१६ चैत्र २०८० शुक्रबार
समाज

कृषि मेलामा २८ कृषक पुरस्कृत

सोलुखुम्बु – कृषि तथा पोषण मेला प्रदर्शनीमा सोलुखुम्बुका २८ जना कृषक पुरस्कृत भएका छन्। थुलुङ–दुधकोसी गाउँपालीका वडा नम्बर १ नेलेमा भएको कृषि तथा पोषण मेला प्रदर्शनी प्रदर्शनीमा ७ विधामा २८ जना कृषक पुरस्कृत भएका हुन्।

दर्ता भएका  १८४ बाली मध्ये आलु, मसला, फलफूल, तरकारी, दलहन, अन्नबाली र विविध विधामा पुरुस्कृत गरिएको हो। हरेक बालीविधामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना भएका कृषकलाई नगद २५ सय, २ हजार, १५ सय र एक हजारको साथमा प्रमाणपत्र वितरण गरिएको छ। 

पुरस्कार पाएपछि कृषकहरुले कृषि क्षेत्रमा अझ प्रगति गर्न ऊर्जा मिलेको बताएका छन् । ४ विधामा पुरस्कृत भएकी कृषक विना कुमारी राईले भनिन्, ‘मैले कृषिवाटै ३ जना बच्चालाई पोषण र शिक्षाआर्जन खर्च जुटाउदै आएकी छु, यस्तो कार्यक्रमले र पुरस्कारले मलाई कृषि कर्ममा थप ऊर्जा मिलेको छ।’     

प्रर्दशनीको अबसरमा २८ जनाले माटो परिक्षण गराएका छन्। क्षेत्रीय माटो परिक्षण केन्द्र झुम्काका प्राविधिकहरुले माटो परीक्षण गर्नुका साथै रिपोर्ट समेत आजै वितरण गरेका छन्। त्यस्तै, पशुसेवा शाखाले ५१ जना पशुपंक्षि पालक कृषकहरुलाई औषधि वितरण गरेको छ। कार्यक्रममा सुआहारा कार्यक्रम सोलुखुम्बुले पोषण र सरसफाईको विभिन्न प्रर्दशनी गरेको थियो। सुनौला हजार दिन भित्रका आमा र बच्चाको पोषणका लागि फर्सीको खिर बनाएर कार्यक्रमका अतिथिहरुलाई चखाईएको थियो।

कार्यक्रममा १ नम्बर प्रदेशका सांसद उत्तम बस्नेतले किसानले परिचय–पत्र र पेन्सन पाउनुपर्ने बताएका छन्। उनले परिचयपत्रको आधारमा कृषि सुविधाका साथै पेन्सनको समेत व्यवस्थामा लागि पर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, कृषिमा व्यवसायीकता र प्रविधिको प्रयोग महत्वपुर्ण रहेकोमा बस्नेतले जोड दिए।  

थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले गाउँपालिकाको भूमि बाँझो राख्न नपाईने निति निर्माण गर्ने क्रममा रहेको बताए। उनँले उत्पादनशील जमिनमा संभावित खेति गर्न बाध्य गर्ने गरि गाउँपालिकाले निति ल्याउने र कृषिलाई बढवा दिने बताए। उनले भने, ‘गाउँपालिकामा सुकुम्बासी शुन्य पार्ने गरि काम थालनी भएको छ।’ 

प्रकाशित: ८ फाल्गुन २०७४ १५:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App