६ वैशाख २०८१ बिहीबार
समाज

अस्पताल र स्कुल वरपर ग्यारेज राख्न नपाइने

काठमाडौं – अस्पताल र शिक्षण संस्थावरपर ग्यारेज वा वर्कसप राख्न नपाइने भएको छ। ग्यारेज र वर्कसपलाई नियमन गर्न सरकारले ल्याउन लागेको निर्देशिका जस्ताको त्यस्तै कार्यान्वयनमा आए अस्पताल र शैक्षिक संस्था वरपर अब यस्ता व्यवसाय गर्न पाइने छैन।

सवारीसाधन मर्मतसम्भार गर्न सञ्चालित यस्ता व्यवसायलाई नियमन गर्न सरकारले ‘कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका– २०७४’ तयार पारेको हो। निर्देशिकाको मस्यौदामा अस्पताल र शैक्षिक संस्थाको दुई सय मिटर वरपर वर्कसप र ग्यारेज सञ्चालन गर्न नपाइने उल्लेख छ।

यातायात व्यवस्था विभागले निर्देशिकाको मस्यौदा तयार पारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा स्वीकृतिका लागि पठाइसकेको छ। सवारी तथा यातायात व्यवस्था ऐन– २०४९ को दफा १५९ ले दिएको प्रावधान अनुसार निर्देशिका बनाइएको विभागका महानिर्देशक रूपनारायण भट्टराईले बताए। ‘उपत्यकाका वर्कसप तथा कारखाना अव्यवस्थित रूपमा चलिरहेकाले व्यवस्थित गर्न निर्देशिका ल्याएका हौँ,’ उनले भने, ‘अस्पताल र शिक्षण संस्थानजिकै भएका वर्कसप तथा कारखानाले नकारात्मक असर पारिरहेका छन्, त्यसको नियन्त्रण गर्न लागिएको हो।’ उनले मन्त्रालयले स्वीकृत गर्ने बित्तिकै निर्देशिका कार्यान्वयनमा आउने बताए।

निर्देशिकामा वर्कसप र कारखानाले मर्मत गर्ने बाहेकका सवारीसाधन राख्न नपाइने व्यवस्था गरिएको छ। यसैगरी, कर्मचारी नियुक्ति तथा सुविधा नेपाल सरकारले जारी गरेको श्रम नीति तथा श्रम कानुनबमोजिम हुनुपर्ने व्यवस्था पनि निर्देशिकामा छ। कारखाना तथा वर्कसपमा बालश्रमलाई निषेध गरिएको छ। निर्देशिकामा वर्कसप सञ्चालकले कम्तीमा पाँचजना दक्ष प्राविधिक कामदार, एकजना मेकानिकल वा अटोमोबाइल इन्जिनियर राख्नुपर्ने प्रावधान छ।

यसैगरी, मर्मत गर्नका लागि पर्याप्त स्थान हुनुपर्ने, कम्तीमा १५ वर्ग मिटरको अफिस कोठा, ५० वर्ग मिटरको मर्मत सेड र १० वटा सवारीसाधन अट्न सक्ने व्यवस्था पनि निर्देशिकामा छ। कम्तीमा चार मिटर चौडाइको सडक भएको क्षेत्रमा मात्र यस्ता व्यवसाय खोल्न पाइने व्यवस्था उल्लेख गरिएको छ।

सवारीसाधनको मेकानिकल मर्मत, इलेक्ट्रिकल वायरिङ, बडी मर्मत तथा डेन्टपेन्टसम्बन्धी सेवा प्रदान गर्नेलाई वर्कसपको रूपमा वर्गीकरण गरिएको छ। यसैगरी सवारीको क्षमताका आधारमा वर्कसपलाई विभिन्न पाँच तहमा विभाजन गरेर छुट्टा–छुट्टै कार्यविधि तोकिएको छ।

निर्देशिकामा चेसिस आयात गरी वा निर्माण गरी इन्जिन लगायतका अन्य पार्टपुर्जा एसेम्बल गरी सवारीसाधन तयार गर्ने कारखाना तथा वर्कसपहरूलाई वर्ग (च) कारखाना तथा वर्कसपका रूपमा वर्गीकरण गरिएको छ।

 

प्रकाशित: ५ फाल्गुन २०७४ ०९:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App