१६ चैत्र २०८० शुक्रबार
समाज

केन्द्रीय प्रसारणमा ३० मेगावाट थपियो

चमेलिया जलविद्युत् आयोजना उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा। तस्बिर : नागरिक

विष्णु बेल्वासे/प्रेम चुनारा
बलाँच – निर्माण सुरु भएको झन्डै ११ वर्षपछि ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना औपचारिक रूपमा केन्द्रीय प्रणालीमा जोडिएको छ । यो साबिकको सुदूरपश्चिम र हालको प्रदेश ७ मा निर्माण भएको अहिलेसम्मकै ठूलो आयोजना हो।

दार्चुला र बैतडीको सीमामा निर्माण भएको आयोजना शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन्। प्रधानमन्त्री देउवाले विद्युत्गृहस्थित स्विच थिचेर आयोजनाको औपचारिक उद्घाटन गरे।

देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा सुदूरपश्चिमको विकास तथा विद्युत् आपूर्तिमा क्षेत्रीय सन्तुलन मिलाउन चमेलिया निर्माण गर्ने निर्णय गरेका थिए । भौगोलिक रूपमा पछि परेको यो क्षेत्रले अब सहज विद्युत् उपभोग गर्न सक्ने आधार बनेको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा देउवाले ७ नम्बर प्रदेशमा २० हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने र जलस्रोतमा यो क्षेत्र सबैभन्दा धनी रहेको बताए । चमेलियाले ७ नम्बर प्रदेशमा विकासको ढोका खोलेको धारणा उनले राखे।

उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले उत्पादित बिजुलीमा पहिलो हक स्थानीयको हुने बताए । आयोजनाबाट उत्पादित बिजुली बलाँचदेखि एक सय ३१ किलोमिटर लामो प्रसारण लाइन हुँदै धनगढीस्थित अत्तरिया (कैलाली) मा जोडिएको छ। आठ अर्ब ५४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना पूरा हुँदासम्म १५ अर्ब ९० करोड रुपैयाँ पुगेको सम्बद्ध अधिकारीहरुले बताएका छन्।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने आयोजना करिब १५ अर्ब रुपैयाँमा पूरा भएको बताए । जलविद्युत् आयोजनाको प्रतिमेगावाट लागत करिब १५ करोड रुपैयाँ अनुमान गरिन्छ । यसलाई आधार मान्दा चमेलिया प्रतिमेगावाट ५० करोड रुपैयाँमा पूरा भएको छ।

लागत १५ अर्ब ९० करोड पुग्दा प्रतिमेगावाट लागत ५३ करोड पुगेको छ । यद्यपि, भेरिएसन, दाबी लगायत खर्च जोडिँदा लागत थपिन सक्ने आयोजना प्रमुख अजयकुमार दाहालले बताए।

प्राधिकरणले २०६४ सालमा प्रतिमेगावाट करिब ४२ करोड रुपैयाँमा मध्यमस्र्याङ्दी निर्माण गरेपछि प्रतिमेगावाट झन्डै १० करोड रुपैयाँ लागत थपिएको चमेलिया पूरा गरेको हो । चमेलियाले हालसम्म निर्माण भएकामध्ये महँगो आयोजनाको इतिहास पनि बनाएको छ।

हालसम्मको लागतमध्ये विद्युत्गृहको जग्गा खरिद, सिभिल निर्माण र इलेक्ट्रो तथा हाइड्रोमेकानिकलमा करिब सात अर्ब ८४ करोड, परामर्श सेवामा ६० करोड गरी आठ अर्ब ४४ करोड रुपैयाँ खर्च भएको आयोजनाले जानकारी दिएको छ।
आयोजनाले एक सय ३१ किलोमिटर लामो बलाँच–अत्तरिया प्रसारण लाइन निर्माणमा दुई अर्ब ५४ करोड रुपैयाँ, सबस्टेसन र अन्य प्रसारण लाइनमा १९ करोड ४८ लाख र सामाजिक तथा वातावरण संरक्षण कार्यमा पाँच करोड खर्च गरेको छ।

