१६ चैत्र २०८० शुक्रबार
समाज

रिपब्लिक मिडियाको अन्तरक्रियाः ‘प्रदेश २ मा समृद्धि सम्भव छ’

वीरगन्ज – निजी क्षेत्रका अगुवा तथा नागरिकहरुले प्रदेश नम्बर २ मा रहेका केही चुनौतीलाई ब्यवस्थापन गर्नसके समृद्धि सम्भव रहेको बताएका छन्। नेपाल रिपब्लिक मिडियाले बुधवार वीरगन्जमा आयोजना गरेको ‘प्रदेश २ का सम्भावना’ बिषयक अन्तरक्रियामा बोल्दै उनीहरुले २ नम्वर प्रदेशले थुप्र सम्भावना बोकेकाले समृद्धि सम्भव रहेको बताएका हुन्। 

वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले उद्योग, कृषि पर्यटन र सेवा क्षेत्रलाई विकास गरी २ नम्वर प्रदेशलाई मुलुककै समृद्ध प्रदेश बनाउन सकिने बताए। वीरगन्ज ब्यापारिक नगरी तथा आर्थिक नाका भएकाले राज्यले केही योजना बाध्य भएर दिएको बताउँदै अब देश संघीय संरचनामा गइसकेकाले प्रदेश सरकारले यस ठाउँको विकासमा ध्यान पुर्याउनु पर्ने धारणा राखे।

उद्योगी निम्बस समूहका अध्यक्ष जगदीश अग्रवालले ‘षट्कोणीय विकास नीति’ प्रदेश सरकारले अपनाउनु पर्ने बताए। उद्योग, कृषि र पर्यटन तथा पर्यावरण, शिक्षा र स्वास्थ्य गरी ६ वटा क्षेत्रलाई प्राथमिकतामा राखेर नीति लागु गर्दा सन्तुलित रुपमा आर्थिक र समाजिक विकास हुने उनको धारणा छ। परम्परागत आर्थिक प्रणाालीले मात्र देश र प्रदेश दुबै धान्न नसकिने उनको ठहर छ। संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारबीच कर सम्बन्धी क्षेत्राधिकार र नियमन लगायत अन्य अधिकारका कुरामा रहेको अस्पस्टता हटाएर जानु पर्ने धारणा उनले राखे।

वीरगञ्ज उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष अशोक बैधले पनि तिनै तहका सरकारबीच अधिकारको बिभाजन र नीतिगत समन्वय हुनुपर्ने तर्क गरे। भारतसंग जोडेर रामायण सर्किट र बुद्ध सर्किट बनाउनु पर्ने बैधको राय छ। नेपाल उद्योग बाणिज्य महासंघका सदस्य गणेश लाठले वीरगञ्जले जनकपुरलाई र जनकपुरले वीरगञ्जलाई आफ्नो ठान्न सके विकासको एकिकृत भावना निर्माण हुने बताए। 

संघका पूर्वअध्यक्ष प्रदीप केडियाले नयाँ लगानी आकर्षण गर्न सक्नु पर्ने बताए। विश्लेषक चन्द्रकिशोरले वीरगञ्जलाई औद्योगिक केन्द्रको रुपमा बिकसित गर्दै लैजादा प्रदेश नम्वर २ का अन्य जिल्लालाई सहायक औद्योगिक बस्तु उत्पादनको केन्द्रको रुपमा विकास गर्नसके समग्र प्रदेश कै विकास हुने बताए। सुरक्षा, समृद्धी र सम्मानका लागि आर्थिक विकासका सवालहरुलाई साझा स्वार्थको बिषय बनाउन सक्नुपर्ने उनले बताए। प्राध्यापक डा. दिपक शाक्यले गरिबी स्रोतको अभावले नभई स्रोतको ब्यवस्थापन नहुँदा हुने गरेको बताउँदै प्रदेश २ ले आफ्नो ब्यवस्थापकीय क्षमता विकसित गर्नु पर्ने बताए। प्रदेश २ सँग जमिन, जंगल, जलस्रोत र जनस्रोत पर्याप्त भएकोले यसको उपयोग र ब्यवस्थापन गर्न सके प्रदेशले विकासमा काचुली फेर्ने उनको दावी छ। 

अधिवक्ता कमलमोहन पोखरेलले प्रदेश २ मा केही समयअघि आँकलन गरिएजस्तो भाषागत, क्षेत्रीय र राजधानी लगायतका विषमाय द्वन्द नदेखिएको बताउँदै सकारात्मक भावनाको विकास भएको बताए। उनले स्थानीय तहले आफुलाई मजबुद पार्दै लैजानु पर्ने बताए। कार्यक्रममा ब्यवसायिक सीप विकासका जानकार ललन तिवारी, ब्यवसायी माधव राजपाल, प्राविधिक शिक्षा उद्यमी राम शर्मा लगायतले बोलेका थिए।

प्रकाशित: १६ फाल्गुन २०७४ १४:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App