मौसमी रोजगारको खोजीमा जुम्लीहरू कालापहाडतिर लस्कर लागिरहेका बेला भारत उत्तरप्रदेशको बलारामपुर, उत्रौलाका २८ वर्षीय रामकिसन बर्मा भने गत चैतमा काम खोज्दै जुम्ला आइपुगे।
हरेक वर्ष दसैंतिहार सकिनेबित्तिकै ताँती लागेर कालापहाड जाने जुम्लीहरूको चलनै जस्तो भइसक्यो। तर, यो चलनमा केही वर्षयता फरक दृश्य देखिन थालेको छ। रामकिसन अहिले जुम्ला सदरमुकाममा घर रंगरोगनको काम गरिरहेका छन्। उनले जुम्लामा सजिलै काम पाइने भन्दै खुसी सुनाए, ‘यहाँ थुप्रै काम पाइँदो रहेछ। कामको जहाँतहीं सम्भावना हुँदाहुँदै पनि कालापहाडमा जाने गरेको देख्दा चकित छु।’
सदरमुकाम खलंगामा डेरा लिएर बस्दै आएका रामकिसन अचेल घर रङरोगनको काममा व्यस्त छन्। नयाँ बनेका घरमा सजावटका सामग्रीहरू पुर्याइदिने र दक्ष कामदार खोज्ने काम पनि उनले गर्दै आएका छन्। रामकिसनले आफ्नो देश ठुलो भए पनि रोजगारी नपाइएको तर नेपाल सानो देश भए पनि काम नै काम पाइँदो रहेछ भनेर सुनाए।
उनले भने, ‘नेपालीहरू काम खोज्दै भारत गइरहेका छन् तर हामी भने काम खोज्दै नेपाल आइरहेका छौं।’
रामकिसनलाई कामको कुनै कमी छैन। घर रंग्याउने, बुट्टा भरिदिनेजस्ता काम गर्न उनलाई भ्याइनभ्याइ छ। अनि काम गरेअनुसार प्राप्त हुने कमाइबाट पनि उनी सन्तुष्ट नै छन्। दुई छोरा, एक छोरी र श्रीमतीलाई घरमै छोडेर आएका उनी अहिले मासिक एकदेखि डेढ लाख रूपैयाँसम्म घर पठाइरहेका छन्। रामकिसनले सुनाए, ‘गत वर्ष मात्रै जुम्लामा पाँच लाख रूपैयाँ कमाए।’
भारतको उत्तरप्रदेशका मोहमद आरिफ पनि तीन महिनादेखि जुम्लामै छन्। भारतमा काम नपाएपछि जुम्ला आएको उनले सुनाए। यतैको कमाइबाट भारतमा रहेका दुई छोराछोरी र श्रीमतीको खर्च धानिरहेको उनले बताए।
औसतमा मासिक ४० हजार रूपैयाँ कमाइरहेका मोहमद सरकारी कार्यालय, अस्पताल, व्यापारिक भवन, होटल तथा निजी घर सजाउने काम गर्छन्। उनको काम सदरमुकाममा मात्रै सीमित छैन। काम गर्दै उनी गाउँपालिकाका केन्द्रहरूमा समेत पुगिरहेका हुन्छन्। ‘कर्णालीमा रोजगारीको काम धेरै रै’छ,’ उनले भने, ‘तर पनि नेपालीहरू कालापहाड किन जान्छन्, बुझ्न सकेको छैन।’
रामकिसन र मोहमद प्रतिनिधि पात्र मात्र हुन्। उनीहरूजस्ता झन्डै पाँच सय बढी भारतीय कामदार अहिले जुम्लामा कार्यरत छन्। उनीहरू कपाल काट्नेदेखि कवाडीका सामान संकलन गर्ने, घर सजावट गर्ने र मिठाई पसल चलाउनेसम्मका काम गरिरहेका छन्।
कतिपय भारतीय कामदार भने सवारीसाधन मर्मत र सडक पिच गर्ने काममा पनि खटिएका देखिन्छन्। रामकिसनले आफ्नो टोलीमा पाँच जना भारतीय कामदार राखेका छन्। तीमध्ये कतिपय वायरिङको काम गर्छन्। कतिपय भने प्लम्बिङको काम गर्छन्। सबै जनाले औसतमा मासिक २५ हजार कमाइरहेको उनले बताए।
झन्डै एक दशकअघि कालापहाडमा काम गर्न पुगेका जुम्ला तिला–९ का बिर्खबहादुर बुढा लस्कर लागेर कामको खोजीमा भारत जाने क्रम पछिल्ला वर्षमा अलिक घट्न थालेको बताउँछन्।
‘पहिले कालापहाड नगए रोजीरोटी नै चल्दैन भन्ने भ्रम थियो,’ उनले भने, ‘अब काम गर्न सके रोजगारीको सम्भावना पनि जिल्लामै छ भन्ने धारणा बढ्दै गएको छ।’
पाँच वर्षयता बिर्खबहादुरलाई पनि कालापहाड धाउनु परेको छैन। उनी जिल्लामै गरा सुधारका काम गर्ने, घर बनाइदिने, सिँचाइ कुला बनाउनेदेखि गिट्टीबालुवा संकलन गर्नेजस्ता काम गरिरहेका छन्। उनले कालापहाडमा काम गर्दा भारु १० हजार रूपैयाँ कमाइ हुने बरु जिल्लाभित्रै काम गर्दा उस्तै परे एक लाख रूपैयाँसम्म कमाउन सकिने अनुभव सुनाए।
‘आफ्नो जिल्लामा काम गर्न लाज मान्ने चलनले आफैंलाई पछि पारेको अनुभूति भइरहेको छ,’ उनले भने।
भारतीयहरू मात्रै होइन, जुम्लामा सुर्खेत, नेपालगन्ज, बाँके, बर्दिया, सल्यान, जाजरकोटबाट पनि कामको खोजीमा आउनेहरू भेटिन्छन्। बर्सेनि कालापहाड गइरहने सुर्खेत दशरथपुरका उमेश बुढा यस पटक जुम्लामै डकर्मीको काम गरेर दुई महिनामा ५८ हजार रूपैयाँ कमाए।
‘कालापहाड त पुर्खाहरूको स्मरण गर्न मात्रै जानेजस्तो भइसक्यो,’ उनले भने, ‘काम गर्ने जाँगर र पाखुरा भए अहिले त कर्णालीमै काम फालाफाल छ।’
प्रकाशित: १६ माघ २०८० ०४:१५ मंगलबार