९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

आफ्नै प्रेमीले नर्सको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान

विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्सको हत्या उनकै प्रेमीले गरेको प्रहरीले आशंका गरेको छ।

सिराहाको फुल्काहकट्टी घर भई विराटनगर–४ बुढाथोकी मार्गमा धीरेन्द्र गिरीको घरमा डेरा गरी बस्ने २२ वर्षीय चन्द्रिकाकुमारी दासको हत्या उनकै प्रेमीले गरेको हुनसक्ने प्रहरीको आशंका छ। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा प्रेमीले नै हत्या गरेर शौचालयभित्र शव राखेको हुनसक्ने देखिएको हो।

नोबेल शिक्षण अस्पतालमा कार्यरत दास अस्पताल नजिकै रहेको घरमा २/३ महिनाअघि मात्रै यो घरमा डेरा गरी बसेकी थिइन्। दास घरको पहिलो तलामा एउटा कोठा बहालमा लिएर बस्दै आएकी हुन्। उनको कोठाभित्रै शौचालय (एटेज बाथरुम) छ। त्यही कोठामा बस्ने, खाना पकाउने र शौचालय रहेको देखिन्छ। उनी नोबेल अस्पतालकी स्टाफ नर्स हुन्।

कोठाभित्रै रहेको शौचालयमा दासको हत्या गरी फ्यालिएको अवस्था शव फेला परेको बताउँदै, मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले भने, ‘उनलाई कर्तव्य गरी हत्या गरेको देखिन्छ। दासको घाँटीको साइडमा धारिलो हतीयार प्रहार भएको छ। घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा चोटको खत देखिएको छ। घटनाको प्रहरीलाई शुक्रबार दिउँसो १ बजेतिर मात्रै खबर प्राप्त भएको हो।’

घटनाको प्रकृति हेर्दा हिजो (बिहीबार) नै भएको जस्तो देखिन्छ। बिहीबार घटना घटेको भए पनि आज (शुक्रबार) दिउँसो मात्रै प्रहरी कहाँ खबर आएको र तत्कालै घटनास्थलमा प्रहरी पुगेको बताउँदै, डिएसपी दाहालले भने, ‘छेउछाउको कोठामा अस्पतालकै कर्मचारीहरू बस्ने गर्छन्। दासको हत्या गरी शौचालयमा शव छाडेर कोठा बाहिर ढोकामा ताला लगाएर हत्यारा फरार भएको देखिन्छ। घटनाको विभिन्न कोणबाट अनुसन्धान थाली सकेका छौँ।’

शवलाई कोठामै राखिएको छ। मृतक दासका परिवारका सदस्य आइनपुगेकाले शव झिक्ने वा चलाउने काम भएको छैन। परिवारका सदस्य आएर शव त्यहाँबाट झिकेपछि मात्रै घटनाको थप विवरण आउने बताउँदै, डिएसपी दाहालले भने, ‘अहिलेसम्म हत्यामा संलग्नको पहिचान खुल्न सकेको छैन। अस्पताल प्रशासन, साथी लगायतसँग घटनाका विषयमा समन्वय भइरहेको छ। विस्तृत रुपमा शवलगायत कोठाभित्र हेरेपछि केही कुरा पक्कै बाहिर आउने र अनुसन्धानमा थप बल पुग्ने छ। घटनाको अनुसन्धान सुरु भइसकेको हुँदा घटनामा संलग्नको पहिचानको प्रयास भइरहेको हुँदा दोषी चाँडै पक्राउ पर्ने छ।’ शव घटनास्थलमै छ आफन्त आएपछि मात्रै पोस्टमार्टमका लागि पठाउने प्रहरीले जनाएको छ। 

प्रकाशित: २ चैत्र २०८० २०:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App