७ वैशाख २०८१ शुक्रबार
समाज

हट्दैछ जातीय छुवाछुत, सम्बन्धमा छैन जातीय छेकबार

ब्रहम्पुरी गाउँकी देवकी ठाकुर र सोही गाउँकी मधु मलिक(डोम) टाँसिएर गफिँदै । तस्बिर : नागरिक

सिरहा – सिरहा ब्रहम्पुरीकी देवकी ठाकुर (७५) सँग सामाजिक छुवाछुतको सुन्दर र कुरुप दुबै अनुभूती छ। एक दशक अगाडि घरमा डाला (बाँसबाट बनेको सामग्री) बेच्न आएकि मधु मलिकको (डोम) छाँया टेक्दा छोइएको शरिर गंगाजलले पखाल्नु परेको असहज अनुभूती र अहिले उनै मधुको शरिर छोएर गफिँदाको सहज अनुभूती सँगालेकी छिन देवकीले। 

मधु र देबकीको घर दुरीको हिसावले टाढा भएपनि सम्बन्ध भने गाढा छ। अक्षरसँग साक्षात्कार नभएकि देबकी भन्छिन, ‘मधुको रगतको रंग फरक छैन भने उनीसँग गर्ने ब्यवहारमा किन विभेद गर्नु। मधुले बनाएको ढाला, चंगेरामा प्रसाद राखेर देउतालाई चढाउँदा नछुइने तर उनको शरिर छुँदा छोईने। देवकीको बुझाईमा संसारमा दुई जात मात्र छन्, महिला र परुष। उनले थपिन, ‘यो कुरा कसैले छिटो बुझ्छ, कसैले ढिलो।’

पहिला डोमको छाँयासँग पनि छुवाछुत मान्ने समाजको सोच परिवर्तण हुँदै गएको छ। समयसँगै डोमजातीको पनि रहनसहन, जीवनशैली फेरिँदै गएको छ। पहिला हाम्रो छाँया पनि नटेक्नेहरु अहिले हामीसँग समाजका अन्य जातीजस्तै टाँसिएर गफ गर्छन, मधुले भनिन्। पहिला बाँसका सामान बेच्न जाँदा उप्पलो जातका मान्छेको आँगनमा समेत प्रवेश बर्जित थियो। अहिले घरभित्रैसम्म प्रवेश गर्न सहज भएको मधुको भनाई छ। ‘सदियौँदेखिको प्रथा तुरुन्तै बदलिँदैन उनी भन्छिन्,‘परम्परा र प्रथा बदलिन समय त लागिहाल्छ।’ ‘सबै जाती बस्ने समाजमा हामीले पनि आफ्नो जिवनशैली  समाज अनुकुल ढाल्न सक्नुपर्छ’ उनले भनिन,‘सरसफाईमा सजग बन्ने हो भने समुदायमा घुलमिल भएर बस्न अप्ठ्यारो छैन।’

सिरहा खरुकियाहिकी प्रतिमा मलिक(डोम) को घरमा अन्य जातीका महिलाहरु झुम्मिन्छन्। उनीसँगै बसेर दुःख सुख गफिन्छन्। प्रतिमाले भनिन्,‘गाउँका प्राय सबै महिलाहरु घरमा आएर मसँग टासिँएरै गफ गर्छन्।’ न मलाई डोम भएको महसुस हुन्छ न अन्य जातीका महिलालाई मैले डोमसँग कुरा गरिरहेको छु भन्ने अनुभूती हुन्छ, उनले भनिन्। 

माटोको भित्ता र फुसको छानोले छाएको प्रतिमा घर लिपपोत गरेर चिटिक देखिन्छ। उनको घर टासिएरै अर्को जातीको घरहरु लहरै छ। समाजमासंगै बस्ने माहोलको पछाडी सरसफाईलाई कारण मान्छिन् प्रमिला। घरको सफाई र आफ्नो जिवनशैलीमा ल्याएको परिवर्तणले सबै जात जातिका मान्छेसँगै मिलेर बस्ने वातावरण बनेको उनी बताउँछिन्। 

