coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

महोत्सव प्रचार गर्न मोटरसाइकल -याली, उपराष्ट्रपतिबाट उद्घाटन

इलाम महोत्सव प्रचारका लागि शनिबार सदरमुकाममा निकालिएको मोटरसाइकल -याली । तस्बिर : नागरिक

इलाम– इलाम सदरमुकाम (खलंगा) स्थापना भएको २ सय वर्ष पुगेको अवसरमा आउँदो वैशाखमा आयोजना गरिने महोत्सवको तयारी तीव्र पारिएको छ। यहीक्रममा सदरमुकाममा शनिबार मोटरसाइकल -यालीसमेत आयोजना गरियो। 

सदरमुकामको ठूलो टुँडिखेलबाट सुरु -याली चोकबजार, नारायणस्थान, धोबिधारा र जिरो किलोमिटर हुँदै पुनः टुँडिखेल पुगेर समापन गरिएको थियो। -यालीमा प्रदेश नम्बर १ को प्रदेशसभा सांसद रामबहादुर रानामगर, इलाम नगरपालिका प्रमुख महेश बस्नेत, इतिहासकार युद्धप्रसाद वैद्यलगायतको सहभागिता थियो। -यालीमा जिल्लाका विभिन्न संघ–संस्थाका प्रतिनिधि र इलाम नगरबासीको सहभागिता रहेको महोत्सवको प्रचारप्रसार उपसमिति संयोजक तथा नेपाल पत्रकार महासंघ इलाम शाखा अध्यक्ष कोकिला ढकालले बताइन्। 

महोत्सवको प्रचारका लागि इलाम घर भइ धरान, काठमाडौंलगायतका स्थानमा बसोबास गर्ने इलामेले पनि मोटरसाइकल -याली र भेला आयोजना गरिरहेका छन्। वैशाख १, २ र ३ गते मनाइने महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर मगरले गर्ने कार्यक्रम तय भएको इलाम नगरपालिकाले जनाएको छ। नगरपालिकाले ‘इलाम हाम्रो गौरव’ नारासहित आउँदो २०७५ सालभर विभिन्न कार्यक्रम आयोजना गरी महोत्सव मनाउने तयारी गरेको हो। 

आउँदो ३० गते पनि इलामको राँकेदेखि कन्यामसम्म मोटरसाइकल -याली आयोजना गरिएको मूल आयोजक समारोह समितिले जनाएको छ। महोत्सवका अवसरमा समितिले विभिन्न कार्यक्रमहरू सार्वजनिक गरेको छ। वैशाख १, २ र ३ गते सायोजना हुने महोत्सवमा इलाम बजारमा कम्प्लेक्सको शिलान्यास, ‘२००औं वर्ष स्तम्भ’को शिलान्यास, धरान र इलाम नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना, माइभ्याली गोल्डकपको प्रथम पुरस्कारका लागि माइभ्याली फुटबल क्लबसँग मेयर्स प्राइजको साइनिङ सेरेमोनी, साहित्य गोष्ठी, विचार गोष्ठी, गायक कुबेर राईको एकल साँझ, बृहत् सांगीतिक तथा सांस्कृतिक कार्यक्रम हुने कार्यतालिका सार्वजनिक गरिएको छ। महोत्सवका अवसरका पहिला सदरमुकाम बसेको करफोकलाई आधार बनाएर करफोक खेल मैदानमा इलाम र दार्जिलिङ चेस क्लबबीच मैत्रीपूर्ण खेल हुने र मरब क्याम्पस इलाममा धरान र इलामबीच महिला बास्केटबल हुने इलाम नगरपालिकाका प्रवक्ता ठाकुर श्रेष्ठले जानकारी दिए।

महोत्सव आयोजना गर्न हजार सदस्यीय मूल आयोजक समिति, ३३ सदस्यीय सचिवालय र विभिन्न १३ उपसमिति गठन गरिएको छ। सुगौलीको सन्धिपछि १८७५ सालमा इलामकै करफोकबाट नामसालिङ हुँदै अहिलेको स्थानमा सदरमुकाम सरेको इतिहास छ। आदिवासी लेप्चा र लिम्बू जातिको पुरानो थातथलोका रूपमा रहेको इलामको इतिहास झल्काउने, इतिहासबारे नयाँ पिँढीलाई जानकारी दिनेलगायत उद्देश्यले २००औं वर्षको कार्यक्रम आयोजना गर्न लागिएको नगरपालिकाले जनाएको छ। 

प्रकाशित: २४ चैत्र २०७४ १४:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App