coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

किन घटेन बलात्कार ?

काठमाडौं – गत माघ ७ गते दरबारमार्गको ल्यान्डमार्ग होटेलमा २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार भयो । घटना काे लेनदेनकाे मिलेमताेमा स‌लग्न प्रहरी नायब उपरीक्षक तिलक भारती, प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी, प्रहरी नायब निरीक्षक चन्द्रबहादुर भण्डारी, विकास गौतम, शैलेश कार्की, दीपक श्रेष्ठ र रवि पौडेललार्इ प्रहरी पक्राउ गरेकाे थियाे।

मुस्ताङ घोरपझोङका ३१ वर्षीय सुनबहादुर विक माघ अन्तिम साता ७० वर्षीया वृद्धालाई बलात्कार गरेको अभियोगमा पक्राउ परे । माघ अन्तिम साता नै बलात्कारको आरोपमा सर्लाही बरहथवा घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–५ सिर्जनानगर डेरामा बस्ने अमिर पण्डितलाई प्रहरीले पक्राउ गरेको थियो । सोही दिन सर्लाहीकै सन्दीप राय बलात्कार आरोपमा प्रक्राउ परेका थिए । दुवैमाथि १५ र १२ वर्षीया बालिकालाई बलात्कार आरोप लागेको थियो । त्यसै दिन बालिका बलात्कार गरेको आरोपमा खोटाङ दिप्रुङका नवीन राई सुनसरीमा पक्राउ परे।  

अभिभावकले बालबालिकाको यौन जिज्ञासालाई छलफलको विषय नबनाउनु, विद्यालयमा यौनशिक्षाको कमी हुनु, यौनलाई पुरुषत्वसँग गाँसेर हेर्नु जस्ता कारण बलात्कारका घटनामा कमी आउन सकेको छैन।

यीबाहेक देशभरमा दैनिक कतै सामूहिक त कतै एकल रुपमा महिलामाथि बलात्कार भएका समाचार आउने गर्छन् । प्रहरीको तथ्यांकअनुसार पाँच वर्ष अवधिमा ४ हजार ६ सय ५० वटा बलात्कारका घटना दर्ता भएका छन् । चालू आर्थिक वर्षको ६ महिनामा पाँच सय २९ वटा यस्ता उजुरी दर्ता भएका छन्। 

पाँच वर्षअघि ९ सय १२ वटा बलात्कारका घटना भएकामा गत आर्थिक वर्षमा यो संख्या  १२ सयभन्दा बढी पुगेको प्रहरी तथ्यांक छ । प्रहरी प्रवक्ता मनोज न्यौपाने भन्छन्, ‘समाजमा अपराधका घटना बढ्दै गएको छ, बलात्कारजन्य अपराध पनि घटेको छैन ।’ प्रहरीका अनुसार बलात्कृत हुनेमा १० वर्षमुनिका बालिका धेरै छन् । त्यसपछि १६ वर्षमुनिका छन्। 

बलात्कृत बालिका तथा महिलाका क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था रक्षा नेपालको अध्ययनमा पनि पछिल्लो समय बलात्कारका घटना बढेका छन् । बलात्कृत हुनेमा सबैभन्दा बढी दलित समुदायका बालिका छन् । त्यसपछि जनजाति समुदायका बालिका छन् । रक्षा नेपालले उद्धार गरेका ५५ जना बालिकामध्ये ३० जना दलित समुदायका बालिका छन् ।  बाँकी जनजाति र अन्य समुदायका छन् । 

बलात्कारका घटनामा माथिल्लो जातका भनिएका, सजिलै पैसा खर्च गर्न सक्ने, बहुविवाह गरेका, ठेकेदारहरु संलग्न हुने गरेको पाइएको रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले बताइन् । उनले भनिन्, ‘सजिलो बाटोबाट कमाइ गर्नेहरु यस्ता घटनामा संलग्न भएको देखिन्छ ।’ 

प्रहरीका अनुसार महिला सशक्तीकरणसँगै बलात्कारका घटना समाजभित्र लुक्न छोडेको छ । यसैले उजुरी गर्नेको संख्या पनि बढेको हो । प्रहरी प्रवक्ता न्यौपाने भन्छन्, ‘पहिलाजस्तो बलात्कारका घटना समाजभित्र लुक्न छाडेका छन् । प्रहरीले पनि बलात्कारलाई निरुत्साहित गरेको छ । मानिसमा नैतिकता घटेका कारण बलात्कारका घटना निर्मूल हुन नसकेको हो ।’ सुरक्षित अभिभावकत्व नपाउँदा पनि बालिका बलात्कृत भएको प्रवक्ता न्यौपानेको विश्लेषण छ । 

रक्षा नेपालकी अध्यक्ष थापा भने विद्यमान कानुन कार्यान्वयनमा कमजोरी हुनु, दोषीमाथि उचित दण्ड नदिनु  र प्रहरीको  सहयोगी भूमिका नहुनुले बलात्कारमा संलग्न व्यक्तिहरुले उन्मुक्ति पाउने गरेको दाबी गर्छिन् । उनी भन्छिन्, ‘दस वर्षमुनिका बालिकाले अदालतमा कस्तो बयान दिन सक्छन् र अपराध साबित हुन्छ ?’ 

