८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

वन कार्यालय प्रमुख गिरीकाे ९ महिनामा ६९ दिन हाजिर

डिभिजन वन कार्यालय कालिकोट। तस्बिर : नागरिक

डिभिजन वन कार्यालय कालिकोटका प्रमुखलाई कार्यालयमा भेट्न सम्भव नभएको नागरिकले गुनासो गरेका छन्। डिभिजन वन कार्यालयका प्रमुख रमेशकुमार गिरी अधिकांश समय कार्यालय बाहिर बस्ने भएकाले उनलाई कार्यालयमा भेट्न मुस्किल भएको नागरिकले गुनासो गरेका हुन्।

एक वर्षदेखि गैरिसिराउडी सामुदायिक वन नविकरण गर्न जाँदा पटकपटक गिरीलाई कार्यालयमा नभेटेको स्थानीय भीम शाहीले बताए। उनले भने, ‘सामुदायिक वन नवीकरण गर्न जाँदा त प्रमुख भेटिँदैनन् भने विकाका काम कसरी होला ?’

कार्यालय प्रमुख गिरी आफ्नो सरुवाका लागि मन्त्रालयमा वैशाखदेखि धाइरहेको एक कर्मचारीले बताए। उनले भने, ‘प्रमुख सरुवाको चक्करमा हुनुहुन्छ, उनको सरुवा हुँदैन। त्यसैले अक्सर कार्यालयको काम भनेर सुर्खेतमा बस्दै आएका छन्।’

कार्यालय प्रमुख गिरीको वैशाखयता ६९ दिन मात्र हाजिरी छ। बाँकी दिन उनले मन्त्रालयका काम, गोष्ठी, तालिम, सेमिनार भनेर जिल्लाबाहिर रहेको हाजिरीमा उल्लेख छ। हाजिरी हेर्दा उनी वैशाखमा आठ, जेठमा दुई, असारमा २३, साउनमा आठ दिन कार्यालयमा उपस्थित भएको देखिन्छ।

त्यस्तै भदौमा १०, असोजमा नौ र कात्तिकमा चार दिन उपस्थित भएका छन् भने मंसिरमा उनी विभिन्न बहानामा कार्यालयमा आएका छैनन्। त्यस्तै पुसमा पाँच दिन मात्र हाजिरी भएका गिरी अहिले तालिमको बहानामा शुक्रबारदेखि जिल्ला बाहिर रहेका छन्।

कार्यालय प्रमुख गिरी मात्र नभई कर्मचारी पनि बिदामा बस्ने गरेका छन्। कार्यालयमा नयाँ काम पनि सुरु भएका छैनन्। विभिन्न वनमा चोरीसिकारी र वन डढेलो बढेर गएको छ। कर्मचारी धेरै छन् तर कार्यालयमा हाजिर लगाएर बस्ने मात्र गरेका छन्।

प्रकाशित: २६ पुस २०८० ०७:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App