११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

तपाईं माछामासु खानु हुन्छ भने दशा नबनोस् दशैं!

दशैंमा रमाइलो सँगसँगै खानपिन पनि जोडिएर आउछ । वर्षदिनभर दुःख गरेर छाक टार्नेहरु पनि यो चाडमा रमाइलो गर्दै विभिन्न परिकार बनाएर खाने कुराहरु खाने गर्छन् । माछामासु नचल्नेहरुले पनि दशैंमा विशेष परिकार बनाएर रमाइलो गर्छन् । माछामासुको प्रयोग भने अन्य दिनको तुलनामा दशैंमा अधिक हुने गरेको छ । स्वस्थ मासु अनि मासुको परिकार तयार गर्दा सचेत भइएन भने धेरै समस्या निम्तिन सक्छ । यो भिडियोमा हामी के कस्ता समस्या निम्तन्छन् त चर्चा गर्नेछौं ।  

दशैमा विशेषगरी मासुका विभिन्न परिकार बनाएर खाने चलन हुन्छ । मासुमा अत्याधिक रुपमा पौष्टिक आहार पाइन्छ । जसमा पर्याप्त मात्रामा प्रोटिन, जिंक, भिटामिन बी, पोटासियमजस्ता तत्व पाइन्छ ।  

जसले मानिसको शरिरलाई शक्ति प्रदान गर्न मद्दत गर्ने गर्दछ । तर मात्रा मिलाएर खान जानिएन वा धेरै खाईयो भने यसले स्वास्थ्यमा नराम्रो असर पार्छ । अमेरिका तथा यूरोपका विभिन्न विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययन अनुसार खानामा दैनिक अत्याधिक रातो मासुको प्रयोगले मानिसको मुटुमा असर पार्ने गर्छ । यति मात्र नभई उच्च रक्तचाप निम्त्याउने र क्यान्सरको सम्भावना पनि बढाउने कुरालाई अनुसन्धानले पुष्टि गरेको छ ।  

दैनिक धेरै मासु खाँदा शरीरमा भएका विभिन्न बलिया हड्डी कमजोर हुने, हाडजोर्नी सम्बन्धी रोग देखिने, महिलाहरूमा स्तन क्यान्सरको खतरा बढ्ने, महिला–पुरुष दुवैको शरीरमा कोलेष्ट्रोलको मात्रा पनि बढ्न जान्छ ।  

नेपालमा सञ्चालन भइरहेका मासुपसल तथा घरहरुमा आवश्यक ध्यान नदिँदा ब्याक्टेरियाको सङ्क्रमण, जुकाका लार्भाहरू मानिसको शरीरमा प्रवेश गर्ने गरेको पाइएको छ । यसले विभिन्न प्रकारको रोग निम्त्याउन सक्छ ।  

तपाईले सुन्नु, पढ्नु र हेर्नु भएको छ नि, दशैंमा अस्पतालहरुमा बिरामीको संख्या बढेको, यही हो कारण । त्यसैले पनि दशैंलाई खुसीयालीका साथ रमाएर मनाउन तथा दशैको समयमा अस्पताल भर्ना हुन नपरोस भन्नका लागि मासु खादा उचित व्यवस्थापनमा ध्यान दिन जरुरी छ ।  

मासु र अन्य परिकारलाई स्वस्थकर ढङ्गले नराख्दा खानेकुरामा विषाक्तता बढी भई खाएको केही समयभित्रै पेट दुख्ने, पेट ढुस्स हुने झाडापखाला चल्ने, अपच भई तत्कालै पेट फुल्ने, वान्ता हुने लगायतका समस्या देखिन थाल्छन् ।  

के के भयो भने मानिसको शरीरमा रोग सर्छ त ?  

- बत्ती नभएका बेला फ्रिजमा राखेको वा फ्रिज बाहिर राखेको मासु खाएमा  

- मासु काट्ने स्थान, काट्ने हतियार सफा नभएमा

- सडे गलेको मासु सेवन गरेमा

- मासुको परिकार तयार गर्ने व्यक्ति स्वस्थ नभएमा

- राम्रोसँग फ्रिजमा भण्डारण प्रक्रिया नअपनाएमा

- रसायनयुक्त मासुको प्रयोगबारे सचेत नभएमा

मासु तथा मासुजन्य परिकार बनाउँदा मरमसलाको प्रयोग बढी गरेमा ।  

त्यसैले दशैंसहितका चाडपर्वमा थोरै मात्र सावधानी अपनाउन सके रमाइलोको वातावरणका बीच अस्पताल जान पर्दैन थियो । सचेत बनौं । आफू पनि स्वस्थ बसौं र परिवारलाई पनि स्वस्थ राखौं । 

प्रकाशित: ११ आश्विन २०८१ १८:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App