनाउने उनको बुझाइ छ।

भक्तपुरको जात्रा संस्कृतिमा रमाउँदै आएका उनले १५ वर्षअघि नै आफूलाई भीमरथारोहणमा सहभागी हुने सोच आएको जानकारी दिए । पेसाले इन्जिनियर पिटर ३४ वर्षअघि पहिलोपटक भक्तपुर आएका थिए । भक्तपुरको कला, संस्कृति र संगीतले मुग्ध भएका उनले त्यसयता एक सय पटकभन्दा बढी नेपाल ओहोरोदोहोर गरिसकेका छन् । ‘सुरुका दिनमा वर्षमा तीनपटकसम्म आउँथे,’ उनले भने, ‘अहिले पनि वर्षमा एकपटक त आउँदैछु।’

‘हाम्रो देशमा उमेर बढेपछि हर्षित हुने चलन छैन,’ जर्मन नागरिक पिटर हेसले भने, ‘यहाँ भने बूढो भएपछि उत्सव मनाउने चलन रहेछ । त्यसैले म पनि जंकोमा रमाउँदै छु ।’

पर्यटकले जंको मनाएको देखेर बूढाबूढी र युवकयुवती सबै खुसी देखिएका थिए । ‘हामीले भक्तपुरमा पर्यटकले जात्रा, फागुलगायतका पर्वमा रमाएका देख्दै आएका थियौं,’ पर्यटक पथ प्रदर्शक मुरज दिदियाले भने, ‘पर्यटकले जंको मनाएको पहिलोपटक देख्दै छु ।’ पिटरले जंको मनाएको तस्बिर भक्तपुर घुम्न आएका पर्यटकले समेत रमाउँदै खिचेका थिए ।गोरा अनुहारमा परम्परागत नेवारी पहिरनमा सजिएर प्राचीन संस्कृतिसँग घुलमेल गर्दा दर्शकले ताली पिटेर पिटर दम्पतीलाई सम्मान गरेका थिए।

पिटरको भीमरथारोहण कार्यक्रम स्थानीय समुदायले आयोजना गरेको हो । ‘उहाँले जंको मनाउने इच्छा व्यक्त गरेपछि सबै विधिअनुसार मनाउन सघायौं,’ स्थानीय रामेश्वर मचामसीले भने, ‘उहाँको रथ तान्दा हामीलाई आफन्तको यात्रामै सहभागी भएजस्तो लाग्यो ।’
रथ तान्दै गरेकी कक्षा ८ मा अध्यनरत सोनी हैजूले पिटरलाई देख्दा हजुरबुबाको सम्झना आएको सुनाइन् । ‘हजुरबुबाको उमेर पुगेपछि यसैगरी तान्नेछु,’ उनले भने, ‘आज मलाई निकै खुसी लागेको छ।’

नेपालप्रति औधी माया गर्ने पिटरकी बुहारी पनि भक्तपुरकै चित्रकार थरकी हुन् । रथयात्रामा उनका नाति सिलास हेस चित्रकार पनि सहभागी थिए । ‘जर्मनी र नेपालका आफन्तमाझ मैले यो पर्व मनाउन पाएको छु,’ पिटरले भने, ‘मैले आफूलाई धन्य महसुस गरेको छु।’

संस्कृतिविद् ओम धौभडेलका अनुसार जंको ज्येष्ठ नागरिकलाई  सम्मान सिकाउने संस्कृति हो । ‘ज्येष्ठ नागरिकलाई देवतासरह सम्मान दिनुपर्छ भन्ने जंकोको सन्देश हो,’ उनले भने, ‘यसले परिवारमा खुसी ल्याउँछ ।’ जंकोको रथ परिवार र आफन्तले तान्ने परम्परा छ । यसले वृद्धवृद्धाको जीवनयात्रामा परिवार र समाजको सहयोग आवश्यक छ भन्ने देखाएको धौभडेल बताउँछन् ।


 

प्रकाशित: २६ चैत्र २०७४ ००:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App