८ वैशाख २०८१ शनिबार
समाज

ईन्जिनियर नहुँदा दोस्रो किस्ता लिनबाट भूकम्प पीडित बञ्चित

खोटाङ– ईन्जिनियर अभावमा खोटाङका भूकम्प पीडित आवास निर्माण बापतको दोस्रो किस्ता लिनबाट बञ्चित भएका छन्। राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले पर्याप्त ईन्जिनियर नपठाउँदा पहिलो किस्ता लिएर आवास निर्माण सुरु गरेका भूकम्प पीडित दोश्रो किस्ता पाउनबाट बञ्चित भएका हुन्। प्राधिकरणले जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा पर्याप्त ईन्जिनियर नपठाउँदा तथा फिल्डमा खटिएका ईन्जिनियरलाई कम्प्यूटर ट्याव नदिँदा भूकम्प पीडितलाई दोस्रो किस्ता निकासा दिन समस्या परेको हो। पहिलो किस्तावापत ५० हजार बुझेका भूकम्प पीडितले सो बराबरको काम सम्पन्न गरे पनि ईन्जिनियर नहुँदा आवास निर्माणको प्राविधि मूल्यांकन गर्ने बिकल्प नहुँदा दोश्रो किस्ता निकासा दिन नसकिएको जिल्ला समन्वय समितिका आवास अनुदान फोकल पर्सन रबिकिरण आचार्यले बताए । ‘हामीसँग पैसा पछि, दोस्रो किस्ता निकासाका लागि आतुर छौँ,’ आवास अनुदान फोकल पर्सन आचार्यले भने, ‘तर, कतिपय पालिकामा ईन्जिनियर छैन, भएका ठाउँमा ईन्जिनियरलाई प्राधिकरणले ट्याव दिएको छैन।’

भूकम्प गएको लामो समयपछि खोटाङमा आवास निर्माण थालेको प्राधिकरणले बराहपोखरी गाउँपालिका र र ऐसेलुखर्क गाउँपालिकामा हालसम्म ईन्जिनियर पठाएको छैन । कतिपय पालिकामा ईन्जिनियर नपठाइएको तथा कतिपय पठाइएका ईन्जिनियर तत्कालै फर्कँदा भूकम्प पीडित मारमा परेका हुन् । भूकम्प पीडितले पहिलो किस्ताको काम पूरा गरे पनि ईन्जिनियर नहुँदा दोश्रो किस्ता दिन कठिनाइ भइरहेको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका वडाध्यक्ष किशोरकुमार बस्नेतले बताए । ‘पहिलो किस्ताको रकमले पीडितले डिपिसि गरिसकेका छन्, दोस्रो किस्ताका लागि फोन गरेर हैरान पारिरहेका छन्,’ बस्नेतले भने, ‘प्राविधिक मूल्यांकन नहुँदा भूकम्प पीडितलाई दोस्रो किस्ता कसरी दिने ? सिफारिस कसले दिने ? एकदमै समस्या आएको छ ।’ २०७२ साल जेठ १२ गतेको महाभूकम्प र पराकम्पनका कारण घर बिहिन बनेका भूकम्प पीडितले पहिलो किस्ता लिएर घर ठड्याउन थाले पनि दोश्रो किस्ता नपाउँदा आवास निर्माणका काम नै अलपत्र परेको छ । प्राधिकरणबाट ईन्जिनियर नआउँदा पहिलो किस्ताबाट निर्माण सुरु गरिएको घरको मूल्यांकन गर्ने र दोश्रो किस्ता दिने अवस्था बन्न नसकेको जिल्ला समन्वय समितिले जनाएको छ।

जिल्ला समन्वय समितिका आवास अनुदान फोकल पर्सन आचार्यका अनुशार विभिन्न प्राविधिक समस्याका कारण खोटाङका ८ हजार ४४३ लाभग्राहीमध्ये अझै ३८१ भूकम्प पिडित आवास अनुदान वापतको पहिलो किस्ता पाउनबाट बञ्चित छन् । बिदेशमा रहेका घरमुलीको नाममा आवास अनुदान सम्झौता गरेका, आवास अनुदान सम्झौतापछि बिदेसिएका, अनुदान सम्झौतापछि मृत्यु भएका, बुढेसकाल वा अपांगताका कारण सदरमुकाममा रहेको बैंकसम्म आउन नसक्ने लगायतका समस्याका कारण कतिपय भूकम्प पीडित परिवारले हालसम्म आवास अनुदानवापतको पहिलो किस्ता पाउन नसकेका हुन् । कुल लाभग्राहीमध्ये हालसम्म ८ हजार ६२ घर परिवारलाई प्रतिपरिवार ५० हजारका दरले ४० करोड ३१ लाख आवास अनुदान वितरण गरिसकिएको भए पनि विभिन्न प्राविधि समस्याका कारण बाँकी लाभग्राहीलाई अनुदान वितरण गर्न नसकिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चामलीङले बताए।

लाभग्राहीलाई पहिलो किस्तामा ५० हजार, डिपिसिको काम सकिएपछि दोश्रो किस्तामा १ लाख ५० हजार र छाना हाल्ने बेलामा तेश्रो किस्तावापत ७ ५ हजार तथा शौचालय निर्माणपछि २५ हजार रकम खातामा उपलव्ध गराइने जनाइएको छ । भूकम्पका कारण खोटाङमा १३ हजार ७९९ घरमा क्षती पुगेको तथ्यांक थियो । 

प्रकाशित: २२ फाल्गुन २०७४ १२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App