८ वैशाख २०८१ शनिबार
समाज

हुलाकी राजमार्गको सपना

बरियारपट्टी(सिरहा)- हुलाकी सडकलाई हुलाकी राजमार्गको स्वरुपमा देख्ने बरियारपट्टी–३ का रासलाल यादवको(८२) सपना दशक बढी समयदेखिको हो। हुलाकी सडक राजमार्गको रुपमा विकास हुने चर्चा चुलिँदा उनमा भरोसाको पालुवा पलाउँछ, सेलाउँदा भरोसाको पालुवापनि सेलाउँछ। हुलाकी राजमार्ग देख्ने सपना पलाउने र सेलाउने क्रम छ दशकदेखि चलिरहेको छ।  

गत्त मंगलबार(चैत ६ गत्ते) सत्ता साझेदार प्रमुख घटक दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले हुलाकी राजमार्गको बरियारपट्टी खण्डमा शिलान्यास गर्दा रासलालको भरोसा पुनः जागेको छ। उनी जती उत्साहित बनेका छन् त्यती नै शंकित पनि छन्। कारण कोट्उँदै उनले भने,‘राणाकालदेखि पटकपटक शिलान्यास हुँदै सेलाउँदै गरेको बेहाल बिगत छ।’ विस १९०३ देखि २००८ सम्म राणाशासक जंगबहादुरबाट हुलाकी मार्ग निर्माणको थालनी जुद्धशम्शेर, पदम शम्शेर हुँदै विभिन्न कालखण्डमा पटकपटक शिलान्यास भए। शिलान्यास हुने, निर्माणको थालनी हुने तर बीचमै निर्माण रोकिने बिगतले उनी झस्किरहेका छन्। शिलान्यास भएपनि निर्माण हुन्छ भनेमा अझै पूर्ण भरोसा छैन, उनले भने।

‘तराई–मधेसको विकासको मेरुदण्ड मानिने बहुचर्चित हुलाकी राजमार्गको शिलान्यासले देहातका जनतामा उत्साह जगाएको छ’, बरियारपट्टीका जेष्ठ नागरिक लक्ष्मी यादव(८०)ले भने,‘यसपालि निर्माण पुरा हुने आशा बढेको छ।’ सिरहाको पूर्वी बलानदेखि कमला खण्डसम्म शिलान्यास भएको हुलाकी राजमार्गले यस भेगका ग्रामीण जनतामा खुसी थपेको छ।

‘बुबाहरुले राणाकालमै हुलाकी सडक शिलान्यास भएर बन्न सुरु भएको सुनाउँथे’ स्थानीय गंगाप्रासाद यादव भन्छन्,‘हामीले सुरुमा देखेको हुलाकी सडक अहिलेको भन्दा धेरै चौडा थियो।’ पहिला सडक छेउछाउ बस्ती थिएन, अहिले बस्तीले सडक ढाकेको छ। ‘हामीले थाहा पाउन्जेल सडकको ठाउँठाउँ खाल्डो भइसकेको थियो उनले भने,‘पारि धान बोकेर जाने एउटै साधन बयलगाडा थियो।’ सडकमा परेको खाल्डोले हिँडाउनै कठिन हुन्थ्यो। ‘यहाँबाट भारतीय सहर दरभंगा, मधुवनीलगायतका सहरमा धान बिक्री गर्न लैजान्थ्यौं उनले विगत सम्झे ,‘उताबाट नुनतेल, लत्ताकपडा लिएर आउथ्यौं ।’ यो सडक चल्तीको सडक थियो । योभन्दा माथि १८ किलोमिटर उत्तरबाट राजमार्ग बन्नथालेपछि यो सडकमा चहलपहल घट्न थाल्यो, बिस्तारै जीर्ण बन्न थाल्यो। राजमार्ग चल्तीमा आएपछि यो सडक ओझेलमा पर्‍यो। पछि बयलगाडा हिँडाउनसमेत असहज भयो।

यो सडकको दुर्दशा पूर्वपश्चिम राजमार्ग बनेपछि सुरु भएको हुलाकी सडक आसपासका स्थानीय बताउँछन्। राजमार्ग बनेपछि यो सडक राज्यको नजरमा पछि पर्‍यो स्थानीय राजेन्द्र यादव भन्छन्,‘ सडकसँगै जोडिएको यो क्षेत्र नै पछि पर्‍यो।’ ओरालो लाग्दै गएको यस क्षेत्रलाई उकास्न राज्यले त्यसपछि कहिल्यै वास्ता नगरेको उनको गुनासो छ। यो सडक जिर्ण हुँदै चहलपहल घट्न थालेपछि बस्ती र बजार पनि उत्तर (पूर्वपश्चिम राजमार्ग) छेउमा विस्तार हुन थाल्यो । दक्षीणका(हुलाकी छेउका) बासिन्दा उत्तर सरेपछि व्यापार–व्यवसाय समेत उत्तरतिरै तानिँदै गयो । बिस्तारै राजमार्ग छेउछाउ गुलजार हुँदै गयो र हुलाकी छेउ उराठलाग्दो बन्यो।

