७ वैशाख २०८१ शुक्रबार
समाज

प्रहरी इन्काउन्टरमा मारिए गुन्डा नाइके पुन

इन्कटाउन्टरमा मारिएका मनाेज पुन

बुटवल – हत्या र जबरजस्ती रकम असुलीमा संलग्न रहँदै आएका मनोज बुढामगर (मनोज पुन) र उनका सहयोगी सोम आले बुधबार बिहान रुपन्देहीको देवदह नगरपालिका–४, भवानीपुरमा प्रहरी इकान्टरमा मारिएका छन्। 

रुपन्देहीका एसपी श्याम ज्ञवालीका अनुसार, पुनसहित उनका सहयोगी आले केही दिनअघि यहाँ आएको सुचना पाएपछि प्रहरीले निगरानी बढाएको थियो । खोजीक्रममा बुधबार बिहान साढे तीन बजे पुनले प्रहरीमाथि फायर गरेपछि जवाफी कारबाही चलाउँदा उनी मारिएका ज्ञवालीले बताए । पुनलाई १२ गोली र आलेलाई १० गोली लागेको थियो। ज्ञवालीले गोली लागेर घाइते भएका दुवैको लुम्बिनी अञ्चल अस्पतालमा उपचारक्रममा मृत्यु भएको जानकारी दिए।
पुनसहित उनका सहयोगी आलेलाई पक्राउ गर्न प्रहरी टोली नेपाल र भारत दुवैतिर सक्रिय थियो । भारतको गोवाबाट उनीहरुलाई पक्राउ गरी ल्याइएको दाबी स्रोतले गरे पनि प्रहरीले त्यसलाई अस्वीकार गरेको छ । भारतमा खोजी तीव्र पारिएपछि  उनीहरू भागेर केही दिनदेखि आफ्नो गाउँ आएर बसेको एसपी ज्ञवालीले बताए। ‘गाउँमा प्रहरीले खोजी गरेको थाहा पाएपछि उनीहरू भाग्दै गरेका थिए । पक्राउ गर्न खोज्दा उनीहरूले गोली चलाएपछि प्रहरीले फायर खोल्नुपरेको हो,’ ज्ञवालीले भने।

एक वर्षयता रुपन्देहीमा भएका दुई हत्या घटनाका प्रमुख योजनाकार मनोज पुन र उनका सहयोगी सोम आले प्रहरी इन्काउन्टरमा मारिएका हुन् । काठमाडौंमा निर्माण व्यवसायी शरद गौचनको हत्या पनि पुनकै योजनामा भएको प्रहरी दाबी छ।  

एक वर्षयता रुपन्देहीमा भएका दुई हत्या घटनाका प्रमुख योजनाकार पुन भएको प्रहरी दाबी छ । गत पुस २१ माा देवदहमा युवा संघका कार्यकर्ता वसन्त पौडेलको हत्या भएको थियो । त्यसैगरी, एक वर्षअघि देवदहमै युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या पनि पुनकै योजनामा भएको अनुसन्धानबाट खुल्न आएको प्रहरी भनाइ छ । पुनले हत्याको जिम्मेवारी लिँदै मलेसियाबाट बोलेको भन्दै स्थानीय केही पत्रकारलाई फोन गरेका थिए । 
प्रहरी स्रोतअनुसार, प्रहरीले तिवारी हत्या अनुसन्धान क्रममा पुन भारतको गोवामा रहेको पत्ता लगाएको थियो । प्रहरी गोवा पुग्दा पुन त्यहाँबाट भागेका थिए । पुसमा देवदहमै युवा संघका कार्यकर्ता पौडेलको हत्यापछि प्रहरीले पुनको खोजी तीव्र पारेको थियो।

पुनसँगै मारिएका आले पनि तिवारी–पौडेल हत्याका अभियुक्त हुन् । विकास नामले चिनिने आलेले केही वर्षयता पुनको मुख्य सहयोगीका रुपमा काम गरेका थिए । बुटवलस्थित प्रभु मनी ट्रान्फरमा २०६२ सालमा लुटपाट गर्नेक्रममा प्रतिकार गर्न खोज्ने एकजनालाई आलेले हत्या गरेका थिए । त्यसको केही समयपछि पक्राउ परेका उनी केही वर्ष जेल बसेर छुटेका थिए । त्यसपछि लुटपाट गर्दै आपराधिक दुनियाँमा छिरेका उनी पुनको संगतमा पुगेका थिए।

मुख्य योजनाकार पुनसहित सहयोगी आले इन्काउन्टरमा मारिएपछि तिवारी हत्या अनुसन्धान सकिएको एक प्रहरी अधिकारीले बताए। 

