१ श्रावण २०८१ मंगलबार
image/svg+xml
समाज

धनगढीमा गर्मीको मार, खानेपानीको हाहाकार

धनगढी उपमहानगरपालिका वडा नं-१२ सिद्धार्थनगर स्थित सिद्धनाथ मा.वि.मा करिब छ सय विद्यार्थी र शिक्षकलाई खाने पानीका लागी दुई वटा नल्का थिए। यस अघि सधैँ पानी आउने यी दुई नल्का हाल सुकेका छन्।

नल्का सुकेपछि विद्यालयमा खानेपानीको हाहाकार भएपछि मंगलबार धनगढी उपमहानगरपालिकाले ट्याकंरमा पानी लगेर विद्यार्थीलाई खुवायो। नल्कामा पानी सुकेपछि प्राविधिक बोलाएर देखाउँदा जमिनमा पानीको सतह घटेकोले पानी सुकेको बताएको विद्यालयका प्रधानाध्यापक प्रेम शाहीले जनाए।

यसैगरी धनगढी उपमहानगरपालिका वडा नं-१२ ए गाउँ नवशान्ती टोलमा करिब ३५ घरधुरीको खानेपानीको स्रोत रहेको नल्काहरु सुकेका छन्। नल्का सुकेपछि खानेपानीको हाहाकार भएको स्थानीयले बताएका छन्।

‘यस अघि कहिले यस्तो भएको थिएन, अहिले हाम्रो टोलका ३५ घरका नल्काहरु सुकेर खानेपानीको हाहाकार भएको छ’ नवशान्ती टोलका ४३ वर्षीय हरि रिजालले भने,‘छिमेकी टोलबाट पानी ल्याएर प्राण जोगाउनु परको छ।’

यी प्रतिनिधि उदाहरण मात्र हुन। अहिले सम्मकै अत्यधिक बढी गर्मीका कारण सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको धनगढीमा जमिनको सतहमा पानी घटेर नल्का सुक्न थालेपछि खानेपानीको हाहाकार हुन थालेको छ।

खानेपानी संस्थानको खानेपानी सीमित घरधुरीमा मात्र उपलब्ध भएका कारण अधिकांश घरधुरी जमिनको सतहबाट निकालिने नल्काको खानेपानीमा निर्भर रहेका छन्।

भूमिगत पानीको सतह दुई मिटर घट्यो

अत्यधिक गर्मीका कारण धनगढीमा खानेपानीको सतह १ देखि २ मिटर सम्म घटेको विज्ञहरूले बताएका छन्। खानेपानी संस्थान धनगढीका प्रमुख शैलेन्द्र शाहले धनगढीमा पानीको सतह १ देखि २ मिटर सम्म घटेको बताए।

खानेपानी संस्थानले ९ हजार १ सय उपभोक्तालाई १४ लाख लिटर खानेपानी उपलब्ध गराउने गरेकोमा अहिले नल्का सुकेकोले १७ लाख लिटरसम्म माग भइरहेको उनले बताए।

बढ्दो गर्मीसँगै जमिनको भूमिगत पानीको सतह घट्न थालेपछि भूमिगत पानीको भण्डारणलाई रिचार्ज गरेर घट्न नदिने उपाय नअपनाइए अगामी बर्षहरुमा धनगढी लगायत तराईमा बस्ने वासिन्दाहरुलाई खानेपानीको समस्या विकराल बन्दै जाने विज्ञहरूको चिन्ता छ।

यही गतिमा पानीको सतह घट्ने हो र जमिनको पानीको भण्डारणलाई रिचार्ज गर्न ध्यान नदिने हो भने अगामी केही वर्ष पछि धनगढीका बासिन्दालाई ट्याकंरमा बोकेर पानी खुवाउनु पर्ने अवस्था आउने धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल बताउँछन्। रुख रोप्नुपर्ने, बर्षातका पानीलाई संकलन गरिराख्न तालतलैया जोगाउने तथा निर्माण गर्ने, वन विनाश जोगाउनु पर्ने लगायतका कुरामा सबैले ध्यान दिनुपर्ने उनको भनाई छ।

