coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

भाँचिएको खुट्टा निको नहुँदै काम गर्न बाध्य

मलेसियामा भाँचिएको खुट्टा निको नहुँदै काम गर्न बाध्य खोटाङका रोशन बिश्वकर्मा । तस्बिर : रोशनको फेसबुक वाल

खोटाङ – मलेसियामा भाँचिएको खुट्टा निको नहुँदै एक नेपाली काम गर्न बाध्य बनेका छन् । रोजगारीका सिलसिलामा मलेसिया पुगेका खोटाङको साकेला गाउँपालिका–२ रतन्छाका २७ वर्षीय रोशन बिश्वकर्मा भाँचिएको खुट्टा निको नहुँदै काम गर्न बाध्य बनेका हुन्।

कार्यरत मिनी उड कम्पनीले ‘पैसा चाहिए काम गर’ भन्दै आरामको सट्टा काममा लगाउने गरेको बिश्वकर्माको गुनासो छ । यसअघि साउदी अरब पुगेर फर्किएका बिश्वकर्मा पुनः रोजगारीका सिलसिलामा लिंकस्टार मेनपावरमार्फत ६ महिनाअघि मलेसिया पुगेका थिए।

पेन्टिङको काम गर्दै आएका बिश्वकर्माको कम्पनीकै काम गर्ने क्रममा लडेर देब्रे खुट्टा भाँचिएको हो । खुट्टा भाँचिएको सात दिनपछि मात्र बिश्वकर्मालाई अस्पताल पु¥याएको मिनी उड कम्पनीले अस्पतालबाट फर्कनेबित्तिकै आराम गराउनुको सट्टा काममा लगाएको बताइएको छ । काम नगरे भोकै बस्नुपर्ने अवस्था भएकाले भाँचिएको खुट्टा निको नभए पनि काम गर्नुपरेको रोशनले बताए ।

घाइते भएपछि स्वदेश फर्कनका लागि लिंकस्टार मेनपावरलाई सम्पर्क गर्दा बेवास्ता गरेको उनको गुनासो छ । स्वदेश फर्काइदिन आग्रह गर्दा कम्पनीले उल्टै लेवी, भिसा लगायतको पाँच सय रिंगेट माग्ने गरेको छ । घर फर्काउन आग्रह गर्दा कार्यरत कम्पनीले ‘तेरो एजेन्टलाई भन्’ भन्ने जवाफ दिने गरेको बिश्वकर्माले बताए ।

मेनपावर कम्पनीविरुद्ध मुद्धा
मलेसियामा भाँचिएको खुट्टा निको नहुँदै काम गर्न बाध्य रोशनले ठगी गरेको भन्दै लिंकस्टार मेनपावर कम्पनीविरुद्ध मुद्दा दर्ता गरेका छन् । सम्झौता अनुसारको काम र दाम नपाएको, घाइते हुँदा उपचार सेवा राम्रो नभएको भन्दै उनले आफन्तमार्फत वैदेशिक रोजगार विभागमा उजुरी दिएका हुन्।

कार्पेन्टरको काम भनेर मलेसिया पठाए पनि पेन्टिङको काममा लगाएको, सम्झौता अनुसार तलब नपाएको भन्दै बिश्वकर्माले मेनपावरविरुद्ध मुद्दा दर्ता गरेका हुन् । उनले चाँडो उद्धारका लागि दिक्तेलमा सञ्चालित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र समक्ष समेत आग्रह गरेको सूचना केन्द्रका परामर्शकर्ता अम्बिका दाहालले बताइन्।

मेनपावरले मासिक हजार रिंगेट बेसिक तलब पाउने भनेर पठाए पनि मलेसियाको कम्पनीले दैनिक ज्यालादारीमा काम लगाइरहेको जानकारी आएको सूचना केन्द्रले जनाएको छ।

दैनिक ज्यालादारी बापतको रकम पनि नियमित नदिने कम्पनीले खानाका लागि हप्तामा ६० रिंगेट दिने गरेको पीडितको भनाइ छ । ६० रिंगेटले चार दिन पनि खान नपुग्ने गरेकाले स्वदेश फर्कन हारगुहार गर्नुपरेको बिश्वकर्माले बताए।


 

प्रकाशित: १ फाल्गुन २०७४ ०३:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App