२३ श्रावण २०७७ शुक्रबार
समाज

स्वास्थ्य संस्थामा प्रसूति गराए, गाउँपालिकाबाट २ हजार भत्ता

सोलुखुम्बु – महाकुलुङ गाउँपालिका सोलखुुम्बुले मान्यताप्राप्त स्वास्थ्य संस्थामा प्रसूति गराउने आमालाई प्रोत्साहन भत्ता दिएको छ ।आमा र बच्चा दुवैको सुरक्षाका लागि बर्थिङ सेन्टरमा प्रसूति गराउने आमालाई प्रोत्साहन गर्ने उद्देश्यले गत पुस २५ गतेदेखि लागू हुने गरी भत्ता दिने निर्णय गरिएको थियो।

सोही निर्णयअनुसार एक महिनाको अवधिमा दुई जना आमाले भत्ता बुझिसकेको गाउँपालिकाका स्वास्थ्य सहसंयोजक हरिप्रसाद आचार्यले जानकारी दिए।

सरकारले प्रदान गर्दै आएको रु १ हजार ५०० र गाउँपालिकाको तर्फबाट प्रदान गर्ने रु २ हजार गरी जम्मा रु ३ हजार ५०० भत्ता सत्केरीले बुझेका छन् । यस्तै अन्यत्र पठाउनु परेमा सरकारको तर्फबाट रु ५०० र गाउँपालिकाको तर्फबाट रु २ हजार गरी जम्मा रु २ हजार ५०० भत्ता पाउने छन्।

साविक छेस्काम, बुङ र गुदेल गाविसलाई मिलाएर बनाएको महाकुलुङ गाउँपालिकाको ३ वटा स्वास्थ्य चौकीमध्ये गुदेल स्वास्थ्य चौकीमा मात्र बर्थिङ सेन्टर सञ्चालनमा रहेको छ । साविकको छेस्काम र बुङमा समेत बर्थिङ सेन्टर सञ्चालनका लागि आवश्यक पूर्वाधारको तयारी अगाडि बढाइएको गाउँपालिका अध्यक्ष सागर किरातीले जानकारी दिए।

थुलुङ दूधकोशी गाउँपालिकाले भने अस्पतालमा प्रसूति गराउनेलाई रु ५ हजार र बर्थिङ सेन्टरमा प्रसूति गराउनेलाई रु ३ हजार ५०० प्रदान गर्ने निर्णयको गत माघ ५ गतेदेखि कार्यान्वयन भएको छ ।

स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बीमा
गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । २५ जना स्वास्थ्य स्वयंसेविका रहेको उक्त गाउँपालिकामा चैतदेखि यो कार्यक्रम शुरु गरिने गाउँपालिका अध्यक्ष सागर किरातीले जानकारी दिए।

५ जनाको परिवारलाई सरकारले स्वास्थ्य स्वयंसेविका भएकाले दिएको छुटपछि प्रिमियम तिर्नुपर्ने रकम रु २ हजार २५० गाउँपालिकाले तिर्ने भएको हो । यस्तै महिला स्वास्थ्य स्वयंसेविकालाई कामको मूल्यांकनका आधारमा प्रोत्साहन भत्ताबापत एक जनालाई वार्षिक रु १० हजार दिने भन्दै बजेटसमेत विनियोजन गरेको छ।  (रासस)

प्रकाशित: २७ माघ २०७४ १२:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App