१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

विपद्‌मा परी सिन्धुलीमा २ को मृत्यु, सयाैं विस्थापित

सिन्धुलीको मुलकोट र खुर्कोट बजारलाई सुनकोसी नदीको बाढीले पुर्‍याएको क्षति।<br>

लगातार तीन दिनदेखि परेको अविरल वर्षाले सिन्धुलीमा ठूलो भौतिक क्षति भएको छ। वर्षासँगै रोशी खोला र सुनकोसी नदीमा आएको बाढीले नदी किनारका बस्ती र तल्लो तटीय क्षेत्रहरूमा ठुलो विनाश निम्त्याएको छ।

सिन्धुलीको सुनकोसी गाउँपालिका-५ मुलकोट, वडा नम्बर-१ नेपालथोक र गोलञ्जोर गाउँपालिका-७ खुर्कोट बजारमा बाढीले ठूला व्यापारिक क्षेत्रहरूलाई प्रभावित बनाएको छ।

बर्दिबास-सिन्धुली-बनेपा सडक निर्माण भएपछि ती क्षेत्रहरू सुन्दर सहरको रूपमा विकास हुँदै गइरहेका थिए। तर बाढीले मुलकोट बजार र खुर्कोटको तल्लो क्षेत्रलाई पूर्ण रूपमा क्षति पुर्‍याएको छ।

स्थानीय प्रहरीका अनुसार, मुलकोट र खुर्कोटमा गरी सयभन्दा बढी होटल, रेस्टुरेन्ट र अन्य घरहरू डुबानमा परेका छन्। जिल्लाभर गरी दुई सयभन्दा बढी घरहरूमा बाढीको असर परेको छ।

घर पूर्ण रूपमा क्षतिग्रस्त भएपछि स्थानीयहरू विस्थापित भएका छन्। सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माका अनुसार, क्षतिको एकीन विवरण आउन बाँकी छ। 

बाढी र पहिरोमा दुईको मृत्यु

बाढी र पहिरोमा परेर सिन्धुलीमा दुई जनाको मृत्यु भएको छ। कमलामाई नगरपालिका-९ भिमानस्थित सुके खोलाले बगाउँदा ४२ वर्षीय कृष्ण बोगटीको मृत्यु भएको छ भने सुनकोसी गाउँपालिका-१ का १२ वर्षीय विनय कोइरालाको पहिरोमा परी निधन भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

त्यस्तै, बाढी र पहिरोका कारण दुई बिरामीले एम्बुलेन्समै ज्यान गुमाएका छन्। सिन्धुलीबाट बिरामी बोकेर काठमाडौंतर्फ जाँदै गर्दा बाटो अवरुद्ध भएपछि ती बिरामीहरूको सडकमै मृत्यु भएको हो।

कमलामाई नगरपालिका-४ मल्लागाउँकी ९५ वर्षीया वृद्धा टीका कुमारी भुजेल र बर्दिवास नगरपालिका-८ महोत्तरीका ४५ वर्षीय मानबहादुर सिंजालीको एम्बुलेन्समै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए।

३९ जनाको हेलिकप्टरबाट उद्धार

तीन दिनदेखि विपी राजमार्गमा फसेका ३९ जनालाई नेपाली सेना र निजी हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

सुनकोसी गाउँपालिका-१ गजुरीदहमा अलपत्र परेका १ जना विदेशी नागरिकसहित ३४ जना बालबालिका, वृद्धवृद्धा र अशक्त विरामीहरूलाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको हो। यस्तै, पाँच जना विदेशी नागरिकलाई अर्को निजी हेलिकप्टरले उद्धार गरेको प्रहरीले जनाएको छ।

बाढीले विपी राजमार्ग क्षतविक्षत बनाएकोले राजमार्गमा अझै ४० जना अलपत्र परेका छन्, उनीहरुको उद्धार सोमबारसम्म हुने बताइएको छ। चार सयभन्दा बढी यात्रुलाई भने सवारी साधनमार्फत सिन्धुलीतर्फ नै फर्काइएको प्रहरीले जनाएको छ।

खुर्कोट-मन्थली जोड्ने पक्की पुल भत्कियो

सिन्धुलीको खुर्कोट र मन्थलीको सेलेघाट जोड्ने सुनकोसी नदीमाथि बनेको पक्की पुल बाढीले भत्काएको छ।

पुलको रामेछापतर्फको भाग बगाएपछि खुर्कोट र मन्थलीको सम्पर्क विच्छेद भएको छ। यो पुलबाट रामेछाप, मन्थली, दोलखा लगायतका जिल्लाबाट काठमाडौं र पूर्वी तराईसम्म सवारी आवागमन हुने गर्थ्यो।

प्रकाशित: १३ आश्विन २०८१ २०:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App