बस्ने घर भन्दा टाढा सँुगुर पाल्ने, घरआँगन र शरिर सफा राख्नेजस्ता जीवनशैली अपनाएपछि समाजका सबैले हामीसँग सहज व्यवहार गर्न थालेको खरुकियाहीकी सरिता कुमारी मलिकले भनिन्। हामीसँग होईनकी ‘फोहोर’ सँग समाजले छुवाछुत मानेको रहेछ उनले भनिन्,‘पहिला छुवाछुत मान्ने अहिले जिउ छोएर कुरा गर्छन्।’ व्यतmीसँग छुवाछुत गरेको भए अहिलेपनि हाम्रो जिउसँग छुवाछुत मानिएको हुन्थ्यो, उनले भनिन्।

जनता आधारभूत विद्यालय सिसवा खरुकियाहीका प्रधानाध्यापक गौरीनारायण यादवका अनुसार समाजमा जात जातीको आधारमा विभेद वा छुवाछुत छैन्। यहाँ डोम समुदायले पनि आफ्नो जीवनशैली बदलेको छ, समाजले पनि आफ्नो मान्यतालाई फेरेको छ उनले भने, ‘यो समाज जातीय अन्तरघुलनको अनुपम नमुना हो।’ 

विद्यालयमा डोम र यादवलगायत अन्य थुप्रै जातीका वालवालिका एउटै डेस्कबेन्चमा बसेर पढ्छन्। खाजा पनि एकै लहरमा बसेर खान्छन्। अझ रोचक खाजा कार्यक्रमको सदस्यमा समेत यहाँ डोम जातीको सहभागिता छ। प्रमिला मलिक पनि कार्यक्रमकी सदस्य हुन्। 

विद्यालयमा कक्षा २ मा अध्यनरत्त किरण मलिक अन्य जातीका वालवालिकासँगै एउटै बेन्चमा बसेर पढ्छिन्। आफूसँग टाँसिएरै अरु जातीका वालवालिकाहरु पनि बेन्चमा बस्ने गरेको उनले भनिन्। 

सप्तरी शम्भुनाथ माईती भएकी प्रमिलालाई विवाह भएको उमेर थहा छैन्। आफू बच्चै छँदा विवाह भएकोले स्मरण नभएको उनले बताइन्। सानोमा बासका सामाग्री बेच्न जाँदा उपल्ला जातका मान्छेको आगनमा आफुहरुको छायासम्म पर्न नहुने समय रहेको उनीसँग तितो अनुभव छ। 

पहिला जिविको पार्जनका लागि सुँगुर पाल्ने र बाँसका सामग्री बेच्ने मात्र थियो। पछिल्लो समय आफ्नो समुदायका मान्छेहरु पनि बैदेशिक रोजगारका लागि जान थालेपछि जीवन गजाराको विकल्प बैदेशिक रोजगार बन्न पुगेको उनले बताइन्। प्रमिलाका पत्ती दिनेश रोजगारका लागि कत्तारमा छन्। देवर उमेश भारतमा छन्। उनी गाउँमा सामाजिक अभियानहरुमा सहभागी हुन्छिन्। नागरिक वडा मञ्चमा पनि उनी सदस्य रहिसकेकी बताउँछिन्।

डोम (मलिक) दलित जातिमा पर्छ र यो अन्त्यन्तै पिछडिएको समुदाय हो। सर्लाही, धनुषा, सप्तरी, सिरहा, सुनसरी, मोरङ, महोत्तरी, सर्लाही, वारा, पर्षा, रौतहट, लगायतका जिल्लामा यो समुदायको बाक्लो बसोबास छ।

प्रकाशित: १९ फाल्गुन २०७४ १४:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App