१५ चैत्र २०८० बिहीबार
समाज

विद्युत सर्ट हुँदा सैनिक ब्यारेकमा आगलागी, स्थानीयका घरमा क्षति

उदयपुर – उदयपुरमा विद्युत सर्ट भई आगलागी हुँदा नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डासहित सयौं स्थानीयको घरमा क्षति पुगेको छ। आईतबार विहान ९ बजे विद्युतको एउटा पोलमा तार सट हुन पुग्दा त्रियुगा नगरपालिका ३ भुल्केस्थित सेनाको बाहिनी र त्यस आसपासको भुल्केका पूरै स्थानीयको घरमा क्षति पुगेको हो। 

स्थानीय यदुप्रसाद ढकालले लगभग आधाघण्टाको अवधिमा सबै घरका मिटर बक्समा आगो लागेको बताए। उनका अनुसार भुल्केका सबै घरको मिटर बक्स डढेका छन् भने टेलिभिजन, कम्प्युटर, पानी तान्ने मोटरलगायत अन्य विद्युतीय सामग्री सबै जलेर क्षति पुगेको छ। विहान खाना पकाउने र खाने क्रम चलिरहेका बेला परेकाले सबै मान्छे घरमै हुँदा थप क्षति भने हुन नपाएको उनले बताए। 

‘घरमा श्रीमतीले खाना पकाउँदै थिइन्, म नानीहरुलाई स्कुल पठाउने तयारी गर्दै थिएँ’ ढकालले भने ‘एक्कासी चट्ट आवाजसँगै घरभरी धुँवा भरियो, मिटरबक्स जलेर आगो फैलन लागेको देखेर हतार हतार सुरक्षित भयौं।’ अर्की स्थानीय पवित्रा गिरीले मिटर बक्स निभाउँदा पनि बत्ती बलिरहेपछि पूरै गाउँले आतंकित हुनु परेको बताइन् । मिटर बक्समा आगो लागेको देखेर मिटर र बत्तीको स्वीच अफ गर्दा पनि बत्ती बलेको बलेकै देखेर सातो गएको उनले सुनाईन्।  

त्रिनपा ३ की वडासदस्य हरिमाया शाही ठकुरीले भुल्के र मोतिगडामा गरी २ सय २६ घरमा विद्युतीय आगलागीबाट क्षति पुगेको बताईन्। विहान खाना खान लागेका बेला घरमा मिटरबक्स जलेको देखेर निभाउँदै गर्दा एकपछि अर्का वडाबासीले फोन गरेर घरमा मिटरबक्स, टिभी र कम्प्युटर जलेको भन्दै खवर गरेको उनले बताईन्। आफ्नो घरको क्षति छाडेर अनुगमन गर्न निस्केकी उनले गाउँभरीको समस्या एउटै देखेर विद्युत प्राधिकरणमा खवर गरी लाईन काट्न लगाएको बताईन्। 

सदस्य शाहीका अनुसार अहिलेसम्म क्षति विवरण यकिन नभए पनि करोडभन्दा माथिको क्षति भएको अनुमान गरिएको छ। घट्नाबारे विद्युत प्राधिकरणलाई जानकारी दिइसकेको र त्रियुगा नगरपालिकामा पनि भनिसकेकाले अनुगमन टोली बोलाएर क्षति विवरण निकाल्ने वडा कार्यालयले जनाएको छ। 

विद्युतीय सर्टमा परी बाहिनी अड्डामा पनि निकै ठूलो क्षति भएको सेनाले जनाएको छ। बाहिनीमा कम्प्युटर, प्रिन्टर, पंखा, हिटर, मोटर, टेलिभिजनलगायत थुप्रै विद्युतीय उपकरणमा क्षति पुगको बाहिनीका ड्युटी अधिृकत उपसेनानी दिपबहादुर क्षत्रीले बताए। उनका अनुसार क्षतिको सबै विवरण भने यकिन गर्न बाँकी रहेको छ। 

प्राधिकरण वितरण केन्द्र उदयपुरले भँगेराले विद्युत सर्ट गराउदा तार चुँडिन गई भुल्केमा आगलागी हुन गएको जनाएको छ। वितरण केन्द्र प्रमुख रामअयोद्धा यादवले बाहिनीमा निकै क्षति पुगेको खवर आएको तर, स्थानीयको घरको संख्या विवरण नआएको बताए। लाहान–गाईघाट खण्डको ११ हजार किलो भोल्टको विद्युत प्रसारण लाईनबाट भुल्केतर्फ लगिएको सबलाईनमा चराले तारमा गडबडी ल्याएर सर्ट हुन गई क्षति पुगेको यादवले बताए। उनले घट्नास्थलतर्फ मर्मत टोली पठाईसकेको तर, क्षति विवरण अहिलेसम्म आईनसकेको बताएका छन्। 

प्रकाशित: १३ फाल्गुन २०७४ १०:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App