सबैको घरमा चाडबाड आउँदा रोल्पा नगरपालिका–१ हरिगातिनाका चार परिवारमा भने निराशा मात्र थपिन्छ। न माओवादी न सुराकी चार परिवारका चारजना अनायास सेनाद्वारा बेपत्ता पारिए। राजु खत्री, परु वली, गोठी थापा र प्रतिमा थापा यही भदौ १३ गते सदरमुकाम जान्छन्। सरकारी गैरसरकारी संस्थाद्वारा गरिएका बेपत्ता दिवस कार्यक्रमले शोभा बढाउँछन् अनि दुईवटा समोसा र एउटा जेरी खाएर आश्वासन बोकेर घर फर्किन्छन्।
चार वर्षअघि रोल्पा सदरमुकामनजिकै कालिमाटी जंगलमा द्वन्द्वकालीन सामूहिक चिहान भेटियो। स्थानीयका अनुसार त्यो चिहान हरिगातिनाका युवाहरूको हो। सेनाले गोली हानेर ब्यारेकनजिकैको जंगलमा गाडेको थियो।
सञ्चारमाध्यममा खबर आयो तर उति बेला क्रियाशील रहेको बेपत्ता आयोग र मानव अधिकार आयोगले उजुरी नपरेको भन्दै चासो दिएन। फलस्वरूप प्रहरीले चिहान कोट्याएर हाडखोर परीक्षण गर्न भन्दै काठमाडौं पठायो। उतिबेला जिल्लामा कसैले चासो पनि दिएनन्।
२०५८ सालमा घरबाट कार्यक्षेत्र सुर्खेत फर्कंदै गर्दा माओवादीले बेपत्ता पारेका पत्रकार धनबहादुर रोकाको परिवार तीनतिर छन्। उनकी श्रीमती दुर्गम गाउँ मिरुलमा माइतीसँगै बसेकी छिन् भने छोराछोरी आफ्नो भविष्यको खोजीमा जिल्लाबाहिर छन्। न हरिगातीनाका चारजना माओवादी थिए न त मिरुलका पत्रकार सुराकी थिए। यिनीहरूको द्वन्द्वसँग कुनै साइनोसम्बन्ध थिएन। तर यतिका वर्षसम्म पनि आफन्तलाई न लास देखाइयो न त अवस्थाबारे जानकारी दिइयो।
१२६ उजुरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा दर्ता गराएका परिवार आज पनि आफन्तलाई कहाँ के गराइयो भन्ने उत्तरको खोजीमा छन्। हिजो क्रान्तिका नाममा जबरजस्त पीडा थोपरिएका बेपत्ताहरूको परिवारको घरमा मिठो पाक्दा पनि आँसु चुहुन्छ, चुलो नजल्दा मन पोल्छ। गर्भमा सन्तान छोडेर श्रीमान् बेपत्ता भएपछि हरिगातिनाकी प्रतिमा थापाको जीवन निरस छ। उनको ओठबाट हाँसो हराएको छ। ‘चाडपर्वमा पनि उनकै याद आउँछ। मिठो पाक्दा घाँटीबाट छिर्दैन।’
श्रीमान् बेपत्ता भएको ४६ दिनमा छोरो जन्माएकी प्रतिमा बुढी सासू र छोराका लागि सबै त्यागेर बसिन्। ‘न्याय त के दिन्थे कम्तीमा दुई छाक खान र लाउन जोहो भए पुग्थ्यो।’ उनी अब न्यायभन्दा पनि मायासँगै सरल जीवन जिउन चाहन्छिन्।
घरछेउमा माओवादीले श्रीमान् मारेको एक वर्षपछि दाङ पढ्ने भाइलाई भेट्न रोल्पाबाट झर्दै गरेको छोरालाई सेनाले बेपत्ता बनाएपछि विक्षिप्त रोल्पा नगरपालिका–६ की मेघमाली बुढा मेलमिलाप गरेर गाउँमा बस्ने रहरमा छिन्।
‘श्रीमान् मार्ने चिनेको छु। उनीहरू जस्तो गर्न भएन नि,’ उनले भनिन्, ‘म कुन पक्षको भएँ ? माओवादीले श्रीमान् मारे, सेनाले छोरा बेपत्ता बनाए।’ उनी सबै भुलेर समाज मिलेर बसेको हेर्न चाहन्छिन्। मेघमालीकोे एउटै अपेक्षा छ, छोराको अवस्था थाहा पाउने।
सरकारी तथ्याङ्कअनुसार ३३ जना बेपत्ताको सूचीमा रहे पनि आयोगमा १२६ उजुरी छन्। धेरैले राहत पाउन बेपत्ताको मृत्यु दर्ता गरेका कारण सरकारी तथ्याङ्कमा यो संख्या घटेको हो। ३३ परिवारका केहीमा यतिबेला अनेकन समस्या सुरु भएको छ। प्रतीक्षासँगसँगै जग्गा हस्तान्तरण रोकिएको छ।
एकल भत्ता पाउँदैनन्। रोल्पा नगरपालिका–८ की पुनिकला बिकका श्रीमान् पूर्व अर्थमन्त्रीसँगै हिँड्थे। उनी बेपत्ता भएको २४ वर्ष भयो तर उनी सरकारको कुनै तथ्याङ्कमा छैनन्। ‘न राहत पाएँ न त मेरो श्रीमान्को नाममा भएको जग्गा आफ्नो नाउमा ल्याउन सकेको छु,’ उनले सुनाइन्, ‘छोराले अंश माग्छन् कसरी दिनू। मलाई बरु केही चाहिन्न श्रीमानको जग्गा छोरालाई अंश दिन पाए सजिलो हुन्थ्यो।’
माथिका पात्र जस्तै टोलटोलमा रहेका द्वन्द्वपीडितका मनमा मानसिक समस्याले पनि थिचिरहेको छ। मनमा समस्या बोकेर बसेका कतिलाई मनोविमर्श अनि उपचारसमेतको खाँचो रहेको छ। मानसिक स्वास्थ्यलाई समस्याका रूपमा नलिने चलनका कारण आज पनि धेरैले कष्टकर दैनिकी बिताइरहेका छन्।
सन् २०१० को डिसेम्बर २१ मा संयुक्त राष्ट्रसंघको महासभाले आफ्नो संकल्प ६५ र २०९ अन्तर्गत विश्वभरि भएका पक्राउ, हिरासत र अपहरण सहित बलपूर्वक बेपत्ता पार्ने घटना सन्दर्भमा गहिरो चिन्ता व्यक्त गर्दै सन् २०११ देखि लागु हुने गरी हरेक वर्ष अगस्ट ३० का दिनलाई बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने औपचारिक घोषणा गरेको हो।
प्रकाशित: १४ भाद्र २०८१ ०७:०८ शुक्रबार