२८ श्रावण २०७७ बुधबार
समाज

त्यो फागु, यो होली (फोटो फिचर)

पाल्पा – कठ्याङ्ग्रिँदो जाडो सकिएर न्यानो बढ्न थालेको छ। अबका केही महिना बाक्लो कपडा लगाउने झन्झट हटेकाले सबैलाई राहत महसुस भएको छ। शिशिर याम भएकोले डाँडापाखा केही फुस्रा देखिएका छन्, तर सिङ्गो प्रकृतिलाई रङमय बनाउने फागु पर्वले सबको मुहारमा रौनक छाएको छ। 

‘गेडुले बेडुले...। सबै भन्न मिल्दैन’ रिब्दीकोट गाउँपालिका–४ का धर्मराज खनालले होली पर्वका पुराना गीत गाउँदै गर्दा भन्दै थिए। सबै भन्न मिल्ने गीत हुन्थेन। पहिले अश्लील गरे भनेपछि फागु खेले भनिन्थ्यो। वसन्त ऋतुको आगमनसँगै केही फुर्सदिला हुने गर्दथे। तर तत्कालीन समयमा मनोरञ्जनको साधन कम भएकाले सुन्दरी युवतीको खोजमा निस्कने परम्पराको विकाससँगै फागुमा बढी यौनरसयुक्त संगीत गुञ्जने गरेको थियो, खनालले भने। 

‘भाई राम लक्ष्मन कहाँ गयौ, कठै राम लक्ष्मन कहाँ गयौं, पिता ज्यूका हुकुमले रामलाई बनिबास, चौध वर्ष बनबास चलिगए राम, अघिअघि रामसिता पछि लक्ष्मन भाई, बनबासको बिलाम भनिसक्नु छैन हे भगवान,’ खनालले लयमा फागु गीत गाए। अहिले यसरी होली गाउने चलन छ। त्यही पनि लोप हुन लागिसक्यो। खस्यौली र खँदुले लड्ने चलन पनि थियो। परिमार्जन भएर केही सभ्य हुँदैछन्। चरित्र सम्बन्धि गीतहरु कृष्ण, रामायण, बोलीचन्द्र राजा, पाल्पाली इतिहासका गीतहरु गाईन्छन्। यहाँ २५/३० वटा समूहहरु हुन्थे। अहिले मानिसहरु बसाईसराई भएर फागुको चलन कम भएको छ। 

‘देवकी रानीलाई, पहिलामा गरिब कंशासुरले ह-र्यो, दोश्रोमा गरिब कंशासुरले हर्यो, रामरसी मुरली कसले बजायो। हामी यस्तै गीत गाउँछम्,’ भैरवस्थानका गंगाबहादुर थापाले भने। गीत गाउँदै नाच्दै मन्दिरमा गएर दर्शन गरि ढोलक ट्ङ्काका ध्वजा चढाएर होली अत्य गर्छौं। पहिले पैसा पनि उठाउने भोज खाने। भाँडा किन्ने पहिले गथ्र्यौं। हराउँदै गएको होलीमा अहिले पूनः अघिल्लो दिन चिर पोलेर सुरु गरेका छौं। ढेकरडाँडा, रानीढाँटी, मसुरे, देउराली, ख्याहा, डुम्रीपोखरा, हार्थोक लगायतमा अहिले होली खेलिएको छ। 

