७ वैशाख २०८१ शुक्रबार
समाज

युवती हत्या आरोपित युवा थुनामा

पर्वत – आफ्नै प्रेमिकालाई हत्या गरेर कालीगण्डकी नदीमा बगाएको आरोपमा पक्राउ गरेका एक युवा पुर्पक्षका लागि थुनामा परेका छन्।

प्रेमिकालाई हत्या गरेको आरोपमा प्रहरी हिरासतमा रहेका पर्वतको बिहादी गाउँपालिका–२ बर्राचौरका २३ वर्षीय प्रदीप पराजुलीलाई अदालतले थुनामा राख्ने आदेश दिएको हो।

बागलुङ जैमिनी नगरपालिका–८ घर भएकी २२ वर्षीया कमला शर्मालाई उनैले लगाएको सलले घाँटी बाँधेर पराजुलीले कालीगण्डकी नदीमा बगाएका थिए। गत माघ ५ मा शर्मा र पराजुली पर्वत र गुल्मी जिल्लाको सिमानाकोे कालीगण्डकी पूर्तिघाट झोलुंगे पुलमा भेट भएका र युवतीले पराजुलीको सम्बन्धबाट आफू गर्भवती भएको भन्दै तत्काल विवाह गर्न अनुरोध गरेपछि पराजुलीले युवती शर्माको प्रस्तावलाई अस्वीकार गर्दै हत्या गरेको बयान दिएका थिए।

पराजुलीले परिवारसामु आफैँले हत्या गरेको बताएपछि परिवारले प्रहरीलाई बुझाएका थिए। प्रहरीसमक्ष समेत पराजुलीले आफैँले मारेको साविती बयान दिएपछि प्रहरीले पर्वत जिल्ला अदालतमा कर्तव्य ज्यानअन्तर्गत मुद्दा दायर गरेको थियो।

सोही मुद्दाउपर थप अनुसन्धानका लागि भन्दै पर्वत जिल्लाका जिल्ला न्यायाधीश धु्रवप्रसाद सापकोटाको इजलासले सोमबार पराजुलीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको हो।

उनी अहिले पर्वत जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा छन्। माघ ५ गतेदेखि युवती हराएपछि पीडित परिवारले करिब पाँच दिनपछि १० माघमा जिल्ला प्रहरी कार्यालय बागलुङमा खोजतलासका लागि उजुरी दिएका थिए।

जिल्ला प्रहरी कार्यालय, बागलुङसहित जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालय गुल्मी मातहतका प्रहरी एकाइबाट खोजतलास गर्दा उनको शव गुल्मीको कालीगण्डकी गाउँपालिका–४ घुमाउनेमा माघ १७ मा फेला परेको थियो।  (रासस)

प्रकाशित: २२ फाल्गुन २०७४ ०६:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App