वरिष्ठ मनोविद् करुणा कुँवरका अनुसार समाजमा हिंसाका स्वरुप बदलिँदै गएका छन् । समाजमा तीव्र यौनेच्छाका कारण बलात्कार हुन्छ भन्ने मान्यता कायम रहे पनि यसपछाडि मानसिक स्वास्थ्य प्रमुख कारक रहेको देखिन्छ । कुँवर भन्छिन्, ‘आफ्नै जीवनकालमा आमा या अन्य महिला पात्रबाट यातना पाएका, महिलामाथि हिंसा या घृणित संस्कार देखेका बालकमा महिलाप्रति बदलाको भावना लुकेको हुन्छ ।’ उनका अनुसार यही मानसिकताका कारण पुरुष कुनै अवसर मिलेमा बालिका, युवती या वृद्धामाथि बलात्कार गर्न पुग्छन् । उनी भन्छिन्, ‘तीव्र यौनेइच्छाका कारण नभई रिस र बदलाको भावनाले पुरुषहरु बलात्कारमा संलग्न भएका हुन्छन्।’ 

परिवारमा उचित अभिभावकत्व नपाएका, आमाले छाडेर गएका, महिला पात्रबाट कुनै न कुनै रुपमा हिंसामा परेका पुरुषमा विकसित नकरात्मक भावनाकै कारण उनीहरु बलात्कारमा संलग्न हुन्छन् ।  यस्तो अवस्थाका पुरुषले आफ्नो नजरमा कमजोर या सजिलो लागेका जुनसुकै  महिलालाई बलात्कार गर्न पुग्छन् । त्यही कारण  बालिका, एकान्तमा हिँडेका युवती र अशक्त महिला बलात्कृत हुन पुग्छन्। 

अर्धचेतन मनमा लुकेको रिसका कारणले पीडकले कतिपय अवस्थामा बलात्कारपछि पीडितको हत्या प्रयास गरेको देखिन्छ ।  कुँवर भन्छिन्, ‘नेपाली समाजमा महिलामाथि हुने हिंसा र घृणाको उपज नै पुरुषमा आपराधिक मानसिकता कायम रहेको हुन्छ ।’ बलात्कारजन्य अपराधका घटना निर्मूल गर्न परिवारमा महिलाको सम्मान हुनुपर्ने, बालबालिकालाई उचित अभिभावकत्व दिनुपर्ने सुझाव कुँवरको छ । उनी भन्छिन्, ‘पहिला महिला र पुरुषमाथि समान व्यवहार हुनुपर्छ । पीडकलाई पुनः अपराध दोह¥याउन नदिन उचित परामर्श र उपचार गर्नुपर्छ ।’  

समाजशास्त्री पूनम पन्तका अनुसार नेपाली समाजमा भइरहेको गलत सामाजिक गतिविधिका कारण बालिकामाथि बलात्कारका घटना बढ्दै गएको छ । बालबालिकाको यौन जिज्ञासालाई अभिभावकले छलफलको विषय नबनाउनु, विद्यालयमा यौनशिक्षाको कमी हुनु, पुरुषमा यौनलाई पुरुषत्वसँग गाँसेर हेर्नु जस्ता कारण बलात्कारका घटनामा कमी आउन नसकेको उनी बताउँछिन् । इन्टरनेटको गलत प्रयोग गर्ने र यसमा अभिभावकको ध्यान जान नसक्नुले पनि बलात्कारका घटना बढाइरहेका छन् । ‘बाल्यकालमा इन्टरनेटमा हेरेका यौन विषयलाई पूरा गर्ने मानसिकताले पनि बलात्कारमा संलग्न भएको देखिन्छ,’ पन्तले भनिन्। 

बलात्कारका घटना निर्मूल पार्न महिलालाई आत्मरक्षाको तालिम दिनुपर्ने, पीडकलाई कडा सजाय हुनुपर्ने र पुरुषमा बलात्कार गलत काम हो भन्ने सचेतना दिनुपर्ने पन्तको सुझाव छ । 

कानुनी व्यवस्था 

वरिष्ठ अधिवक्ता पदम रोक्काका अनुसार नेपालले समयसापेक्ष बलात्कारको सजायमा परिवर्तन गर्दै गएको छ । अपांगता भएका, बालिका, वृद्धा, युवा उमेर समूहका महिलामाथि बलात्कार भएमा सजायका प्रकृति भिन्नभिन्न रहेको कानुनी व्यवस्था छ । मुलुकी ऐनको जबरजस्ती करणी महलमा एकल बलात्कार, सामूहिक बलात्कार र उमेरगत समूहका आधारमा भिन्नभिन्न सजाय हुने व्यवस्था छ । 

रोक्का भन्छन्, ‘पहिलाको कानुनी व्यवस्थाले पूरै बलात्कार भएपछि मात्र बलात्कारको ठहर गथ्र्यो । अहिले बलात्कारको प्रयास गरेको अवस्थालाई पनि बलात्कार मान्ने प्रावधान छ ।’ विद्यमान कानुनले बलात्कारको मुद्दालाई कडा बनाउँदै लगेको छ। 

कानुनले १० वर्षमुनिका बालिका, ६० वर्षमाथिका वृद्धा, पूर्ण अपांगता भएका, बौद्धिक अपांगता भएका महिलामाथि बलात्कार भएमा दोब्बर सजायको व्यवस्था छ । मुलुकी ऐनको जबरजस्ती करणी महलको ३ नम्बरमा बलात्कार गरेको पुष्टि भएमा पीडकलाई अधिकतम १५ वर्ष जेल र मनासिब क्षतिपूर्तिको व्यवस्था छ। 

प्रकाशित: १८ फाल्गुन २०७४ ०३:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App