६ वैशाख २०८१ बिहीबार
समाज

कर्णाली–रारा पर्यटन वर्षको तयारी पूरा

कर्णाली प्रदेश सरकारले रारातालको किनारमा आयोजना गरेको पत्रकार सम्मेलनमा आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीसहितका मन्त्रीहरु। तस्बिरः नागरिक

राराताल (मुगु) – कर्णाली प्रदेश सरकारको आयोजनामा वैशाख १ गतेदेखि सुरु हुने ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को तयारी पूरा भएको छ। पर्यटन वर्षको सुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारातालसहित चार स्थानबाट गर्नेछन्।

प्रदेश सरकारले मंगलबार रारातालमा आयोजना गरेको पत्रकार सम्मेलनमा आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले पर्यटन वर्षको तयारी पूरा भएको जानकारी दिए। ‘सुरक्षा, आवास, भोजन, स्वागतलगायतका तयारी पूरा भएका छन्’ आन्तरिक मामिला मन्त्री भण्डारीले भने, ‘राराबाट कर्णालीको समृद्धि र विकासको यात्रा सुरु गर्दैछौ।’

पर्यटन वर्षलाई सफल बनाउनका लागि प्रदेशका १० वटै जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा कर्णाली प्रदेश पर्यटन प्रवद्र्धन समिति गठन गरिएका छन्। यसका साथै कालिकोट, डोल्पा र हुम्लामा पनि पर्यटन वर्षको तयारी पूरा भएको उनले जानकारी दिए। पर्यटन वर्षलाई सफल पार्न १० वटै जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुख, नेपाल पत्रकार महासंघका अध्यक्ष सदस्य रहेको समिति गठन गरिएका छन्।

पर्यटन वर्ष उद्घाटनको तयारीका लागि आन्तरिम मामिला मन्त्री भण्डारीसहित, उद्योग, पर्यटन तथा वन मन्त्री नन्दसिंह बुढा र भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी मुगुको राराताल आइपुगेका छन्। प्रदेश सरकारले वैशाख १ गते कर्णाली प्रदेशका प्रमुख पर्यटकीयस्थल मुगुको रारातालसहित डोल्पाको शे–फोक्सुण्डो, कालिकोटको पाचालझरना र हुम्लाको हिल्साबाट एकै साथ पर्यटन वर्षको सुरुवात गर्दैछ।

पर्यटन मन्त्री बुढाले प्रधानमन्त्री ओली रारासँगै चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सा, डोल्पाको शे–फोक्सुण्डो र कालिकोटको पाचालझरना पुगेर पर्यटन वर्षको शुभारम्भ गर्ने जानकारी दिए। कर्णालीको समृद्धि र विकासका लागि २०७५ साललाई पर्यटन वर्षका रुपमा मनाउने निर्णय प्रदेश सरकारले गरेको हो। तीनै जना मन्त्री कालिकोट, जुम्ला हुँदै स्थलमार्गबाट सोमबार रारा पुगेका हुन्।

प्रदेश सरकारले एक वर्षमा रारामा पाँच लाख पर्यटन भित्र्याउने लक्ष्य राखेको छ। ‘रारामा आउने पर्यटकका लागि सडकमार्गको स्तरोन्नति, आवास र भोजन व्यवस्थापनलाई हामीले प्रमुख चुनौतिका रुपमा लिएका छौं’ उनले भने, ‘निजी क्षेत्रसँग सहकार्य गरेर यि चुनौतिहरुलाई अवसरमा बदल्छौं।’

सरकारका प्रवक्तासमेत रहेकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले सुर्खेतदेखि रारातालसम्मको दुई सय ९४ किलोमिटर सडकको स्तरोन्नतिको काम सुरु गरिएको जानकारी दिइन्। उनले पर्यटन वर्ष उद्घाटनका लागि आउने प्रधानमन्त्रीसहितका पाहुनाहरूलाई स्थानीय उत्पादन उपहार दिइने बताइन्। ‘कर्णालीको जुम्लीमार्सी, फापर, कोदोलगायतका परिकारहरू अतिथिहरूलाई उपहार दिनेछौं’ उनले भनिन्।

प्रकाशित: २१ चैत्र २०७४ ०६:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App