८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

जब हात्तीमार्गमा मुख्यमन्त्री लस्के!

हात्तीको परम्परागत जैविक मार्गको पुनःस्थापना तथा वासस्थानको संरक्षण एवं मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यका साथ कोसी प्रदेशले बुधबारबाट सुरु गरेको पदयात्रा कार्यक्रमा सहभागी मुख्यमन्त्री केदार कार्कीसहितको टोली तस्बिर: उपेन्द्र/नागरिक

कहिले हात्तीले मान्छेले लखेट्ने। कहिले मान्छेले हात्ती दपेट्ने। कहिले हात्तीले मान्छे मार्ने। कहिले मान्छेले हात्ती मार्ने। हात्ती र मान्छेबिचको दशक लामो द्वन्द्वले अन्ततः मित्रताको बाटोतर्फ मोडिँदैछ।

हात्तीको परम्परागत जैविक मार्गको पुनः स्थापना तथा बासस्थानको संरक्षण एवं मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यसाथ कोसी प्रदेशले बुधबारबाट सुरु गरेको पदयात्रा कार्यक्रमका सहभागीले हात्ती र मानिस दुवै सुरक्षित हुनु पर्ने सुनाए।

हात्ती हिँड्ने परम्परागत बाटोमा कोसीका फुर्तिला मुख्यमन्त्री केदार कार्कीको लस्काइले धेरैको ध्यान खिच्यो। संरक्षणमा सहअस्तित्व र हात्तीमैत्री पर्यापर्यटनको विकास गर्ने यस नौलो योजनाले स्थानीयको मन पनि जितेको छ।

‘सधैं हात्ती आउने बाटोमा मुख्यमन्त्री आउँदा खुसी लागेको छ,’ ६५ वर्षीया गंगामाया लिम्बूले भनिन्, ‘अब केही समाधान होला कि भन्ने आशा लागेको छ।’ लामो समयदेखि हात्तीको दुःख सहँदै आएकी उनले आफ्ना बालबच्चाले यही समस्या भोग्नुनपरोस् भन्ने चाहना राखिन्। ‘अन्न जोगाउँदा ज्यान जाने अवस्था छ,’ उनले भनिन्, ‘बडेमानको हात्तीसँग पौठाजोरी खेल्दैमा जीवन बितिसक्यो।’

कोसी प्रदेशका मुख्यमन्त्रीले जनताको समस्या आफूले बुझेको बताउँदै यसको दीर्घकालीन समाधानको पक्षमा लागेको सुनाए। ‘हात्तीको अस्तित्वलाई स्विकार्दै जनताको ज्यान जोगाउनु प्रमुख कर्तव्य हो,’ उनले भने, ‘यसको दिगो समाधान बुझ्न हात्ती हिँड्ने बाटोबाटै जनताको घरदैलो पुगेको हुँ।’

‘प्रदेशको यो अभियानलाई केन्द्र सरकारले पनि साथ दिनेछ,’ कार्यक्रममा सहभागिता जनाउन पुगेको संघीय वनमन्त्री वीरेन्द्र महतोले भने, ‘दशकौं लामो समस्याको समाधानका लागि मुख्यमन्त्रीले चालेको कदम स्वागतयोग्य छ।’

कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा. कृष्णप्रसाद ओलीले मानिस र हात्ती दुवैको सहअस्तित्वलाई स्वीकार गर्दै चालिएको यो कदम निकै प्रेरणादायक रहेको बताए। ‘जुधेर र हैन द्वन्द्व कम हुने गरी अगाडि बढ्नु पर्छ,’ उनले भने, ‘यसो गर्दा समग्रमा मानव समुदायको हित हुनेछ।’

कोसी प्रदेशमा हात्ती प्रभावित क्षेत्र बढ्दै गएपछि प्रदेश सरकारले नागरिकसँग सुझावका लागि बुधवारबाट एक साता लामो संवाद पदयात्रा सुरु गरेको हो। प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले एक सातासम्म हात्तीमैत्री पदयात्रामा सरिक भई हात्ती–मानव द्वन्द्वको निराकरणमा सर्वसाधारणको सुझाव लिनेछन्।

