५ वैशाख २०८१ बुधबार
समाज

सकसमा दुर्गमका सरकारी अस्पताल

ढुङ्गाले काटेको खुट्टा उपचारका लागि आएका ६२ वर्षिय बेलमन घर्तीको घाउ घाउ सफा गर्दै स्वास्थ्यकर्मी ।

रोल्पा – सदरमुकामबाट २८ कोश टाढाको गाउँ सुनछहरी गाउँपालिकाको गाममा रहेको स्वास्थ्य चौकिमा आधारभुत आबस्यकताका सामग्री समेत छैनन्।

एक हेल्थ असिस्टेन्ट, एक अहेब र ३ अनमी कार्यरत्त यो स्वास्थ्य संस्थामा औषधि त पर्याप्त छैन नै डेसिङ गर्ने सामान्य टेबुल समेत छैन। सरकारले बर्थिङ सेन्टर समेत स्वीकृती दिएर संचालनमा आए पनि सुत्केरी हुन आउने दर न्यून रहेको छ ।  दैनिक मुस्किलले  १२-१५ जना  बिरामी आउने गर्दछन्।‘भौतिक संरचना कमजोर छ । प्राय आवश्यक औषधि पनि हुँदैन । उपचार गर्ने ठाउँ नै छैन । काम गर्नै कठिन छ।

’ अनमी ईन्द्रा बुढाथोकीले भनिन् । ‘डेसिङ टेबुल पनि छैन । न बिरामीलाई बसाउने कुर्सी बेन्च छन् । सुत्केरी सेवाका लागि चाहिने औषधि छैन। अत्यावश्यक मेर्थारजिन, क्याथेटर, क्याट क्ल्याम, क्याल्सीयम ग्लुकोनेट जस्ता औषधिको सधै अभाव हुन्छ ।’ बुढाथोकी भन्छिन् । ‘बिरामिलाई घाउ सफा गर्नु परेमा भुँईमा राखेर मलम लगाउनु पर्ने बाध्यता रहेको छ।’

त्यसो त यहाँको स्वास्थ्य संस्थामा प्राय एन्टीबायोटिक त हुँदैन नै बच्चाका लागि आवश्यक औषधि अभाव सधै रहन्छ । भौगोलिक विकटता र अभावका कारण स्वास्थ्य संस्थामा बिरामी त कमी नै आउँछन् भने सुत्केरी हुन आउनेको संख्या पनि कम छ । ‘गत साल एक वर्षमा २८ जनाले स्वास्थ्य चौकीमा सुत्केरी गराएका थिए । फागुन सम्म २५ जनाको भएको छ । भौगोलिक विकटता, लाज र जनचेतना पर्याप्त नहुँदा सुत्केरी हुन स्वास्थ्य संस्था आउनेहरूको संख्या कम छ ’ अनमी  सीता सुवेदीले बताईन्।

भौतिक सुविधा कमजोर भएका कारण यहाँका स्वास्थ्यकर्मीलाई सेवा दिन सकस पर्ने गरेको छ । सामान्य कुर्सी,बेन्च टेबुल समेतको अभावमा बिरामीलाई भुँईमै राखेर घाउ सफा गर्नुको विकल्प छैन । ‘स्थानीय अनुकूलन कार्ययोजना लापाले गाविसलाई दिएको टेबुल कुर्सी थियो । चुनाब जितेर जनप्रतिनिधी आएपछि यि सामाग्री हाम्रो हो हामीलाई चाहिन्छ भनेर सबै लगेपछि स्वास्थ्य संस्था रित्तो भएको छ ।’ ढुङ्गाले खुट्टा काटेर उपचारका लागि आएका ६२ वर्षिय बेलमन घर्तीको घाउ सफा गर्दै  अनमी बुढाथोकीले बताईन् । सुनछहरी गाउँपालिकाका प्रमुख आसबहादुर पुन पनि समस्या रहेको स्वीकार गर्दै सुधार हुँदै गएको बताउँछन्।

‘समस्या छ । स्वास्थ्य संस्था ईन्चार्जले पनि कोर्डिनेसन गर्नुहुन्न । के छैन, के आवश्यक हो भन्ने उनीहरूले नै हो। कार्ययोजना अनि माग सबै मिलाएर आए सहज हुन्छ । हामस्ले अलि –अलि औषधि खरिद पनि गरेका छौ । भौतिकको सवालमा पनि नयाँ भवन बन्दै छ । फर्निचरको पनि छिटै व्यवस्था हुनेछ।’वर्षौ देखि रोल्पाका यस्ता धेरै स्वास्थ्य संस्थामा यस्ता प्रकारका समस्या यथाव्त छन् तर समाधानमा चासो कसैको हुँदैन । ‘नेताले विकास भनेको बाटो बुझेका छन् त हाम्रो अस्पताल राम्रो कसरी हुन्छ ।

दिनरात डोजर चलायो बाटो खन्यो कमिसन त्यहि आउँछ । स्वास्थ्यमा त फाईदा हुँदैन अनि नेताको आँखा पनि पर्दैन । आफु बिरामी भए ठुलो ठाउँ अन्यत्र जान्छन् । जनतालाई जे सुकै होस ।’ स्थानीय देउ सिंह घर्तीले आक्रोश पोखे । ‘जति परिवर्तन भने पनि गाउँ उस्तै हुन । जनता त भोट हाल्ने मेसिन मात्र हो । पुरानै चलन छ विकट गाउँमा कसैले हेर्दैनन् ।’
 

प्रकाशित: २४ चैत्र २०७४ ०७:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App