८ वैशाख २०८१ शनिबार
समाज

पुनर्स्थापनाको पर्खाइमा असिना पीडित

रौतहट– बाढीको पीडा नबिर्सदै ७५ वर्षीया रामदुलारी देवी दासलाई असिनाको पीडाले पछ्याएको छ। गत शुक्रबार बिहान आएको हावाहुरीसँगैको असिनाले खपडाले छाएको घरको छानोलाई बस्नै नसक्ने गरी बनाएपछि उनी घरको छाना हेर्दै अब घर कसरी बनाउने भने चिन्तामा डुवेकी छिन्।

रौतहटको दुर्गा भगवती गाउँपालिका वार्ड नम्बर ३ मत्सरीकी रामदुलारीको घरको छानामा रहेका सवै खपडा फुटेर क्षतिग्रस्त भएको छ। शुक्रबार बिहान परेको असिनाले छाना क्षतिग्रस्त भएको र सोही राति पानी पर्दा महिलाको झन् बिजोग भएको थियो। “राति ठूलो पानी पर्दा निकै विजोग भयो, खाटमुनी बसेर रात विताएको,” उनले दुखेसो पोखिन।

हावा हुरीसंगै खसेको असिनाबाट रौतहटको एक दर्जन गाउँ अत्यधिक प्रभावित भयो। असिनाले धेरैको घरको छानो फुटाएको छ। तर रामदुलारीको व्यथा भने केही फरक छ। अर्काको घरमा भाँडा माझेर, लुगा धोएर, घर सफा गरेर आजीविका गर्दै आएकी रामदुलारीले अपाँग छोराको पनि हेरचाह गर्नुपर्छ। शुक्रबार निकै लामो समय सम्म खसेको असिनाले सवै खपडा क्षतिग्रस्त भएको छ, अलिकती पानी पर्दा सवै पानी घरभित्र नै जम्ने गरेको कारण रामदुलारी निकै अप्ठ्यारोमा परेकी छिन्। 

“क्षतिग्रस्त भएका घरहरुको अवस्था सम्बन्धमा स्थलगत रुपमा बुझ्न रामदुलारीको कौशीमा पुग्दा उनलाई राहत दिने व्यक्ति आएको छ भन्दै आँखामा आशाको लहर डौडिएको सहजै देखियो र रामदुलारीको आँशामा आएको आशाको लहर एकैछिन्मा आशुमा परिणत भयो। लौन बाबु मेरो घर संसार भनेको यही हो, भगवानले पनि यसलाई सहन नसकी अवला महिला माथि झन् विपदको प्रहार थुपारिदियो, अपाँग छोरालाई खुवाउने कि घर छाउन लगाउने, हातमुख जोर्न धौं धौं परेको अवस्थामा कसरी घर बनाउने हो” भन्दै उनी आँखाबाट आँसु चुहाउन थाल्छिन्।

आठ महिना पहिले आएको विनाशकारी बाढीले घर नै नभत्काएका घरभित्रको सबै सामान बगाएको र केही कुहिएको भए पनि कतैबाट कुनै किसिमको राहत नपाएको गुनासो पनि छ रामदुलारीको। आफ्नो बारेमा कतै कोही कसैलाई भन्ने नभएकोले गरिबलाई हेर्ने कोही नभएको दुखेसो पोख्छिन्। एकपछि अर्को प्राकृतिक विपद आफैमाथि आरहेको उनी बताउँछिन्।

रामदुलारीकी छिमेकी मलाही देवी सहनीको अवस्था पनि फरक छैनन्। सहनीको श्रीमान वितेको ७ महिना भयो, घरमा साना साना तिनवटा छोरी मात्रै छिन्, आम्दानीको श्रोत अर्काको घरमा भाडाकुडा सफा गरेर पाउने खाना नै उनको आयश्रोतका साधन हुन्। दैविक विपदाको सामना गर्न ति परिवार असर्मथ छिन् राज्यको मुख हेरेर बस्नुबाहेक अन्य कुनै उपाय छैनन्। राज्यबाट अहिलेसम्म कुनै सम्बोधन नहँुदा उनी निराश भएकी छिन्। 

रामदुलारी र मलाही जस्ती दुर्गा भगवती गाउँपालिकाको वडा नम्वर १ गंगापिपरा, वडा नम्वर २ भलोेहिया र वडा नम्वर ४ पचरुखीका अधिकाँश गरिव एवं पिछडिएका सामुदायको पिडा निकै छन् तर असिना खसेको २ दिन वित्न लाग्दा समेत केन्द्र सरकार र प्रदेश सरकारबाट सम्बोधन नहुँदा राज्य पक्षसंग आक्रोशित भएको र पुनर्स्थापनाको पर्खाइ रहेको मत्सरीका वडाध्यक्ष धर्मेन्द्रकुमार झाले बताए। जनता माथि विपद पर्दा राज्यबाट सम्बोधन नहुनु कति पीडादायी रहेको स्वयं महसुस गर्ने बिषय हो तर यहाँका सरकार जनता प्रति अनुत्तरदायी रहेको उनले आरोप लगाए।

प्रकाशित: १९ चैत्र २०७४ १४:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App