१५ चैत्र २०८० बिहीबार
समाज

सुनसरीका एसपी र इटहरीका इन्सपेक्टर निलम्बित

इटहरी – एक महिनाअघि प्रेमी र उनका साथी मिलेर इटहरी तरहराकी बालिकालाई जबरजस्ती बलात्कार गरेको घटनामा प्रहरी चुकेपछि सुनसरीका प्रहरी प्रमुख एसपी र इटहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई निलम्बन गरिएको छ। पुस १६ गते इटहरी वडा नं. २ को रोयल रिसोर्टमा १६ बर्षीया बालिकामाथि बलात्कार गरिएको थियो। 

प्रहरी प्रमुख एसपी विद्यानन्द माझी र इटहरीका इन्सपेक्टर चिरञ्जिवी दाहाललाई गृह मन्त्रालयले बुधबार निलम्बन गरेको हो। प्रहरी प्रधान कार्यालयले मंगलबार एसपी माझी र इन्सपेक्टर दाहाल निलम्बन गर्न सिफारिस गरेको थियो। त्यही आधारमा एसपी माझी र इन्सपेक्टर दाहाललाई निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी मनोज न्यौपानेले बताए। उनका अनुसार अब माझी र दाहालमाथि अनुसन्धान गर्दा जे ठर्हछ सोही कसुरमा कारबाही हुनेछ। 

बलात्कारको घटनामा पीडित पक्षलाई उजुरी नदिन अनेक प्रलोभन दिएर मिलापत्र गरिएको थियो। घटना प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरले प्रहरीले ‘गुपचुप’ मा मिलापत्र गरेको सुईको पाएपछि संघीय प्रहरी इकाईं कार्यालय धरानका एसएसपी हरिबहादुर पालको नेतृत्वमा पाँँच सदस्यीय समिति गठन गरेको थियो। समितिले पाँच दिनदेखि अनुसन्धान जारी राखेको छ। त्यही अनुसन्धानका आधारमा माझी र दाहाललाई निलम्बन गरिएको हो। 

छानबिन समिति गठन भएलगतै बालिकालाई बलात्कार गर्ने उनका प्रेमी धरान वडा नं. ८ का ३६ बर्षीय जोकम सुब्बालाई पक्राउ गरि मुद्दा चलाई सकिएको छ। घटनामा संलग्न विराटनगरका मनिष भन्ने जीवन श्रेष्ठको खोजी भइरहेको छ। 

सो घटनामा जोकन र जीवनबाहेक अन्य मिलाउने बिचौलियाहरु पनि भएकाले तिनीहरुमाथि पनि अनुसन्धान गरिने एसएसपी पालले बताए। घटना भएपछि बाहिर मिलापत्र गरेर प्रहरी कार्यालयमा भने बालिकाका अभिभावक र काँग्रेसका केही नेताको रोहवरमा छाडिएको खुलेको छ। यसबारे पनि छानबिन भइरहेको तर अहिले नै यकिन भने भई नसकेको पालले बताए। घटना मिलापत्र गर्दा आर्थिक चलखेल समेत भएकोले त्यसबारे पनि अनुसन्धान गरिनेछ। 

प्रकाशित: २४ माघ २०७४ १४:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App