४ वैशाख २०८१ मंगलबार
समाज

सैनिक मञ्चमा १८ हजार पूर्व सैनिक भेला हुँदै

काठमाडौँ –  सैनिक मञ्च टुँडिखेलमा पहिलो पटक भोलि (शनिबार) १८ हजारभन्दा बढी भूपू सैनिकको जमघट हुने भएका छन्। 

उपत्यका पृतना मातहतका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोक जिल्लामा बसोबास गर्ने १८ हजार ७०० भूपू सैनिक टुँडिखेलमा भेला हुने नेपाली सेनाले जनाएको छ। 

भूपू सैनिक सम्मेलनका अवसरमा ती जिल्लाका पूर्व सैनिकहरू एकै पटक टुँडिखेलमा भेला हुन लागेको हो। 

यस पटकको पूर्व सैनिकको सम्मेलन २०७३ माघ २१ गते धनगढीबाट शुरु भएकामा शनिबार टुँडिखेलमा मैजारो हुँदैछ। यस बीचमा नेपालगञ्ज, सुर्खेत, बुटवल, खैरेनीटार, पोखरा, सिन्धुली, त्रिशूली, धनुषा, भरतपुर, इटहरी, हिले र गाईघाटमा सम्मेलन भइसकेका छन्। 

पछिल्लो समय प्रत्येक प्रधानसेनापतिको कार्यकालमा एक पटक मुलुकभर पूर्व सैनिकको सम्मेलन गर्ने नीति सेना कार्यान्वयनमा ल्याएको छ। 

विगत द्वन्द्वको समयमा लामो समयसम्म रोकिएको भूपू सम्मेलन २०७० सालदेखि शुरु भएको थियो। 

मुलुकभर भूपू सैनिकको संख्या ७० हजारको हाराहारीमा छ। 

सम्मेलनका क्रममा पूर्व सैनिकको जीवनस्तर उकास्न सञ्चालन हुने लघुवित्त कार्यक्रमका लागि सहुलियत ब्याजदरमा ऋण प्रदान र स्वास्थ्य शिविरजस्ता सेवामूलक कार्यक्रम सञ्चालन हुँदै आएका छन्। सम्मेलनका बेला सैनिक नेतृत्वबाट पूर्व सैनिकका गुनासो सुन्ने र त्यसलाई सम्बोधन गर्ने प्रचलन छ । त्यसैगरी, भूपू सैनिकबाट बहालमा रहेकै झझल्को दिने गरी परेड तथा जिल्लागत रुपमा सांस्कृतिक झाँकी प्रस्तुत हुने गर्छ। 

पछिल्ला सम्मेलनमा सहभागीलाई सेनाले कल्याणकारी कोषमार्फत बाटो खर्च, औषधिसहितको प्याकेज तथा कम्बल उपलब्ध गराउँदै आएको छ।

प्रकाशित: १६ चैत्र २०७४ ११:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App