यसबाहेक मूल्य समायोजन, विदेशी मुद्रा सटहीमा भएको नोक्सानी र प्रशासनिक खर्चमा तीन अर्ब गरी करिब ६ अर्ब १८ करोड रुपैयाँभन्दा बढी खर्च भएको छ । ‘सुदूरपश्चिममा यो आयोजना राज्यको सन्तुलित विकासको अवधारणा अनुरूप ल्याइएको हो,’ घिसिङले भने, ‘यस क्षेत्रको विद्युत्को गुणस्तर र प्रणाली सञ्चालनका लागि यो निकै महत्त्वपूर्ण छ।’
चमेलियाका कारण दार्चुला तथा बैतडीमा भौतिक पूर्वाधार विस्तार हुनुका साथै निजी क्षेत्रका अन्य आयोजना निर्माणमा ढोका खोलेको उनले बताए । प्राधिकरणको लगानीमा प्रवेश मार्ग र प्रसारण लाइन प्रयोग गरी निजी क्षेत्रले हाल साढे आठ मेगावाटको नौगाढ निर्माण गरिसकेको छ । अन्य निजी क्षेत्रका झन्डै एक सय ९० मेगावाटका आयोजना राज्यले तयार गरेको पूर्वाधार उपयोग गरी निर्माण भइरहेका छन्।

आयोजनाको इलेक्ट्रो तथा हाइड्राेमेकानिकल र प्रसारण लाइन निर्माण गर्न दक्षिण कोरियाले चार करोड ५० लाख अमेरिकी डलर सहुलियत ऋण दिएको थियो । सिभिलतर्फको चिनियाँ ठेकेदार चाइना गेजुबा ग्रुप कर्पोरेसन (सिजिजिसी) ले सन् २००७ को जनवरीमा काम थालेको थियो।

बन्दहडताल, डिजाइन परिवर्तन, कमजोर भौगर्भिक अवस्थालगायतका कारण यसको लागत वृद्धि भएको बताइन्छ। साढे चार किलोमिटर सुरुङमध्ये आठ सय ४३ मिटर खुम्चिँदा ठेक्का सम्झौतामा उल्लेख नभएको एक अर्ब नौ करोड रुपैयाँ खर्च भएको विषय विवादमा आएको थियो।

तत्कालीन व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले खुम्चिएको सुरुङ पुनर्निर्माण गर्दा करिब २८ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको ठहर गरेको थियो । यही कारण आयोजनाको सम्पूर्ण भुक्तानी रोक्का गर्न निर्देशन दिएको थियो।

चिनियाँले भुक्तानी नपाएको भन्दै काम रोकेका कारण आयोजनाको निर्माण सम्पन्न अवधि करिब डेढ वर्ष ढिला हुन पुगेको थियो । तत्कालीन सार्वजनिक लेखा समितिका सभापति जनार्दन शर्मा आफैं ऊर्जामन्त्री भएपछि भुक्तानी दिने निर्णय गरेर पुनःकाम सुरु गराएका थिए। 

पूर्वाधार नबन्दा दार्चुलाबासी अँध्यारोमै

दार्चुलाबासीले भने चमेलियाको विद्युत् उपभोग गर्न केही समय पर्खनुपर्ने भएको छ। जिल्लामा विद्युत् वितरण गर्ने संरचना नबनेका कारण उनीहरूले बिजुली बाल्न पर्खनुपरेको हो। उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले दार्चुलामा पनि छिट्टै चमेलियाको बिजुली बल्ने बताएका छन्। उनले भने, ‘आवश्यक पूर्वाधार तयार गरी चाँडै प्रसारण लाइन जडान गरिनेछ ।’ महाकाली नगरपालिकाको वडा नम्बर ७ थालीगाडमा निर्माणाधीन विद्युत् सब स्टेसन निर्माण सम्पन्न भएपछि मात्रै जिल्लाबासीले चमेलियाको विद्युत् उपभोग गर्न पाउनेछन्।  अहिले गोकुलेश्वरदेखि महाकाली नगरपालिका ७ थालीगाडसम्मको २२ किलोमिटर ३३ केभीको प्रसारण लाइन निर्माण कार्य भइरहेको छ।  नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाका क्षेत्रीय प्रमुख तारानाथ शर्माका अनुसार प्रसारण लाइन तान्ने काम करिब ६० प्रतिशत र सबस्टेसन निर्माणको काम झन्डै ४० प्रतिशत सम्पन्न भएको छ। 

। सबस्टेसन निर्माण र बलाँचदेखि थालीगाडसम्मको विद्युत् प्रसारण लाइन निर्माण २०७५ असारसम्म सम्पन्न गर्नुपर्ने निर्माण कम्पनीसँग सम्झौता रहेको शर्माले जानकारी दिए। 

प्रकाशित: २८ माघ २०७४ ०२:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App