७ वैशाख २०८१ शुक्रबार
समाज

ठगी आरोपमा मेडिकल सञ्चालक पक्राउ, डाक्टर छाडिए

उदयपुर – उदयपुर सदरमुकाममै सञ्चालित एक मेडिकल सञ्चालक ठगी आरोपमा पक्राउ परेका छन्। सर्वसधारणलाई उपचारको नाममा गैरकानुनी ठगी गरेको आरोपमा त्रियुगा नगरपालिका ३ मोतिगडास्थित ‘आयुस आयुर्वेदिक क्लिनिक’ का बाबुराम कार्कीसँगै पक्राउ परेका डा. सुजित यादब भने पक्राउ परेको केही घण्टामै छाडिएका छन्। 

फिस्टुला, पायल्स, हाइड्रोसिलजस्ता रोगको ग्यारेण्टीका साथ उपचार गर्ने बहानामा महँगो शूल्क असुलेर सर्बसाधारण विरामी ठग्दै आएको गुनासोको आधारमा प्रहरीले छापा मारी सोमबार दिउसो उनीहरुलाई पक्राउ गरेको थियो। मोतिगडा चोकछेउमै एउटा पक्की घरको भुईतला भाडामा लिएर सञ्चालित क्लिनिक ले सामान्य शैयासमेत नराखी उपचार गर्ने गरेको र विरामीसँग चर्को शूल्क असुल्ने गरेको पाइएपछि उनीहरुलाई पक्रा गरिएको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए। 

मेडिकलमा महँगो शूल्क लिने तर, न्यूनतम र आधारभूत सुविधासमेत नदिने गरेको पाइएपछि छापा मार्दा उनीहरु पक्राउ परेको एसपी भट्टले बताए। प्रहरीका अनुसार क्लिनिकले महँगो रकम असुले पनि पैसा लिएको रसिद भने नदिने गरेको पाइएको छ। पटक पटक सर्वसाधारणबाट गुनासो आएकाले ठगी हो कि भन्न आशंकामा अनुसन्धानका लागि पक्राउ गरिएको र छापा मार्दा न्यूनतम सुविधा नपाइएको र अन्य गैरकानुनी गतिबिधि गरेको भेटिएको प्रहरी भनाई छ। 

सञ्चालक कार्कीलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ भने डा. यादवलाई भने निगरानीमा रहनेगरी सोमबार साँझै रिहा गरिएको छ। प्रहरीले छापा मार्दा विरामी जाँचकक्षमा रहेको डा. यादवको टेबलमा चुरोट, कण्डम र विभिन्न शंकास्पद औषधि फेला परेको थियो। छापा मार्ने नगर प्रहरीका अनुसार क्लिनिकसँगै रहेको विरामी आराम कक्षबाट पनि चुरोटका ढुटा, कण्डम र विभिन्न औषधिका खोल बरामद भएको छ। ‘विमारी निको नभए सबै पैसा फिर्ता’ गर्ने प्रचार गर्दै एक विरामीसँग ३०÷३५ हजारसम्म असुल्ने गरेको उजुरी प्रहरीमा पुग्ने गरेपछि प्रहरीले छापा मारेको हो। 

कतिपय विरामी निको नभए पनि केही नभन्ने तर, बजारकै एक महिलाले भने ग्यारेण्टी गरेर उपचार गर्न गएकोमा ३५ हजार पैसा बुझाए पनि निको नभएपछि प्रहरी गुहारेकी थिईन्। उनीसँगै दर्जन बढीको गुनासो आएपछि प्रहरीले बाध्य भएर क्लिनिकमा छापा मारेको स्थानीयको भनाई छ। ग्यारेन्टी निको पार्ने भन्दै पैसा बुझाएर उपचार गर्दा निको नभएपछि गुनासो गर्न जाँदा कार्कीले उल्टै हप्कीदप्की गरेपछि विरामीले प्रहरीमा उजुरी गरेका थिए। पायल्सको उपचार गर्न जाँदा ३५ हजार पर्छ भनेपछि तिरेर अप्रेशन गराएको तर निको हुनुको साटो थप बढ्दै गएपछि आफु ठगिएको थाहा पाएको एक विरामीले बताए। 

पीडितहरुका अनुसार क्लिनिकले लापरवाहीपूर्वक उपचार गर्ने गरेका कारण कतिपय विरामी थप विरामी भएपछि बाचा अनुसार पैसा फिर्ता माग्दा उल्टै हप्कीदप्की खेप्नुपरेपछि प्रहरी गुहार्नुपरेको हो। उपचारको नाममा गैरप्रकृतिको अप्रेशन गर्ने क्लिनिकमा डाक्टर नभएपछि कार्की आफैले उपचार गर्ने गर्दा अत्याधिक पीडा हुने तर, आराम गर्ने समान्य शैयासमेत नहुँदा विरामी भुईमा सुत्नुपर्ने अवस्था रहेको प्रत्यक्षदर्शी छिमेकी बताउँछन्। 

एसपी भट्टका अनुसार यादवको अनुसन्धान गर्दा आयुर्बेदिक चिकित्सक देखिएको प्रमाणपत्र रहेको पाइए पनि कार्की भने विना आधारप्रमाण उपचार पद्धतिमा खटेर गैरकानुनी काम गरेको पाइएको छ। प्रहरीले कार्कीले यस्तो क्लिनिक जिल्लाका अन्य बजारहरु कटारी, बेल्टार र सिरहाको लहानमा पनि खोलेर ठगी धन्दामा लागेको सुन्नमा आएकाले थप अनुसन्धान गर्ने जनाएको छ। 

प्रकाशित: २३ माघ २०७४ १०:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App