झापाको बाहुँनडाँगीदेखि सुरु भएको एक साता लामो यो यात्रा झन्डै २ सय किलोमिटर पार गरेर उदयपुर पुगेर टुंगिनेछ। यस क्रममा हात्ती कोरिडोर रुटको यात्राका क्रममा बासस्थान, प्रभावित क्षेत्रका नागरिकसँगको कुराकानी हुनेछ। पदयात्रामा सहभागी मुख्यमन्त्रीसहित विभागीय मन्त्री गणेश उप्रेती, मन्त्रालयका सचिवसहितका टोलीले प्रभावित क्षेत्रका नागरिकको गुनासो, सुझाव प्रत्यक्ष सुनेर आगामी योजना निर्माण गर्ने योजना छ।

सदियौंदेखि दक्षिण एसियाको नेपाल र भारतको आसाम तथा पश्चिम बंगाल क्षेत्रमा सयकडौँको संख्यामा एसियाली हात्तीहरूको प्राकृतिक वासस्थानमा विचरण गर्दै आएका छन्। यी हात्तीहरू बर्सेनि भारतको आसामबाट मेची नदी पार गरी झापा जिल्लाको बाहुनडाँगीबाट नेपाल प्रवेश गर्दै कोसी प्रदेशको झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाभर आवतजावत गर्ने गरेका छन्।

पछिल्लो पाँच दशकयता यी जिल्लाहरूमा जनसंख्या वृद्धि र मानवीय विकासको आवश्यकताको चाप सँगसँगै हात्तीको जैविक मार्गको संकुचन र प्राकृतिक वासस्थानको क्षयीकरण भएको छ। यसले गर्दा एकातिर हात्तीले मानवीय घर गोठ, खेतबारी तथा अन्नबाली विनाश गर्ने र मानवीय क्षति पु¥याउँदै आएको छ भने अर्कोतर्फ विभिन्न दुर्घटना, सिकार तथा प्रतिशोधजन्य कारणबाट बर्सेनि हात्तीको समेत मृत्यु हुने गरेको छ।

हात्ती र मान्छेबीचको द्वन्द्वले पछिल्लो एक वर्षमा मात्र ६ व्यक्ति र दुई हात्तीको मृत्यु भएको कोसी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्रालयले जनाएको छ। ‘पछिल्लो समयको घटनालाई अध्ययन गर्ने हो भने सरदर वार्षिक १ हात्ती र ६ व्यक्तिको मृत्युको तथ्यांक छ,’ प्रदेश मन्त्रालयका सचिव विशाल घिमिरे भन्छन्, ‘त्यसैले पनि यो पदयात्रा जरुरी थियो।’ पछिल्लो केही दशकयता हात्ती र मान्छेबीचका हजारौँ घटनामा दर्जनौँ हात्ती र मान्छेले ज्यान गुमाइसकेका छन्।

समस्या बल्झिँदै गएपछि झापाको पूर्वी दक्षिण कचनकवल, हल्दीवारी गापादेखि भद्रपुर नगरपालिका हुँदै उत्तर पूर्वको बाहुनडाँगी सम्मको १ सय ५२ किलोमिटर दुरीलाई हात्ती कोरिडोर रूपमा निर्माण घोषणा गरिएको थियो। त्यसअन्तर्गत केही कामसमेत सुरु भएको छ।

समस्या र सम्भावनाहरूलाई प्राथमिकतामा राख्दै हात्तीको जैविक मार्गको पुरस्थापना एवं वासस्थानको सुधार गरी जैविक विविधताको संरक्षण, प्रदेशमा मानव हात्ती सहअस्तित्व कायम गर्दै हात्तीको माध्यमबाट पर्यापर्यटनको थप विकास गर्न सकिने प्रदेश सरकारको बुझाइ छ।

पर्यटन प्रवर्धन र प्रकृति संरक्षणका लागि सुरु भएको यस ‘हात्तीमैत्री पदयात्रा २०८०’ कार्यक्रममा प्रदेशका सरकारी एवं गैरसरकारी निकाय, संरक्षणकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, हात्ती विज्ञ, नागरिक समाज एवं आम नागरिकहरूको सहभागिता छ।

प्रकाशित: ११ फाल्गुन २०८० १०:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App