किराती समुदायको साकेला पर्व उदयपुरमा मंगलबारदेखि विविध कार्यक्रमका साथ मनाउन सुरु भएको छ। जाडो बढ्न थालेपछि चराचुरुङ्गी, पशुपंक्षी र मानिस चिसो र उच्च भौगोलिक क्षेत्रबाट बेँसी र तराईतर्फ न्यानो खोज्दै सर्ने मौसमलाई चित्रित गर्ने पर्वको रूपमा किराती समुदायले उधौली मनाउने गरेका छन्।
किराती समुदायका राईले साकेला उधौलीको रूपमा मनाउने यही दिनलाई लिम्बुले चासोक तङ्नाम, याक्खाले चासुवा, सुनुवारले फोरस्यादर र नेवारले योमरी पुन्हीको नाममा मनाउने गरेका छन्।
किराती समुदायले यो चाडलाई पुर्खाको सम्मानस्वरूप रातो भाले काटेर, पाकेको अन्नबाली खानुअघि पितृलाई चढाउने र साकेलामा बनाइएको पितृमन्दिरमा जम्मा भएर ढोल झ्याम्टा बजाउँदै गोलो घेरामा नाच्दै एकापसमा सद्भाव र शुभकामना आदानप्रदान गर्दै मनाउँछन्।
सोहीअनुसार उदयपुरसँगै देशका विभिन्न ठाउँमा उधौली मनाउन थालिएको छ। उदयपुरमा किरात राई यायोक्खाको आयोजनामा सदरमुकाम त्रियुगा नगरपालिका–११ को गाईघाट साकेलाटोलस्थित साकेलाथान परिसरमा भेला भएर रातो भालेले सिकारी पूजा, कोदोको जाँड र रक्सी, नयाँ धान पितृलाई चढाउँदै भव्य रूपमा उधौली मनाइएको छ।
मंगलबार बिहान ७ बजे सिकारी पूजाबाट सुरु भएको उधौँली साँझसम्म सिली नाचेर पहिलो दिन समापन भएको छ। यो क्रम एक महिनासम्म चलिरहने यायोक्खा उदयपुरले जनाएको छ।
गाईघाटमा त्रियुगा नगर प्रारम्भिक कमिटीको आयोजनामा उधौली सुरु भएको हो भने जिल्ला ८ वटै स्थानीय तहमा यसरी उधौली पर्वको सुरुवात भएको यायोक्खा उदयपुरकी अध्यक्ष गंगा राईले बताएकी छिन्।
किराती समुदायका राईले साकेला उधौलीको रूपमा मनाउने यही दिनलाई लिम्बुले चासोक तङ्नाम, याक्खाले चासुवा, सुनुवारले फोरस्यादर र नेवारले योमरी पुन्हीको नाममा मनाउने गरेका छन्।
उनका अनुसार त्रियुगा नगरपालिकाका १६ वटै वडा, कटारी, बेलका, चौदण्डीगढी नगरपालिका तथा लिमचुङबुङ, ताप्ली, उदयपुरगढी र रौतामाईका पनि हरेक वडामा उधौली सुरु भएको छ।
हरेक स्थानीय तह र वडामा त्यहीँका स्थानीय स्तरका यायोक्खा समितिले उधौलीको आयोजना गर्ने जिम्मा लिएर चाड मनाउने गरेको अध्यक्ष राईले बताईन्।
किराती अगुवा तथा मुन्धुम वेत्ताहरूका अनुसार यस वर्षको उधौली किराती संवत् (येले दुङ) ५०८३ हो। किराती राजा यलम्बरको शासनकालमा सुरु यो संवत् विक्रम आदित्यले सुरु गरेको नेपाली संवत्भन्दा ३ हजार ४ वर्षले अगाडिको सभ्यता हो।
भाषाशास्त्री तथा त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटका प्रमुख डा. कैलाश राईका अनुसार यलम्बरले सुरु गरेको संवत् भएकाले यो संवत्को नाम (येले दुङ) रहन गएको हो। यो संवत् नेपालका सबै संवत्भन्दा जेठो र पुरानो संवत् भएको उनको तर्क छ।
क्याम्पस प्रमुख डा. राईका अनुसार भाषाको इतिहास र मुन्धुम अध्ययनमा येले दुङ नै नेपालको सबभन्दा पुरानो संवत् प्रमाणित हुन्छ। यो बाहेक अन्य जातिका संवत्हरू पनि छन् ती सबै योभन्दा पछि रहेको अध्ययनले देखाएको छ।
अंज्रेजी संवत् २०२३ भइरहँदा नेपाली (विसं २०८० रहेको छ भने येले दुङ (किरात संवत्) ५०८३ को अन्त्यमा पुगिसकेको छ। हरेक माघ १ गतेदेखि नयाँ येले दुङको सुरुवात हुने गरेको पनि मुन्दुमले देखाएको छ।
किरात राई यायोक्खाका प्रथम उपाध्यक्ष ज्ञानबहादुर राईले पनि नेपालमा अहिलेसम्म प्राप्त र अस्तित्वमा रहेका संवत्मा किराती संवत् सबैभन्दा पुरानो सभ्यता रहेको दाबी गरे।
मुन्धुम अध्ययन र लेखनमा प्रत्यक्ष संलग्न रहँदै आएका उपाध्यक्ष राईले अहिलेसम्मको अध्ययनमा नेपाली संवत्भन्दा ३ हजार ४ वर्षले जेठो संवत् येले दुङ मात्र पाइएको बताए।
अंग्रेजी र अन्य संवत् पनि अस्तित्वमा रहेका तर येले दुङभन्दा हजार वर्ष कान्छा रहेको उनको भनाइ छ।
प्रकाशित: ११ पुस २०८० ०१:१८ बुधबार