१६ चैत्र २०८० शुक्रबार
समाज

‘बोक्सी’ भनेको रिसमा ढुंगा प्रहार गरी हत्या

उदयपुर – ‘धमिनी’ भनेर गाउँघरमा चिनिने उदयपुरगढी गाउँपालिका ७ विरालीटारकी ३१ वर्षीया संगीता कार्की विरामीको झारफुक गरेर जिविकोपार्जन गर्ने पेशा गर्छिन्। मंगलबार यस्तै काम गर्दै उनी सदरमुकाम त्रियुगा नगरपालिका ७ चुहाडे चोक पुगिन्। दिन ढल्किसकेको हुनाले भोकले पनि च्यापेको भन्दै उनी आफुसँगै रहेकी गाउँकै ४५ वर्षीया बुद्धिमाया मगर खाजा खान भनेर चुहाडेस्थित एक होटल छिरे। 

दिनभरीको हिडाई र भोकले लखतरान भएका उनीहरु चुहाडे चोकस्थित मानबहादुर मगरको छाप्रो होटलमा खाजा खान पसे, अलिअलि ठर्रा (घरेलु मदिरा) पनि पिए। उनीहरु खाजा खाइरहेकै बेला छिमेकी वडा ८ का  ५१ वर्षीय शिव कार्की पनि सोही होटल छिरे। खेतमा धानको व्याडमा पानी लगाएर घर फर्कदै गरेका कार्की सो होटलमा बेलाबेलामा छिरेर खाजा नास्ता गर्ने गरेका थिए। कार्की र उनीहरुबीच चिनाजान भयो, गफ गर्दै सँगै बसेर खाजा खाए, मदिरा पिए। दिउँसो ३ः३० बजेदेखि होटल बसेका उनीहरु आधा घण्टासम्म मिठै कुरा गर्दै थिए, जव मदिराको प्रभाव बढ्दै गयो, उनीहरुको सौहाद्र्रता बिबादमा परिणत हुन पुग्योे। 

संयमित रुपले आफु धामी भएको परिचय दिएकी संगीतासँग शिवको सुरुमा मित्रवत कुराकानी हुँदै थियो। तर, केहीबेरमै ठूलो स्वरले चर्काचर्की चल्न थाल्नुमा मदिराकै प्रभाव प्रमुख कारण हुनसक्ने प्रत्यक्षदर्शी स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। ‘शिव जल’ चढाईसकेका शिवले संगीताको विरोध मात्र गरेनन्, आवेशमा आएर ‘धमिनी की बोक्सी के थाहा’ पनि भन्न भ्याए। बोक्सी आरोपले रीसको चुर भएकी संगीताले नजिकै ढुंगा टिपेर पछाडिबाट प्रहार गर्दा कार्की भक्लक्कै ढले। अघिल्लो राति ढुंगा प्रहारबाट कार्कीको मृत्यु घट्नाको सुरुवाती कथा यत्ति नै भएको प्रहरी बताउँछ। 

घट्नापछि कार्की अर्धमुर्छित भए, त्यत्तिकै बेला नेपालटार जाने अन्तिम बस गाईघाटदेखि चुहाडे आईपुग्यो। स्थानीयले कार्कीलाई उपचारार्थ अस्पटाल लान तयार गर्दैगर्दा संगीता र बुद्धिमाया बस चढेर गाउँ लागे। ढुंगा प्रहारले अत्याधिक रक्तश्राव भएका कार्की उपचारार्थ उदयपुर अस्पताल ल्याउदासम्म साँझ ७ः३० भईसकेको थियो भने उपचार थालेको १ घण्टा बित्दा उनको मृत्यु भईसकेको जिल्ला प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले बताएका छन्। समयमै उपचार गर्न सुविधासम्पन्न अस्पताल लगेको भए कार्की बाँच्न सक्ने अवस्था देखिएको बुधबार विहान घट्नास्थल पुगेर फर्केका इन्सपेक्टर श्रेष्ठ बताउँछन्। 

कार्कीको हत्या आरोपमा दुवै महिलालाई घरबाटै पक्राउ गरिएको छ। पक्राउमध्ये संगीता मुख्य अपराधी भएको मगरलाई भने सोधपुछका लागि मात्र नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले कार्कीको लास पोष्टमार्टमपछि आफन्तको जिम्मा लाईसकिएको छ। पक्राउ महिलाविरुद्ध मुद्धा दर्ता गरी थप अनुसन्धान थालिएको एसपी भट्टले बताएका छन्। 

प्रकाशित: २३ फाल्गुन २०७४ १४:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App