८ वैशाख २०८१ शनिबार
समाज

कर्णाली प्रदेशमा कम्युनिटी साइरन जडान सुरु

कम्युनिटी साइरनको उद्घाटन गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी। नगेन्द्र उपाध्याय

सुर्खेत- प्रदेश सरकारले समुदायमा ‘कम्युनिटी साइरन’ जडान सुरु गरेको छ। समुदायमा हुने अपराध न्यूनिकरण गर्ने उद्देश्यले शुक्रबारदेखि कर्णाली प्रदेशमा साइरन जडान सुरु गरिएको हो। सरकारले कर्णालीलाई डिजिटल प्रदेश बनाउने घोषणा गरे अनुसार पहिलो चरणमा टोलटोलमा साइरन जडानको काम सुरु गरेको जनाएको छ।

‘जिडिटल प्रदेशको अवधारणा अनुसार पहिलो चरणमा प्रदेश राजधानी वीरेन्द्रनगरबाट कम्युनिटी साइरन जडानको सुरुवात गरेका छौं’ आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले भने, ‘यसलाई प्रदेशका सबै ठाउँ र टोलटोलमा पुर्याउँछौं।’

उनले प्रदेशको राजधानी वीरेन्द्रनगरलाई पहिलो प्राथमिकतामा राखेर काम सुरु गरिएको बताए । ‘सबैभन्दा पहिले प्रदेशको राजधानी वीरेन्द्रनगर सुरक्षित हुन जरुरी छ’ मन्त्री भण्डारीले भने, ‘विस्तारै १० वटै जिल्लाका सबै ठाउँ र टोलमा जडान गछौं ।’ वीरेन्द्रनगर–६ स्थित प्रगति टोल विकास संस्थामा जडान गरिएको साइरनले सो क्षेत्रमा हुने चोरी, डकैती, लुटपाट र अन्य अपराध नियन्त्रण हुने उनले बताए ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले नगरका सबै टोलमा कम्युनिटी साइरन जडान सुरु गरिएको बताए । ‘प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगरलाई अपराधमुक्त बनाउने अभियान अन्तर्गत प्रदेश सरकारसँगको सहकार्यमा कम्युनिटी साइरन जडान सुरु गरिएको छ’ उनले भने, ‘यसले स्थानीय समुदायलाई मात्रै होइन्, समग्र प्रदेशलाई पनि सुरक्षाको अनुभूति दिन्छ।’

टेक्नोलोजी सेल्स प्रालिले उपलब्ध गराएको उक्त साइरन समुदायका ६० जनाले कोर्ड नम्वर र प्रहरी कन्ट्रोलसहित ६ जनाले एसएमएस मार्फत प्रयोग गर्न पाउँछन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रणबहादुर चन्दले अपराध नियन्त्रणका साथै प्राकृतिक प्रकोपका बेला साइरनले महत्वपूर्ण काम गर्ने बताए। ‘आफूसँग भएको मोवाइलको सहायताले समुदाय र प्रहरीलाई जानकारी गराउन यो प्रविधि महत्वपूर्ण छ’ एआइजी चन्दले भने, ‘यसले अपराध नियन्त्रण मात्रै होइन्, प्राकृतिक प्रकोप र विपत्तीमा पनि सहयोग गर्छ।’

साइरनको प्रयोग समुदायका लागि भएकाले यसको खर्च पनि टोल विकास संस्थाले व्यहोर्ने छ । नगरपालिकाका सामाजिक परिचालक रेखा केसीले टोली विकास संस्थामा आवद्ध सदस्यहरुले सडक उठाएर साइरन जडान गरिएको बताइन् । ‘साइरन खरिद, जडान, मर्मत र वार्षिक शुल्क सबै समुदायले व्यहोर्ने छ’ उनले भनिन्, ‘प्रदेश सरकार, स्थानीय सरकार र प्रहरीले सहजिकरण मात्रै गर्ने हो ।’

सवारी साधनमा जिपिएस जडान

सरकारले कर्णाली प्रदेशबाट सञ्चालन हुने सबै सार्वनजिक तथा निजी सवारी साधानमा जीपीएस ट्रयाकर जडान गर्न थालेको छ। सवारी साधनको निगरानी गर्नका लागि यो प्रविधि जडान गर्न सुरु गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

परीक्षणका रुपमा पहिलो चरणमा एक निजीसहित पाँच वटा सवारी साधनमा जीपीएस सडान गरिएको छ। ‘समृद्धिका लागि शान्ति सुरक्षा रणनीति अनुसार सवारी साधनमा जीपीएस जडानको काम सुरु गरिएको हो’ मन्त्री आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले भने, ‘केही महिनाभित्रै सबै सवारी साधनमा जीपीएस जडान गछौं ।’ जीपीएस ट्रयाकर जडान गरिएको सवारी साधन कहाँ गुडिरहेको छ भन्ने जानकारी प्रदेश प्रहरी कार्यालयको कन्ट्रोल रुपले राख्ने छ ।

 

 

प्रकाशित: १८ फाल्गुन २०७४ १३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App