तिवारी हत्यामा संलग्नमध्ये एक मुख्य पात्र समिरमानसिंह बस्नेत पक्राउ परेका छन् । उनीमाथि निर्माण व्यवसायी शरद गौचनको हत्या गरेको अभियोग छ । गौचनको हत्यापछि उनी पक्राउ परेका हुन् । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो टोलीले तिवारी हत्याका स्थानीय योजनाकार श्याम गोम्बेलाई चितवनबाट पक्राउ गरेको थियो । बारा गढीमाई–१ का बासिन्दा गोम्बे निर्माण व्यवसायी गौचन हत्याका सुटर भएको अनुसन्धानले देखाएको छ । उनी सेनाका भगौडा हुन् । गोम्बे पनि गौचनको हत्यापछि पक्राउ परेका हुन् । त्यसैगरी हत्यापछि भागेर कतार पुगेका तुलबहादुर सिंजालीलाई प्रहरीले दुई महिनाअघि त्यहाँबाट पक्राउ गरी ल्याएको थियो।

देवदह, वसन्तपुरमा केविआई इँटा उद्योग चलाउ“दै आएका तिवारीमाथि २०७२ फागुन ६ गते सो उद्योगनजिकै गोली प्रहार भएको थियो । त्यसबेला मिस फायर भएकाले तिवारी बचे । त्यस घटनामा पनि पुनकै संलग्नता भएको प्रहरीको भनाइ छ। 

प्रहरीले २०७३ फागुन १५ गते सार्वजनिक गरेका तिवारी हत्याका सात अभियुक्तमा देवदह नगरपालिका–६ का ३१ वर्षीय वसन्तबहादुर चापागार्इं, तिलोत्तमा नगरपालिका १५ का २७ वर्षीय बुद्धिसागर यादव र उनका भाइ राजेश, तिलोत्तमा– ८ का ३३ वर्षीय प्रयास भनिने खेमानन्द भट्टराई, देवदह–८ का २३ वर्षीय सागर थापा, नवलपरासीका २८ वर्षीय अगंद थारु र देवदहका २८ वर्षीय ऋषिश्वर कुमाल छन् । पक्राउ सातमध्ये उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपछि यादवद्वय साधारण तारेखमा छुटेका छन् । बस्नेत, गोम्बे र सिंजाली पछि पक्राउ परेका हुन् । तिवारी हत्यामा १२ प्रहरीले १२ जनालाई अभियुक्त बनाएको छ।  

पौडेल हत्याका एक अभियुक्त फरार 
प्रहरीले पौडेल हत्यामा संलग्न तीनमध्ये एक अभियुक्त अझै फरार रहेको बताएको छ । दुईजनालाई केही साताअघि पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको थियो । प्रहरीले हत्या अभियोगमा नवलपरासी सुनवल नगरपालिका–७, अस्नैया बस्ने ३६ वर्षीय पदम चौधरीलाई चितवनबाट र डुमराहा–५ का ३६ वर्षीय महेन्द्र भन्ने महिनारायण चौधरीलाई पोखराबाट पक्राउ गरेको थियो । महिनारायण मुख्य सुटर हुन् । पदमले हतियार, गोली र मोटरसाइकलको व्यवस्थापनसँगै पौडेलको दैनिक गतिविधि निगरानी गरेको प्रहरी अधिकारीले बताएका छन् । प्रहरीका अनुसार पौडेल हत्या पनि पुनकै योजनाअन्तर्गत भएको हो ।

गुण्डागर्दी र अपराधको दुनियाँमा पुन

प्रहरीको सर्वाधिक खोजीमा रहेका पुन सुरुमा देवदहमा सामान्य गुण्डागर्दीमा संलग्न थिए । सामान्य गुण्डागर्दीमा लागेकै बेला उनले अवैध रकम असुलीको सञ्जाल विस्तार गरे । प्रहरीले निरन्तर निगरानी राख्न थालेपछि भारतमा बसेर उनले आपराधिक सञ्जाल पनि विस्तार गरे।

देवदह–२ का २९ वर्षीय पुन माओवादीको वाइसिएल हुँदै २०६६ सालमा युवा संघमा प्रवेश गरेका थिए । युवा संघ रुपन्देही–१ को क्षेत्रीय कमिटीमा कोषाध्यक्षको जिम्मेवारी पाएका उनी युवा संघमा ६ महिनासमेत टिकेनन् । पटक–पटक सुध्रिन चेतावनी दिँदासमेत नसुध्रिएपछि युवा संघले उनलाई कारबाही  गरेको थियो । युवा संघसँगको आबद्धता तोडेपछि उनले आपराधिक सञ्जाल थप विस्तार गरी चन्दा र फिरौती असुलीलाई निकै व्यापक बनाएको स्थानीय जानकार बताउँछन्।

हतियार बरामद 
तिवारी र पौडेललाई मार्न प्रयोग भएको हतियार प्रहरीले केही साताअघि बरामद गरेको थियो । हत्या घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार, तिवारीलाई हानिएको गोली, पौडेल हत्यापछि बरामद गोली तथा हत्यामा संलग्न अभियुक्तबाट बरामद इटालियन पेस्तोल र गोलीको प्रयोगशाला परीक्षणबाट दुवै हत्यामा एउटै हतियार प्रयोग भएको खुलेको हो । गत साउन २० मा रुपन्देहीको मणिग्राममा सिरिसा मार्वलमा पनि तिवारी र पौडेललाई हानिएको पेस्तोलबाट गोली चलाइएको प्रहरी निष्कर्ष छ। 

प्रकाशित: १० फाल्गुन २०७४ ०१:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App