१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

कञ्चनरुप क्षेत्रका एक हजार घर डुबान

अविरल वर्षाका कारण सप्तरीको कञ्चनरुप नगरपालिकामा करिब एक हजार घर डुबानमा परेका छन्।

नगरपालिका–१, बैरवामा वर्षाका कारण २८ घरमा पूर्ण क्षति भएको छ भने करिब सात सय घर डुबानमा परेका छन्। वर्षाका कारण स्थानीय रफिद मंसुरीको घर र भान्सा भत्किएको छ।

स्थानीय सामाजिक अभियन्ता भोला पासवानका अनुसार यहाँ सात सय घर प्रभावित भएका छन्। यहाँका सरदार, खङ्ग, राम, मुस्लिम तथा यादव टोल डुबानमा परेको उनले जानकारी दिए।

यस्तै, मनसुनजन्य विपद्‌ले कञ्चनरुप नगरपालिका–२ स्थित यादव बस्ती र मुस्लिम बस्तीका करिब सय बिघा जमिनमा लगाइएको धानबाली नष्ट गरेको छ।

त्यहाँ करिब तीन सयभन्दा बढी घरमा पानी पसेको स्थानीय मोइम शेखले सुनाए। यी ठाउँमा कोशी नदी, सुन्दरी खोला तथा मोहुली नदीमा आएको बाढी पसेको जनाइएको छ।

जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिकाको कार्यालयसमेत डुबानमा परेको छ। कार्यालयको परिसर तथा विभिन्न कोठामा पानी पसेको प्रमुख प्रशासकीय अधिकृत किशोर रामले जानकारी दिए।

कार्यालय डुबानमा परेपछि दैनिक कामकाज प्रभावित भएको उनको भनाइ छ।

प्रकाशित: १३ आश्विन २०८१ २०:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App