८ वैशाख २०८१ शनिबार
समाज

उपत्यकामा खानेपानीको माग साढे ४१ करोड लिटर, आपूर्ति १० करोड लिटर

काठमाडौं- काठमाडौं उपत्यकामा हिउँदेयाम सुरुवात भएसँगै खानेपानीको चरम अभाव देखिएको छ। काठमाडौँ उपत्यकामा खानेपानीको माग र आपूर्तिबीच ठूलो खाडल  भएकाले नै खानेपानीको अभाव देखिएको हो। काठमाडौँ उपत्यकामा खानेपानी आपूर्तिको जिम्मेवारी पाएको निकाय काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले माग अनुसार खानेपानीको आपूर्ति गर्न नसक्दा उपत्यकामा वर्षौंदेखि  उपत्यकामा खानेपानीको अभाव सिर्जना हुदैँ आइराखेको छ।

काठमाडौं उपत्यकामा दैनिक खानेपानीको माग ४१ करोड लाख ५० करोड लिटर छ।  केयुकेएलले दैनिक करिब १० करोड ७२ लिटर पानी वितरण गर्दै आएको छ। १० करोड ७२ लाख लिटर मध्ये २० प्रतिशत पानी चुहावटमै सकिने केयुकेएलको दशौँ वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ। वर्षेनी चुवाहट बढ्दै गइरहेपनि केयुकेएलले चुवाहट रोक्नको लागि प्रभावकारी योजना ल्याउन सकेको छैन्। जसको कारणले उपभोक्ता खानेपानीको मार खेप्दै आइराखेका छन्।

खानेपानी तथा सरसफाई मन्त्रालयका सहसचिव अनिलभद्र खनालले खानेपानीको माग र आपूर्तिबीच ठूलो खाडल बढ्दै गइराखेकाले उपत्यकामा खानेपानीको अभाव भएको बताउँछन्। ‘खानेपानीको वितरण जीर्ण पाइपबाट भइरहेको छ। जसबाट ठूलो मात्रामा पानीको चुवाहट भइराखेको छ,’ उनले भने,‘अब जीर्णप्रणालीलाई सुधार्दै वितरण प्रणालीलाई चुस्तदुरुस्त बनाउनुपर्ने देखिन्छ।’

केयुकेएलका उपप्रवन्धक प्रकाशकुमार राईले खानेपानीको माग अनुसार आपूर्ति गर्न नसक्दा खानेपानीको अभाव भएको बताउँछन्।‘उपत्यकामा खानेपानीको माग अत्याधिक छ,माग अनुसारको एक  चौथाई मात्रै पानी उपलब्ध गराउँदै आइराखेका छौँ,’उनले भने,‘खानेपानीको वितरणलाइन र भल्भ जीर्ण भएकाले पनि चुवाहट दर उच्च छ,त्यसैले खानेपानी व्यवस्थापनमा समस्या रहँदै आएको हो।’

उनका अनुसार उपत्यकामा राणाकालिन जीर्ण पाइपलाइन र भल्भ र पुरानो चावीकै कारणले चुवाहट भइरहेको हो। खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले खानेपानीको चुवाहट रोकर सहज रुपमा खानेपानीको व्यवस्था गर्न निर्देशन दिएका छन्। ‘उपत्यकाबासीको धारामा कतिबेला पानी आउने,कहिल्यै निश्चित हुदैँन,त्यसैले निर्धारित समयसिमाभित्रै पानी उपलब्ध गराउनुपर्‍यो,’उनले भने,‘केयुकेएलले पानीको चुवाहट रोकेर उपत्यकाबासीलाई समानुपातिक ढंगले खानेपानीको आपूर्ति गर्नुपर्‍यो।’

खानेपानी तथा सरसफाईमन्त्री यादवले मेलम्चीको सुरुङ निर्माण कार्य अन्तिम चरणमा पुगेकाले अबको केही महिनाभित्रै मेलम्चीको पानी आउने बताएका छन्। काठमाडौं उपत्यकामा केयुकेएलले २ लाख १८ हजार २  सय ९१ घरघुरीमा पानी उपलब्ध गराउँदै आएको छ। ‘हामीले अझैपनि समानुपातिक वितरण प्रणालीलाई प्रभावकारी ढंगले अघि बढाउन सकिरहेका छैनौं,’ महाप्रवन्धक महेशप्रसाद  भट्टराईले भने,‘अहिले पुरानो वितरण प्रणाली र मेलम्चीको नयाँ वितरणप्रणालीलाई व्यवस्थित गरेर चुवाहट रोक्ने प्रयास गरिरहेका छौँ ।’केयुकेएलका अनुसार  राणकालिन–जीर्ण पाइपलाइन, पुरानो वितरण प्रणाली, बिग्रिएका भल्व ,प्रेसर, धरातलीय स्वरुपकै कारणले सहज रुपमा खानेपानी  वितरण गर्न नसकेको जनाएको छ । केयुकेएलका महाप्रबन्धक भट्टराईले चुहावट रोक्न, बक्यौता उठाउन र कर्मचारीलाई जिम्मेवारी बनाउन केयुकेएल लागिपरेको छ । उपत्यकामा ट्यांकरमार्फत दैनिक पाँच करोड लिटर पानी किनबेच हुने गरेको छ । जारमार्फत दैनिक २० लाख लिटर र बोतलमार्फत करिब साढे दुई लाख लिटर पानी किनबेच हुने गरेको तथ्यांक व्यवसायीसँग छ । मेलम्ची खानेपानी उपआयोजनाबाट दैनिक १७ करोड लिटर पानी ल्याउने तयारीसाथ धमाधम काम भइराखेको छ।

 उत्कृष्ट कर्मचारी सम्मानित

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको १० औँ वार्षिकत्सव मंगलबार एक कार्यक्रमका विच सम्पन्न भएको छ। वार्षिकत्सवको अवसरमा उत्कृष्ट शाखाको रुपमा ललितपुर शाखा कार्यालयलाई सम्मान गरिएको हो । खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले ललितपुर शाखा कार्यालयका प्रमुख विश्वराज जोशीलाई नगद २० हजार र सम्मानपत्रले सम्मान गरेका हुन। त्यस्तै गरी ‘ख’ वर्गको उत्कृष्ट शाखाको रुपमा त्रिपुरेश्वर शाखा कार्यालयका प्रमुख रविकुमार राईलाई सम्मान गरेको छ ।  त्यसैगरी उत्कृष्ट मिटररिडरबाट ठिमी शाखाका सन्तोष ओझा, ललितपुर शाखाका अमृतमणि दाहाल, ललितपुर शाखाका मदन महर्जन लगायतलाई नगद पुरस्कार सहित सम्मान गरेको हो । त्यसैगरी म्याराथान धावक दिलिप कुमार राईलाई समेत सम्मान गरिएको थियो। आर्थिक वर्ष २०७३–७४ मा अवकाश प्राप्त कर्मचारीहरुलाई समेत सम्मानपत्र र दोसल्ला ओढाएर विदाई गरिएको उपप्रवन्धक प्रकाशकुमार राईले जानकारी दिए।

 

प्रकाशित: १ फाल्गुन २०७४ ०९:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App