३० असार २०७७ मंगलबार
समाज

१ अर्ब ११ करोड खर्च

काठमाडौं – सरकारले सशस्त्र द्वन्द्वपछिको शान्ति स्थापनाका नाममा सहिद पार्क र नमुना बस्ती परियोजनाका लागि १ अर्ब ११ करोड खर्च गरिसकेको छ ।

शान्ति स्थापना कार्यक्रमअन्तर्गत सहिद पार्क र नमुना बस्तीलाई सरकारले प्राथमिकतामा राखी २ अर्ब २५ करोड ७७ लाख रुपैयाँ बजेट छुट्ट्याएको थियो । सहिदका नाममा इलाम, धनकुटा, रौतहट, काठमाडौंको गोकर्णमा गरी चारवटा पार्क बनाउन थालिएको हो ।

शान्ति तथा पुनर्निर्माण मन्त्रालयअन्तर्गत द्वन्द्वोत्तर शान्ति तथा पुनर्निर्माण परियोजनाद्वारा जनताको सहभागितामा समुदायमा आधारित कार्यक्रमका रुपमा नमुना बस्ती विकासका कार्यक्रम सञ्चालन गरिएको हो । द्वन्द्व प्रभावित भनिएका रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, काभ्रेपलाञ्चोक, नुवाकोट, कपिलवस्तु, तनहुँ, कालिकोट, रुकुम, रोल्पा, जाजरकोट, दैलेख, कैलाली, जुम्लामा नमुना बस्तीका नाममा रकम गएको छ ।

पुनर्निर्माण तथा पुनस्थापना कार्यक्रम नाम दिइएको पार्क र नमुना बस्तीका लागि छुट्ट्याइएको बजेट सीधै जिल्ला प्राविधिक कार्यक्रममा पठाइने द्वन्द्वोत्तर शान्ति तथा पुनर्निर्माण परियोजनामा कार्यरत इन्जिनियर रामाशीष साहले बताए ।

आर्थिक वर्ष २०७३।०७४ सम्ममा पार्क र नमुना बस्तीमा ९४ करोड रुपैयाँ खर्च भइसकेको छ । यस आर्थिक वर्षमा अपुग भएको भन्दै १६ वटा नमुना बस्ती तथा पार्कका लागि थप १७ करोड रुपैयाँ विनियोजन भइसकेको छ । नमुना बस्ती तथा पार्क निर्माणमा अझै थप १ अर्ब १४ करोड १२ लाख रुपैयाँ लाग्नेछ ।नमुना बस्ती नाम दिइए पनि बस्नका लागि घर बनाउने भने होइन । नमुना बस्तीमा सडक, पोखरी, खेलमैदान, गेस्टहाउस, वनभोज स्थल, स्वास्थ्यचौकी, विद्यालय भवन, सामुदायिक भवन निर्माणका कार्यक्रम छन् ।

कार्यक्रमअन्तर्गत इलामको कन्याम सहिद पार्कका लागि २ करोड ७८ लाख रुपैयाँ खर्च भइसकेको छ । त्यसैगरी धनकुटाको छिन्ताङ सहिद पार्कका लागि २ करोड २१ लाख ११ हजार र धनकुटा राजारानी नमुना बस्तीका लागि २ करोड ५१ लाख १३ हजार रुपैयाँ खर्च भइसकेको छ । रामेछाप दोरम्बा नमुना बस्तीका लागि २ करोड ९३ लाख ७९ हजार रुपैयाँ पठाइएको छ ।

सिन्धुपाल्चोक पिस्कर नमुना बस्तीका लागि १ करोड ४९ लाख विनियोजन भइसकेको छ । नुवाकोट कविलासमा २ करोड ८४ लाख, काभ्रे अनेकोटमा २ करोड ३६ लाख, कपिलवस्तु शिवपुरमा ३ करोड ५८ लाख, तनहुँ क्यामिन छापथोकमा २ करोड ९४ लाख र कालिकोट पतालामा २ करोड ९५ लाख रुपैयाँ खर्च गरिएको छ । यस्तै रुकुम खारामा ४ करोड ७३ लाख, रोल्पा जेल्वाङमा ४ करोड ३५ लाख, जाजरकोट पिपेमा ४ करोड ६० लाख, दैलेख नौमूलमा ४ करोड ८३ लाख, काठमाडौं गोकर्ण सहिद पार्कमा ३२ करोड ८२ लाख र जुम्ला सदरमुकाम २५ करोड ७५ लाख रुपैयाँ खर्च भइसकेको छ ।द्वन्द्व प्रभावित ठाउँका लागि गरिएको कार्यक्रम भए पनि पहुँचवालाले नै कार्यक्रम माग गर्ने गरेको देखिन्छ।

प्रकाशित: १९ माघ २०७४ १०:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App