१७ जेष्ठ २०७७ शनिबार
समाज

७ वटा माविमा इ–हाजिरीको व्यवस्था

खोटाङ– खोटाङको रावाबेँसी गाउँपालिकाले ७ वटा माविमा इ–हाजिरीको व्यवस्था गरेको छ । विद्यालयमा शिक्षकको उपस्थितिलाई नियमित गर्दै पठनपाठन प्रभावकारी बनाउन गाउँपालिकाले गाउँपालिकाभित्रका माविमा इ–हाजिरीको व्यवस्था गरेको हो।

खस्कँदो शैक्षिक गुणस्तर उकास्न गाउँपालिकाले विश्वज्योती मावि लामीडाँडा, शारदा मावि खार्पा, रत्नराज्यलक्ष्मी कुभिण्डे, शारदा मावि हौंचुर, गंगोद्धय मावि दुबेकोल, देउराली मावि डुम्रेधारापानी र धारापानी मावि डुम्रेधारापानीमा विद्युतीय हाजिरीको व्यवस्था गरेको जनाएको छ। शिक्षकलाई नियमित विद्यालयमा उपस्थित हुने र विद्यालय समयसम्म विद्यालयमै रहने वातावरण निर्माणका लागि माविमा इ–हाजिरीको व्यवस्था गरिएको रावाबेँसी गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताए ।

‘शैक्षिक क्रियाकलापलाई चुस्त बनाउनका लागि इ–हाजिरी कार्यान्वयनमा ल्याएका हौं,’ निरौलाले भने, ‘गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार गाउँपालिकाकै बजेट र प्राविधिक सहयोगमा इ–हाजिरी व्यवस्था गरिएको हो ।’ 

गाउँपालिकाका अन्य विद्यालयमा पनि क्रमशः विद्युतीय हाजिरीको व्यवस्था मिलाउने योजना रहेको गाउँपालिकाले जनाएको छ । आफ्नो कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गरेलगत्तै गाउँपालिकाले माविमा पनि विद्युतीय हाजिरी कार्यान्वयनमा ल्याएको हो । विद्यालयको पठनपाठनमा इ–हाजिरी प्रभावकारी देखिएको अभिभावक वीरेन्द्र मगरले बताए । 

प्रकाशित: २४ माघ २०७४ ०९:११ बुधबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App