फागुन शुक्ल पूर्णिमा दिन एकआपसमा रंग दलेर, आपसका वैरभाव बिर्सेर खुशी साटासाट गर्दै मनाइने पर्व हो। पहाडी जिल्ला पाल्पामा बिहीबार र शुक्रबार दुवै दिन फागु अर्थात् होली मनाईएको छ। फागुपर्वलाई विशेषगरी यौनरस युक्त र महिलालाई लक्षित गरी गीत गाउने तथा व्यङ्ग्य गर्ने चाडका रुपमा बेग्लै रौनक र तरिकाले मनाइने गरिन्छ। जिल्लाको भैरवस्थानमा गाउँगाउँबाट परम्परागत बाजा, ढोलक, मजुरा बजाउँदैं गीत संगीतसहित महिला–पुरुष एकअर्कालाई जिस्काउँदै नाचगानसहित फागु पर्व मनाएका छन्। वसन्त ऋतुको आगमनसँगै बोटबिरुवामा पालुवा पलाउने र जताततै हरियाली देखिन थाल्ने तथा फूलहरु फुल्न थालेसँगै मानिसको मन मस्तिष्क समेतमा एक खालको तरंग पैदा गर्ने भएकाले चञ्चल मन यौनतर्फ आकर्षित हुने संस्कृतिविद्हरुको भनाइ रहेको छ।

फागुलाई नितान्त सांस्कृतिक, विशुद्ध मनोरञ्जनपूर्ण र जीवन्त संस्कृतिका रुपमा लिनु पर्ने कतिपयको बुझाई छ। युगौँदेखि मनाइँदै आएको हर्ष र उल्लासको पर्व फागुलाई अहिलेका युवापुस्ताले पर्वको महत्व बुझ्न नसक्दा समाजमा फागु पर्व सामाजिक विकृतिका रुपमा देखिन थालेको छ। उमेर, लिंग र नाता सम्बन्धमा कुनै बाधा अड्चन नराखी रंगी–विरंगी रंग एकआपसमा लगाएर वातावरणलाई नै रंगमय बनाई बडो हर्सोल्लासका साथ मनाइने फागु पर्वलाई युवापिँढीले गर्ने उच्छृंखल क्रियाकलापका कारण यो पर्व त्रासको पर्वका रुपमा परिणत भएको छ। मदिरा सेवन गरेर छाडा शब्द प्रयोग गर्ने, जबर्जस्ती अरूलाई अबिर दल्ने र लोला हान्ने प्रवृत्तिले फागु त्रासको पर्वका रुपमा विकास भएको छ। 

हरेक वर्ष फागुन शुक्ल अष्टमीको दिनदेखि फागु पर्व अर्थात होली सुरु हुन्छ। होली कसरी सुरु भयो भन्ने सन्दर्भमा छुट्टा छुट्टै मान्यता रहेका छन्। किंवदन्ति अनुसार हिरन्यकसिपुले आफ्ना छोरा भक्त प्रह्लादलाई मार्नका लागि बहिनी होलिकाको काखमा छोरालाई राखिदिएका थिए। आगोमा नजल्ने वरदान पाएकी होलिका पनि आगोमा जलिन् तर प्रह्लाद भने नजलेकाले होलिका जलेको खुसीयालीमा होली मनाइन्छ। यस्तै किंवदन्तिमा भगवान श्रीकृष्णले गोपिनीहरुले खुला ठाउँमा निर्वस्त्र नुहाएपछि गोपिनीलाई पाठ सिकाउनको लागि लुगा लुकाएका थिए र त्यसपछि नै होली पर्व सुरु भएको भनाई पनि रहेको छ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व उत्ताउलो रुपमा रुपमामात्र नभई पछिल्लो समय सभ्य बन्न थालेको छ। पहिले महिलाको रत्यौली पर्व जस्तै हुन्थो होली, खनालले भने। सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम बन्द भएको छ। भैरव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारीले फागु लोप हुन थालेपछि युवाहरु र बुढापाकाहरु मिलेर यसलाई जोगाउन थालिएको बताए। उनी भन्छन्, ‘युवापुस्ता मात्र होइन, बालकदेखि वृद्धसम्म सबैलाई एकपटक खुलेर रमाउने अवसर दिएको छ। यो पर्वले एकअर्काप्रति रहेको पुरानो रिसराग, द्वेष र घमण्ड हटाएर गरी आपसी प्रेम र हार्दिकता बढाउन सघाउँछ।’ आपसी मेलमिलाप, स्नेह, सद्भाव र सामाजिक एकताको सन्देश दिने होली हिन्दुमात्र होईन सबै धर्माबलम्बिहरुको पर्व बनेको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App