तर भारतीय सीमासँग नजिक रहेकोले यो क्षेत्रको रौनक फेरी फर्किनेमा यस भेगका स्थानीय आशावादी छन्। ‘हुलाकी राजमार्ग निर्माणले पूर्णता पायो भने फेरि यो क्षेत्रको गुलजार हुन्छ यादवले भने,‘सीमासँग जोडिएको यो क्षेत्रमा समृद्धिको सुरुवात हुन्छ।’ यस क्षेत्रमा उत्पादित अन्न विभिन्न बजारसम्म सहजै पुर्‍याउन सकिन्छ।

हुलाकी सडकको सुरुवात

पूर्व–पश्चिम राजमार्ग नबन्दै (राणाकालीन समयदेखि) चिठ्ठीपत्र ओसारपसार गर्ने हुलाकीहरु हिँड्ने छोटो बाटो भएकाले यसलाई हुलाकी मार्ग भनिएको हो। तराई मधेसका जिल्लाहरु जोड्ने यो पहुँचमार्ग पूर्व–पश्चिम ९७५ किमि फैलिएको छ ।  यो सडकसँगै पूर्व–पश्चिम राजमार्गबाट मधेसका जिल्ला सदरमुकामसम्म जोड्ने ८१७ किमिको ३२ वटा सहायक राजमार्गहरू छन्, जसले गर्दा हुलाकी राजमार्गको लम्बाइ १७९२ किमि पुगेको छ ।

समृद्धिको सम्भावना

नेपालको कुल क्षेत्रफलको १७ प्रतिशत भूभाग ओगटेको तराई मधेसलाई अन्नको भनिन्छ। जहाँको उत्पादनले मुलुकलाई पाल्न सक्छ भनिन्छ। तर, मधेसको मेरुदण्ड हुलाकी राजमार्ग निर्माणमा राज्यको बेवास्ताले मधेसलाई मात्र नभई देशलाई नै खाद्यान्नमा परनिर्भर बनाएको मधेस मामिलाका विज्ञ प्राध्यापक विजय प्रसाद मिश्रको तर्क छ। हुलाकी मार्गको बेहाल अवस्थाले दक्षीणका पुराना बजारहरु उजाड भएका छन्। हुलाकी मार्ग निर्माण नहुँदा यो सडकसँग जोडेर दूरदेहातसम्म सडक सञ्जाल विस्तारमा कठिनाई भयो। जसका कारण कृषि उपजको बजारीकरण गर्न सकिएन मिश्र भन्छन्,‘कृषिउपजको बजारीकरण गर्न नसक्दा कृषिप्रतिको आकर्षण घट्दै गयो।’

तराई मधेसमा ५५ प्रतिशत खेतीयोग्य उर्वर भूमि छ। ६० प्रतिशतभन्दा बढी उद्योग, कलकारखाना, वनजंगल र बिभिन्न सांस्कृतिक धरोहरहरु यसै क्षेत्रमा छ। स्रोत साधन र सुगमता प्रचुर भएपनि यो क्षेत्रका बासिन्दा (मधेसी) मानव विकास सुचाकांकमा पछाडि अर्थात गरिब छ। प्राध्यापक मिश्रका अनुसार पूर्व–पश्चिम राजमार्गसँग हुलाकी राजमार्ग र यी राजमार्गहरुसँग देहातलाई जोड्ने सहायक मार्ग निर्माण गर्न सके मधेसमा अकल्पनीय आर्थिक वृद्धि, समुन्नति र विकासले ग्रामीणजनको जीवनमा अभूतपूर्व परिवर्तन सम्भव छ । मधेसमा उर्वर जमिन छ जलको समुचित व्यवस्था छैन्। उत्पादन छ बजारसम्म सहज पहुँच छैन। उर्वर मधेसको उत्पादन बढाएर बजारसम्म पहुँच पुर्‍याउन सके मधेसको समृद्धि मधेसी आफैले सम्भव बनाउने मिश्रको भनाई छ।

 

 

 

 

प्रकाशित: १७ चैत्र २०७४ ०५:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App