१५ चैत्र २०८० बिहीबार
समाज

उदयपुर अब साक्षर जिल्ला

उदयपुर – उदयपुर जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। साक्षर जिल्ला हुन नेपाल सरकार, शिक्षा मन्त्रालयले जारी गरेको मापदण्ड पुरा गरेकाले साक्षर जिल्ला घोषणा हुनलागेको हो। मन्त्रालयले तोकेका सबै मापदण्ड पूरा हुने अन्तिम चरणमा पुगिसकेकाले छिट्टै उदयपुरलाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारी भईरहेको अनौपचारिक शिक्षा केन्द्रका जिल्ला अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले बताए।

घोषणाको अन्तिम चरणमा पुगेपनि मिति भने तय भईनसकेको परियारले जनाए। मन्त्रालयले तोकेको मापदण्ड अनुसार जिल्लालाई साक्षर घोषणा गर्नका लागि १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत जनसंख्या आफू र आफ्नो परिवारको नाम लेख्न, हस्ताक्षर गर्न सक्ने, सामान्य हिसाव किताव राख्न सक्ने, मोवाईल र क्यालकुलेटरको अंक र अक्षर चिन्न र चलाउन सक्ने हुनुपर्ने प्रावधान छ। यस्तै, १ देखि सयसम्म गणना गर्न र लेख्न जान्नुपर्ने, घडी हेरेर समय बताउन सक्ने, भित्तेपात्रो हेरेर तिथिमिति बताउनसक्ने गरी अक्षर चिन्न र लेख्न सक्ने हुनुपर्ने मापदण्डमा तोकिएको छ।

जिल्लाभरबाट तोकिएका सबै मापदण्ड पूरा भएको तथ्याङ्कको अभिलेख जिल्ला शिक्षा कार्यालय उदयपुरलाई प्राप्त भएको जिल्ला शिक्षा अधिकारी हरिहर धितालले बताए। प्रमुख जिल्ला अधिकारी धितालले जिल्लामा ९६ दशमलव ३२ प्रतिशत साक्षर रहेका बताएका छन्। जिल्लामा १५ देखि ६० वर्ष उमेर समूहका मान्छे १ लाख ७४ हजार १ सय ८ जना रहेकामा १ लाख ६७ हजार ७ सय ६ जना साक्षर भईसकेको विवरण शिक्षा कार्यालयसँग रहेको उनले बताए।

बाँकी ६ हजार ४ सय २ जनालाई पनि आउँदो १ महिनाभित्र साक्षर बनाईसक्ने लक्ष्य लिइएको धितालले बताए। उक्त तथ्याङ्क शिक्षा कार्यालयले आफु मातहतका विद्यालय र स्रोतकेन्द्र लगायतका निकायबाट घरधुरी सर्वेक्षण गरी तयार पारेको हुनाले विश्वस्नीय रहेको उनले बताए।

सरकारले कुनै पनि नेपाली जनता शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने मुख्य उद्देश्यले सरकारले २०५६ सालदेखि अनौपचारिक शिक्षा केन्द्रको स्थापना गरी देशव्यापी साक्षरता अभियान सञ्चालन गर्दै आएको अनौपचारिक शिक्षा केन्द्र सानो ठिमीका उपनिर्देशक बालकृष्ण गैरेले जानकारी दिए ‘प्रौढ साक्षरता कार्यक्रम’ सञ्चालन गरेर सुरु  गरिएको कार्यक्रम पछि ‘अनौपचारिक शिक्षा केन्द्र’ स्थापना गर्दै तिव्रता दिइएको जनाएका छन्। सरकारले सन् २०१५ सम्ममा नेपाललाई पुर्ण साक्षर घोषणा गर्ने लक्ष्य लिएको छ।

प्रकाशित: १८ माघ २०७४ १४:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App