१६ चैत्र २०८० शुक्रबार
समाज

‘लेखपढ गर्न सिक्दा नानाथरी भन्थे’

खोटाङको महिला आन्दोलनकी अगुवा कुमारीकृष्ण राई । तस्बिर : दमन

खोटाङ – विद्यालय खुलेका थिएनन् । खुलेका विद्यालयमा महिलालाई सहज रुपमा पढ्ने वातावरण पनि थिएन । पढ्ने रहर मारेर बस्नुपर्ने समय भए पनि खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी ७८ वर्षीया कुमारीकृष्ण राईले बाल्यकालमा घाँसगोठाला गर्दै सामान्य लेखपढ गर्न सिकिन् । बाबु मुगाधन राई पञ्चायतकालीन जिम्मावाल भएका कारण पनि उनले बाबुबाट सामान्य ‘कखरा’ सिक्ने अवसर पाएकी हुन् । ऊबेला लेखपढका लागि शैक्षिक सामग्री थिएन । बाँसको टुप्पाले लेख्ने चलन थियो । ‘महिलाले लेख्नपढ्न सिक्दा माइती पिरोल्छे, चरित्रहीन हुन्छे भन्थे,’ खोटाङका महिलाको शैक्षिक र राजनीतिक आन्दोलनकी अभियन्ता राईले भनिन्, ‘गोठाला जाँदा दिदीसँग खरीढुंगाले काठको पाटीमा लेखेर अलिअलि लेखपढ गर्न सिकेकी हुँ ।’ १७ वर्षकै उमेरमा भाइको मृत्यु भएपछि कुमारीकृष्णले लेखपढ गर्न सिकेकै कारण माइती पिरोलेको आक्षेप सहनुपर्याे।

१७ वर्षकै उमेरमा भाइको मृत्यु भएपछि कुमारीकृष्णले लेखपढ गर्न सिकेकै कारण माइती पिरोलेको आक्षेप सहनुपर्याे ।

नेर्पामा २०१८ सालमा कालिका प्रावि (हाल कालिका मावि) स्थापना भयो । गाउँमा विद्यालय स्थापना हुँदा उनको पढ्ने उमेर ढल्किसकेको थियो । स्कुल नगए पनि सामान्य लेखपढ गर्न जानेकै आधारमा उनले २०१९ सालमा गाउँमा आफ्नै पहलमा प्रौढशिक्षा चलाइन् । लेखपढ नहुँदा महिलाले दुःख पाएको देखेपछि गाउँमा प्रौढशिक्षाको कक्षा चलाएको कुमारीकृष्ण बताउँछिन् । ‘पढिएन भने केही जानिँदैन, जीवनमा धोका पाइन्छ भनेर एक वर्षसम्म प्रौढकक्षा चलाएँ,’ उनले भनिन्, ‘२०–२५ जना दिदीबहिनीलाई भेला गरें । दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म कख पढाउँथें । उनीहरुले अहिले पनि मलाई गुरुआमा भन्छन् ।’ उनको कक्षा विद्यालय नजाने महिलाका लागि लक्षित थियो । ऊबेला नेपालमा प्रौढशिक्षाको व्यवस्था थिएन । उनका अनुसार अनौपचारिक कक्षाका लागि सहयोग माग्ने निकाय पनि थिएनन्।

दाइ रामप्रसाद राई (काकाका छोरा) बेलायती आर्मीमा सार्जन पदबाट अवकाश पाएपछि घरैमा थिए । रामप्रसादले हरेक शुक्रबार अंग्रेजीमा मात्र बोल्न भन्थे । उनले अंग्रेजीमा सामान्य अभिवादन, भलाकुसारी गर्न सिकाएका थिए । कुमारीकृष्णलाई पनि दाजुले जस्तै अंग्रेजी बोल्न रहर लाग्थ्यो । रामप्रसादबाटै अंग्रेजी अक्षरसम्बन्धी लेखपढ गर्ने अवसर पाएको उनी बताउँछिन् । ‘दाइलाई भेट्दा गुड मर्निङ, गुड नाइट भन्नुपथ्र्यो, शुक्रबार त अंग्रेजीमा मात्र बोल्नुपर्छ भन्नुहुन्थ्यो,’ कुमारीकृष्णले भनिन्, ‘उहाँबाटै मैले एबीसी लेख्न र पढ्न जानेकी हुँ । स्कुलमा पढ्नेभन्दा मेरै अक्षर राम्रो थियो।’

पढालेखा भएकै कारण राजनीतिमा फड्को
आमा भलशोभा राईको कोखबाट १९९६ सालमा जन्मिएकी कुमारीकृष्ण सानैदेखि निडर स्वभावकी थिइन् । ५ बहिनी र ४ भाइमध्ये उनी माइली छोरी हुन् । उनी पराइ घर जाने छोरीले पढ्नुहुन्न भन्ने मान्यताको विरोधी बनेर निस्किन् । सामान्य साक्षर बनेका कारण एउटा मुद्दाको साक्षी बक्न जिल्ला अदालत पुगेका बेला न्यायधीशले बोलाएर आफूसँग कुराकानी गरेको उनी बताउँछिन् । लेखपढ गर्न जानेकै कारण खोटाङ जिल्ला पञ्चायतका तत्कालीन सभापति बिर्खबहादुर राईले नेपाल महिला संगठनमा आबद्ध हुन आग्रह गरेपछि कुमारीकृष्णको राजनीतिक यात्रा २०१९ सालमा सुरु भएको थियो । संगठनको सदस्य बनेकी कुमारीकृष्ण २०२३ सालदेखि २०४० सालसम्म नेपाल महिला संगठनको जिल्ला अध्यक्ष बनिन् । उनी संगठनको अञ्चल सदस्य पनि बनिन् । उनले नेर्पामा वडाध्यक्षसमेत बनेर सेवा गर्ने अवसर प्राप्त गरेकी थिइन् । २०२२ सालमा साकेला शिली प्रदर्शनका लागि उनी गाउँबाट टोली लिएर ढोल झ्याम्टासहित काठमाडौं पुगेकी थिइन्।

मानसम्मानको भारी
भूमिसुधार कार्यक्रम लागू भएका बेलामा छोरीलाई पनि अंश दिलाउन र भूमिसुधार कार्यक्रम सफल बनाउनमा भूमिका निर्वाह गरेकोमा कुमारीकृष्णलाई २०२४ वैशाख ३० गते तत्कालीन राजा महेन्द्रले आदरपत्र प्रदान गरे । निष्पक्षता, न्याय र समानतापूर्वक जनताको सेवा गरेकामा उनलाई नेपाल महिला संगठन केन्द्रीय अस्थायी समितिले २०३८ सालमा रत्न समाजसेवा पदक र २०३१ सालमा वीरेन्द्रले शुभराज्याभिषेक पदक प्रदान गरेको थियो । उनी उमेरका कारण हिजोआज राजनीतिमा क्रियाशील नभए पनि चासो भने उत्तिकै राख्छिन् ।

 

प्रकाशित: १७ माघ २०७४ ०२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App