चुरेबिनास र जंगल फडानीले संकट

लामो समय सम्म पानी नपर्नु, अत्यधिक गर्मी हुनु र पानीको जमिनको सतह घट्दै जानुमा तराईको सिरानमा रहेको चुरेको विनाश, व्यापक रुपमा वन फडानी, अनियन्त्रित तरिकाले जताततै नदीमा गिठ्ठी, बालुवा र ढुङ्गाको उत्खनन जस्ता कारण जिम्मेवार रहेको विज्ञहरू बताउँछन्।

‘यो अवस्था हुनुमा मानवीय क्रियाकलाप नै मुख्य जिम्मेवार हुन्’ शिक्षा विद् कृपाराम उपाध्याय भन्छन् ‘केही वर्ष अघि सम्म पहाडहरुमा बाह्रौँ महिना कलकल पानी झरिरहेको देखिन्थ्यो, अहिले पानीका मुहान सुकेर कतै देखिँदैन।’

अहिले सम्मकै बढी गर्मी

धनगढीमा यस वर्ष अहिले सम्मकै बढी गर्मी महसुस भएको छ। गर्मीले पछिल्लो एक साता यता धनगढी लगायत कैलाली कंचनपुरको जनजीवन प्रभावित बनेको छ।

मान्छेहरू अति आवश्यक काम बाहेक दिउँसो गर्मीको कारण घर बाहिर निस्कँदैनन्। तातो हावा चल्ने गरेको छ। गर्मीले कयौँ बिरामी समेत हुने गरेका छन्। जल तथा मौसम विज्ञान विभाग महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख इन्जिनियर संजय शाह यस वर्ष धनगढीमा सबैभन्दा बढी गर्मी भएको बताउँछन्।

अत्यधिक तापक्रम मात्र नभई न्यूनतम तापक्रमले समेत गर्मी बढी महसुस गराउन भूमिका खेल्ने उनी बताउँछन्। धनगढीमा पछिल्लो ११ दिन यता निरन्तर ४० डिग्री सेल्सियस भन्दा माथि तापक्रम रहँदै आएको छ। मे ३० मा अत्यधिक तापक्रम ४४. १ डिग्री रेकर्ड भएको थियो।

मंगलबार ४३.१ डिग्री सेल्सियस रहेको थियो। गत सोमबार अधिकतम तापक्रम ४२.४ डिग्री सेल्सियस रहेको थियो भने न्यूनतम तापक्रम अहिले सम्मकै सबैभन्दा बढी ३१.५ डिग्री सेल्सियस रहेको शाहले बताए।

धनगढीमा सन १९९५ जुनमा सबैभन्दा बढी ४६.४ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो। तर त्यस दिन न्यूनतम तापक्रम २३ डिग्री मात्र रहेको शाह बताउँछन्। ‘गर्मी महसुस हुनुमा अत्यधिक तापक्रम मात्र नभई न्यूनतम तापक्रम कति छ भन्ने कुराले पनि प्रभाव पार्छ’ उनी भन्छन्, ‘धनगढीमा अहिले अत्यधिक तापक्रम ४२, ४३, ४४ डिग्री सेल्सियस र न्यूनतम तापक्रम पनि ३० डिग्री सेल्सियस भन्दा बढी भएकोले अत्यधिक गर्मी भइरहेको हो।’

यस वर्ष बनमा अत्यधिक आगलागी भएकोले पनि गर्मी अत्यधिक बढेको उनको भनाई छ। प्री मनसुनमा पानी नपर्नु, जमिनमुनीको पानी उड्दै जानु तर पानी माथिबाट थप नहुनुले जमिन मुनी पानीको सतह घटेर गएको उनी बताउँछन्। चुरेबिनास, वन विनाश, आगलागी, अन्धाधुन्ध, प्राकृतिक दोहन जस्ता गतिविधि नरोकिए अगामी वर्ष अझै संकटमय हुने निश्चित छ।

प्रकाशित: ५ असार २०८१ १६:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App